लुम्विनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री तिमिल्सिनाको पहिलो निर्णय स्वयंसेवक परिचालन
हरि गुरुङ, ८ कार्तिक, मधुवन (बर्दिया) । लुम्विनी प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पदभार ग्रहण लगत्तै स्वयं सेवक परिचालन सम्बन्धी पहिलो निर्णय गरेका छन् । वरिष्ठ शिक्षा अधिकृत वेगम के.सी.ले नवनियुक्त मन्त्री समक्ष टिप्पणी तथा आदेश पेश गरेकोमा मुख्यमन्त्री प्रदेश स्वयंसेवक कार्यक्रम अन्र्तगत प्रदेश स्वयंसेवक परिचालन गर्ने ब्यवस्थाका लागि आवस्यक निर्णयार्थको लागि पेश गरिएको तोक आदेश सदर गरेका हुन् ।
मुख्यमन्त्री स्वयंसेवक कार्यक्रमबाट पूर्व परिचालित स्वयंसेवकहरुको केही संख्या रिक्त रहेकोमा उक्त कार्यक्रमबाट विपन्न वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, मुक्तकमैया, अपांगता भएका ब्यक्तीलाई उच्च प्राथमिकता दिई प्रदेश स्वयंसेवक परिचालन गर्ने ब्यवस्थाका लागि आवस्यक निर्णयार्थ मन्त्री समक्ष टिप्पणी पेश गरिएको थियो । मन्त्री तिमिल्सिनाले उक्त तोक आदेश सदर गरेका छन् । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले विहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष शपथ लिएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले बिहीबार बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिएका थिए । बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन् । नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टी प्रदेशसभा सदस्य हुन् ।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एकगरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो । कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।
Facebook Comments