• १३ माघ २०८१, आइतवार
  • १४ °C काठमाडौं
गुलरियाको १७ औं राष्ट्रपति रनिङशिल्ड तथा ५ औं मेयरकप खेलकुद शुभारम्भ 

विष्णु अधिकारी, १८ मंसिर, बर्दिया । खेलकुदमा सहभागिता, गुलरियाको प्रगति र एकता भन्ने मुल नाराका साथ गुलरिया नगरपालिका स्तरीय सत्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं मेयरकप खेलकुद प्रतियोगिता मंगलबार देखि शुरु भएको छ । प्रतियोगिताको शुभारम्भमा गुलरिया नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत गरि ५४ वटा विद्यालयहरुले मार्चपासमा भाग लिएका थिए । 

बाल बालिकाहरुलाई शिक्षाको साथै खेलकुदको पनि पहुँचमा ल्याई उनिहरुको वृत्ति विकासका लागि सहयोग पुर्याउने उद्देश्यले गुलरिया नगरपालिका वडा नं. ४ मा रहेको खेलकुद मैदान कभर्ड हलमा प्रतियोगिता शुरु भएको छ । खेलकुदका माध्यमबाट बालबालिकामा भएको खेल कौशललाई बाहिर ल्याई राष्ट्रलाई योगदानसँगै स्वस्थ नागरिक निर्माण गर्न मद्दत पुग्छ । गुलरिया नगरपालिकाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष मुक्तिनाथ यादवले बालबालिकाहरुको शिक्षाको गुणस्तर सुधार गर्नका लागि हर प्रकारको सहयोग गर्न आफु तत्पर रहेको बताउनु भएको छ । प्रतियोगितामा भाग लिएपछि हारजीत हुन्छ यसबाट हतोत्साहित नभई प्रेरणा लिई अघि बढेमा जीत अवश्य हुनेमा ध्यान दिन बाल बालिकाहरुलाई नगरप्रमुख यादवले सुझाव दिनु भएको छ । 

विद्यालयहरुको नतिजाहरु कोरोनाको समय देखि खराब हुन थालेको स्मरणगर्दै अब सबै मिलि बालबालिकाहरुको शिक्षामा गुणस्तर बृद्धि गर्नुपर्नेमा उहाँको जोडछ । गुलरिया नगरपालिकाको खेलकुदको विकासका लागि केन्द्र सरकारले कानून बनाएमा खेलाडिको सम्पूर्ण जिम्मा लिन स्थानीय सरकार तत्पर रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समयको महत्व बुझेर अगाडी बढेमा हरेक कुराले सार्थकता पाउने भएकाले गुलरिया नगरपालिकाले सबै विद्यालयहरुलाई मार्चपासमा भाग लिने वातावरण बनाएकोमा खुशी व्यक्त गर्नुभयो । राज्यले जुन रुपमा खेल क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने हो त्यस किसिमबाट ध्यान दिन नसकेका कारण खेलाडिहरु खेलबाट खुशी हुन नसकेको उहाँको भनाई छ । 

खेलाडीले खेलका माध्यमबाट राज्यलाई चिनाई रहदा खेलाडीको पारिवारिक अवस्थाका विषयमा बुझ्न नखोज्नु नेतृत्वको कमजोरी रहेको बताउनु भयो । मन्त्रालयको बजेटले भ्याए सम्म शिक्षा र खेलकुद क्षेत्रलाई अगाडी बढाउन कुनै कसर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । बर्दियाको गुलरियाका विद्यालयहरुमा अध्ययन गरि गत बर्ष एसइइ परिक्षा दिएका विद्यार्थीको रिजल्ट चित्त बुझ्दो नभएकोले शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि आवश्यक पर्ने कुराको विषयमा शिक्षा विज्ञ, शिक्षक लगाएत सरोकारवाला निकायहरुले आफुसँग खुलस्त कुरा राखी आफुलाई सल्लाह, सुझाव दिनका लागि आग्रह गर्नुभएको छ । 

मार्चपासमा भाग लिएका विद्यालयहरुमा प्रा.वि. तर्फ स्मृती किण्डर गार्डेन प्रथम, निम्न माध्यमिक विद्यालय तर्फ गणेश निम्न माध्यमिक विद्यालय प्रथम र माध्यमिक विद्यालय सामुदायिक तर्फ बगलामुखी माध्यमिक विद्यालय प्रथम तथा संस्थागत तर्फ जनज्योती सेकेण्डरी बोडिङ्ग स्कुलले प्रथम स्थान हासिल गरेका छन् । यसैगरि असरफिया प्रा.वि., भानोदय निम्न माध्यमिक विद्यालय, महाकवी देवकोटा माध्यमिक विद्यालय र संस्थागत तर्फ लिटिल हेभेन बोडिङ्ग स्कुलले द्वितिय स्थान हासिल गरे । मार्चपासमा प्राथमिक विद्यालय तर्फ वर्षा वोर्डिङ्ग स्कुल, कृष्णसार निम्न माध्यमिक विद्यालय, त्रिशक्ति माध्यमिक विद्यालय र संस्थागत तर्फ सनराइज बोर्डिङ्ग स्कुलले तृतिय स्थान हासिल गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत ओमकार शाह, शिक्षा शाखा प्रमुख सतिश यादव लगायतले शुभकामना दिनु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments