औलोमुक्त समाजका लागि सबैले हातेमालो गरौं : स्वास्थ्य प्रमुख गिरी
विष्णु प्रसाद अधिकारी, १३ वैशाख, बर्दिया । औलो विरुद्ध लडाईलाई तिब्रता दिऔं, समतामूलक पहुँचको सिर्जना गरौं भन्ने मुल नाराका साथ सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त बनाउने उद्देश्य अनुरुप स्वास्थ्य कार्यालय बर्दियाले काम गरिरहेको औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताएका छन् । औलो एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट एक मानिसबाट अर्को मानिसमा सर्ने सरुवा रोग हो ।
औलो कुनैपनि उमेर समुहको व्यक्तिमा हुन सक्ने भएकाले लामखुट्टेबाट जोगिनु पर्ने बताईएको छ । बर्दिया औलोको उच्च जोखिम जिल्ला मानिने र अत्यधिक गर्मी हुने भएकोले यस समयमा लामखुट्टे पनि बढ्ने भएका कारण औंलोबाट बच्न सबैभन्दा उपयुक्त उपाय झुलको प्रयोग गर्न उनले सुझाए । मानिसमा औलो सार्ने ५ प्रकारका प्लाजमोडियम स्पाइसेस रहेको भएतापनि नेपालमा प्रायः गरेर २ प्रकारका औलोका बिरामीहरु देखिएको जसमध्ये प्लाजमोडियम भाइभेक्सका औलो विरामी ९० प्रतिशत र प्लाजमोडियम फल्कीपारम कडा किसिमको औलो भएकाले समयमा उपचार नगरेमा ज्यान समेत जानसक्ने गिरिको भनाई छ ।
औलो लागेका विरामीहरुमा दिनहुँ वा दिन बिराएर ज्वरो आउने, अत्याधिक पसिना आउने तथा टाउको दुख्ने, थकाई महशुस हुने, पेट दुख्न, कमजोरी महशुस हुने, मांशपेशी तथा जोर्नीहरु दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि जान प्रमुख गिरिले समुदायलाई आग्रह गरे । औलो तथा किटजन्य रोगहरुबाट बच्नका लागि सुत्दा झुल भित्र सुत्ने, घरको झ्याल ढोकामा जाली लगाउने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने तथा नालिहरुमा मट्टितेल तथा डिजलको प्रयोग गरि लामखुट्टेको जोखिमलाई कम गराउन सकिने स्वास्थ्य कार्यालय उनले बताए ।
स्वास्थ्य कार्यालय बर्दियाले यस बर्ष बर्दिया जिल्लाका ८ वटै पालिकामा औलो परिक्षण गरेको जानकारी दिएको छ । जसमध्ये बासँगढी नगरपालिकामा ६ सय ३० जनाको परिक्षण गरिएकोमा १ जनामा पोजिटिभ देखिएको, ठाकुरबाबामा १२ सय ५२ जना मध्ये १ जनामा, गेरुवा गाउँपालिकामा ५ सय २४ जनामा १ जना पोजिटिभ, गुलरिया नगरपालिका का १२ सय ९१ जनाको रक्त परिक्षण गरिएकोमा ४ जना र बढैयातालमा ८ सय ७४ जनाको रगत परिक्षण गरिएकोमा १ जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
२८ °C काठमाडौं
Facebook Comments