समाजबाट बाल विवाह अन्त्यगर्न सबै संयन्त्र लाग्नुपर्छ : मन्त्री तिमिल्सिना
मुरली गोडिया, २४ मंसिर, बर्दिया । समाजबाट बालविवाह हटाउन सम्पुर्ण संयन्त्र लाग्नु पर्ने लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाले बताउनु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाको वडा नम्बर २ लाई बाल विवाहमुक्त वडा घोषणा कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री तिमिल्सिनाले सबैको साथ र सहयोग भएमा बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने आशा व्यक्त गर्नु भएको छ ।
बारबर्दिया नगरको वडा नम्बर २ पालिकाकै पहिलो बाल विवाह मुक्त वडाको रुपमा घोषणा भएको छ । प्रदेश सरकार समुदायमा सामाजिक समस्याको रुपमा रहेको बाल विवाह अन्त्यको लागि हातेमालो गर्न तयार रहेको उहाँको प्रतिबद्धता छ । सरकार, राजनीतिक दल, संघसंस्था तथा समुदायमा रहेको सम्पुर्ण संयन्त्रहरु एकजुट भएर बाल विवाहको बिरुद्धमा उभिए पक्कै पनि बाल विवाह अन्त्य गर्न सकिने उहाँको विस्वास थियो ।
कार्यक्रममा बोल्दै बारबर्दिया वडा नम्बर २ का वडा अध्यक्ष एवं कार्यक्रमका सभाअध्यक्ष रामफेरन थारुले बारबर्दिया नगरपालिकाले बनाएको बालविवाह सम्बन्धि निर्देशिका अनुसार वडालाई बाल विवाह मुक्त घोषणा गरिएको बताउनु भयो । सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार बारबर्दिया नगर पालिकालाई वि.स. २०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत पहिलो चरणमा वडा नम्बर २ लाई बाल विवाह मुक्त घोषणा गरिएको बताईएको छ ।
यसैगरी यस बर्षमा ४ वटा वडालाई बाल विवाहमुक्त घोषणा गर्ने योजनाका साथ तयारी भईरहेको छ । बारबर्दिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न समुह संजालबाट सचेतनामुलक साँस्कृतिक झाँकी, कलाकारहरुको कला प्रस्तुती, बाल विवाह न्युनिकरण अभियानको समर्थनमा ब्यानरहरु राखिएको थियो । साथै सहयोगी संस्था प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप), राधा कृष्णथारु जनसेवा केन्द्रको समन्वयमा समुदाय स्तरमा बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
Facebook Comments