बाँसगढीमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क शिविर
विन्दु चौधरी, १५ असार, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढी नगरपालिकामा भएको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३० जनाले सेवा लिएका छन् । बाँसगढी नगरपालिका वाड नं ८ ककौरा वडा कार्यालयमा शनिबार शिविर सञ्चालन गरिएको हो ।
बाँसगढी नगरपालिकाको आयोजना एवम् हेल्थ केयर अस्पताल तथा प्रसुति गृह नेपालगंजको प्राविधिक सहयोगमा भएको निःशुल्क शिविरमा ३५ जना महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण गर्दा संकास्पद देखिएको छ । ५ जनाको आंङ खसेको विरामी भेटिएको बाँसगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश थारुले जानकारी दिनुभयो । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजिटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य शाखा प्रमुख थारुले बताउनुभयो । उहाँका अनुसार समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि नगरभित्रै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आंङ खस्ने समस्या तथा बाँझोपन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
शिविरमा हेल्थ केयर अस्पताल तथा प्रसुति गृह नेपालगंजका क्यान्सर रोग विशेषज्ञ डा. नविन तिमिल्सिना र डा. स्मिता अधिकारीको टोलीले जाँच गरेको थियो । उक्त शिविरमा हेल्थ केयर अस्पताल तथा प्रसुति गृह नेपालगंजका क्यान्सर रोग विशेषज्ञ डा नविन तिमिल्सिनााले पाठेघरको मुख नियमित रूपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताउनु भएको छ । पहिले पाठेघरमा घाउ भए नभएको जाँच गरिन्छ । क्यान्सर हुनुभन्दा पहिले घाउ निको बनाउन सके क्यान्सरको जोखिम टर्ने उहाँले बताउनुभयो । गर्भवती र महिनावारी भएका बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा. तिमिल्सिनाले २३ देखि ६५ वर्षका महिलाले पाठेघर जाँच गराउनुपर्ने सुझाव दिनुभयो ।
Facebook Comments