• ७ फागुन २०८१, बुधवार
  • १७ °C काठमाडौं
बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिक सञ्चालन

मुरली गोडिया, १८ पुष, बर्दिया । बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिक सञ्चालनमा आएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र  काठमाडौं  इन्सिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँगको सहकार्यमा उक्त क्लिनिक सञ्चालनमा ल्याइएको हो । मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरुका विरामीले सेवा पाउने भएका छन ।

नेपालमा थुप्रै मानिसहरु नसर्ने रोगका कारण मृत्यु हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ । पेन–प्लस कार्यक्रमले जटिल रोगहरुको उपचारका साथै र रोगबाट जोगिने उपायका बारेमा समेत नागरिकलाई सचेतना फैलाउन प्रभावकारी हुने मानिएको छ । तोकिएका गम्भीर नसर्ने रोगहरुको ओ.पि.डी. सेवा, नसर्ने रोगका बिरामीहरुलाई निःशुल्क इको तथा इ.सि.जी सेवा, नसर्ने रोगका विपन्न बिरामीहरुलाई निःशुल्क स्वास्थ्य बीमा र रोगको जटिलता अनुसार एम्बुलेन्स सेवा, माथिल्लो तहको स्वास्थ्य संस्थामा प्रेषण सेवा, लगायत सुविधा उपलब्ध हुने बर्दिया अस्पताल गुलरियाका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताउनु भएको छ ।  

क्लिनिकबाट बर्दिया बासीले धेरै लाभ पाउने अपेक्षा गरिएको लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले बताउनु भयो । नयाँ स्टाफहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने चिकित्सको प्रोत्साहन हुने खालको रणनीति अपनाउने र भएको जनशक्ति परिचालन गरी सेवा दिनुपर्ने उहाँको भनाई छ । बर्दिया अस्पतालले गरेको कामको अरु प्रदेशले पनि अनुसरण गर्न सक्ने खालको काम गर्न सुझाव समेत दिनुभयो । अस्पतालको सैया बढाउनु भन्दा सेवाप्रवाहको गुणस्तरमा सुधार गर्न आवश्यक रहेको उहाले औंल्याउनु भयो । 

बर्दिया जिल्लामा विभिन्न जातजाती समुदायको बासोबासका साथै थारु समुदायको बाहुल्य रहेकाले थारु समुदायमा देखिने सिकलसेल, थालेसेमिया लगायतका रोगहरुका विरामीको संख्या बढीरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । त्यस्ता समुदाय स्तरमा गाँउ गाँउमै पुगी सचेतनाका कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाईछ । कतिपय विरामी अन्तिम समय नहुँदा सम्म अस्पताल नआउने प्रवृति भएकोले गाँउघरमै क्लिनिक संचालन गर्न सोच्न आवश्यक रहेको उहाँको जोड छ । 

संघीय स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा बर्दिया अस्पतालमा पेन प्लस प्रि–फ्याब भवन बाट सेवा सुरु गरिएको हो । प्रदेशले ब्लड बैंकको लागि ८१ लाख बराबरको सामग्री अस्पताललाई हस्तान्तरण गरेको बताईएको छ । थालेसेमियाका बिरामीहरुलाई निःशुल्क औषधी वितरण, निःशुल्क सिकलसेल जाँच सेवा, नसर्ने रोगका बिरामीहरुलाई परामर्शसेवा दिने जस्ता सुविधा हरु पेन–प्लस क्लिनिकमा उपलब्ध रहने अस्पतालले जनाइएको  छ ।

 

सम्बन्धित समाचार

Facebook Comments