• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
शारीरिक, मानसिक र सामाजिक अधिकार सुनिश्चित गर्न प्रदेस सरकार कटिबद्ध : स्वास्थ्य मन्त्री सारु

मुरली गोडिया, २३ असोज, बर्दिया । लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले मानसिक रोग सम्बन्धी रणनैतिक कार्यबिधि निर्माणको चरणमा रहेको जनाएको छ । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ स्थित मदाहा गाउँमा रहेका तत्कालिन द्वन्दका बेला मानसिक सन्तुलन गुमाएका पीडितहरुलाई द्वन्द पीडित समिति बर्दियाको समन्वयमा गरिएको घरदैलो भेटघाटका क्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले मानसिक रोग ब्यापकबन्दै गैरहेकोले कार्यबिधि बनाएरै प्रदेश सरकारले उपचार ब्यवस्था प्रभावकारी बनाउने योजना अघि सारेको बताउनु भएको छ ।

संविधान प्रदत्त शारीरिक, मानसिक र सामाजिक स्वस्थ रहन पाउने अधिकार सुनिश्चित गर्न प्रदेस सरकार कटिबद्ध रहेको उहाँको भनाई छ । प्रदेस सरकारले शारीरिक स्वास्थ्यलाई जत्तिकै मानसिक स्वास्थ्य र सामाजिक उपचार गर्न कार्यबिधि सहितको योजना बनाई अघि बढ्ने क्रममा रहेकोले अस्पतालहरुमा मानसिक रोगको औषधी आपूर्तिलाई सहज बनाईने उहाँको भनाई छ । नगर अस्पतालहरुमा मानसिक परामर्शकर्ता र विशेषज्ञ चिकित्सक राख्न पहल गर्ने प्रतिबद्धता उहाँले गर्नुभयो ।

तत्कालिन द्वन्दका बेला वेपत्ता पारिएका, कुटपिट तथा यातनाबाट मानसिक सन्तुलन गुमाएका १३ जना पीडितहरुले स्वास्थ्य मन्त्री सारुलाई आफ्ना पीडा सुनाउँदै नगर अस्पतालमा मानसिक उपचारको लागि प्रभावकारी ब्यवस्था मिलाईदिन माग गरेका छन् । द्वन्दका बेला चरम यातना भोग्नुभएकी बाँसगढी नगरपालिका वडा नम्बर ४ मदाहा निवासी मञ्जु सुनारले बाँसगढी नगर अस्पतालमा स्वीस सरकार विकास सहयोग (एसडीसी) र सीएमसी नेपालले संचालन गरेको क्लिनिक मार्फत उपचार पाउँदा आफू आत्महत्या गर्नबाट पछि सरेको बताउँदै मानसिक असन्तुलनका द्वन्द पीडितहरुलाई आयआर्जनमा जोड्न माग गर्नु भयो ।

मानसिक स्वास्थ्य पछिल्लो समय जल्दोबल्दो समस्याका रुपमा देखिएको लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर वासुदेव उपाध्यायले बताउनु भएको छ । द्वन्द पीडितहरुको मात्र नभई सबै नागरिकको समस्याबन्दै गएकोले लुम्विनी प्रदेसमा मानसिक रोगको कारण पत्ता लगाउन अनुसन्धान थालिएको बताउनु भयो । नगर अस्पतालहरुमा उपचार सम्भव नभए जिल्ला अस्पतालहरुमा पुगेर आवस्यक उपचार सेवा लिन उहाँले पीडितहरुलाई सुझाउनु भएको छ ।

पछिल्लो समय नगरपालिकामा नसर्ने रोगका विरामीहरु आउने क्रम बढेको बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्क बहादुर खड्काले बताउनु भएको छ । मानसिक रोगको उपचार आवस्यकताको विषय भएकोले परामर्शमा जोडदिनुपर्ने आवस्यकता उहाँले औल्याउनु भयो । आधा रोग परामर्शबाटै निको हुने भएकाले पनि पालिकामा एक्सरे सामाग्री तथा परामर्शकर्ताहरु उपलब्ध गराईदिन मन्त्री सँग नगर प्रमुख खड्काले आग्रह गर्नुभएको छ । बाँसगढी नगरपालिकाले मानसिक स्वास्थ्य सम्बन्धी अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments