अन्तर्राष्ट्रिय युवा दिवसमा विद्यार्थीद्वारा सरसफाईसँगै वृक्षारोपण
सबिना सापकोटा, २७ साउन, नेपालगञ्ज (बाँके) । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालगञ्ज–११, बाँके स्थित जीभीएन सेकेन्डरी स्कूलका विद्यार्थीहरूले सरसफाईसँगै बृक्षारोपण गरेका छन् । सोही क्रममा विद्यार्थीहरुले वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक अभियान समेत सञ्चालन गरेका छन् ।
विद्यालयका संयोजक खुमलाल शर्माको नेतृत्वमा करिब ८० जना विद्यार्थी सहभागी रहेको उक्त अभियान विद्यालय परिसरबाट सुरु भई नेपालगञ्ज उपमहानगरपालिका तथा शिक्षा कार्यालयसम्म पुगेको थियो । विद्यार्थीहरूले ब्यानर तथा जनचेतनामूलक सन्देशसहित स्वच्छ वातावरण निर्माण, सरसफाइ र वातावरण संरक्षणको आवश्यकता बारे जनचेतना फैलाएका थिए ।
कार्यक्रमका क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट तथा सम्बन्धित अधिकृतले वातावरण संरक्षणका विषयमा आफ्ना धारणा राखेका थिए । उनीहरूले वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने तथा आफ्नो वरपरको वातावरण सरसफाइ गरी स्वच्छ राख्नुपर्नेमा जोड दिएका छन् ।
संयोजक शर्माले शिक्षा कार्यालयको खाली जग्गामा विभिन्न प्रजातिका बिरुवा रोपेर उक्त क्षेत्रलाई हरियाली बनाउने प्रयास गरिएको बताउनु भएको छ । विद्यार्थीहरूको सक्रिय सहभागिताले युवाहरूमा वातावरण संरक्षण तथा सामाजिक जिम्मेवारीप्रति सकारात्मक चेतना विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित यस अभियानले युवा, जिम्मेवारी र स्वच्छ भविष्य निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका रहने सन्देश दिएको छ । कार्यक्रममा करिव ८० जना विद्यार्थीहरुको सहाभागीता थियो ।
२३ °C काठमाडौं
Facebook Comments