• ३ चैत २०८१, सोमवार
  • २३ °C काठमाडौं
एचपीभी खोप अभियान संचालन गर्न राजापुर नगरपालिकाको तयारी

केशव कोईराला, १४ माघ, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगर खोप समन्वय समितिका पदाधिकारी र पत्रकार बीच एच.भि.पि. खोप सम्बन्धी अन्तरक्रिया गोष्ठि गरिएको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा खोपमा सकृय सहभागीता गराउन सबैमा अपिल समेत गरिएको छ ।  

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी.खोप देशैभरी एकैसाथ अभियानको रूपमा २०८१ माघ २२ गते देखि फागुन ६ गतेसम्म संचालन गर्न लागेको छ  । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सूचिकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रूपमा स्थापना गरी बिद्यालयमा अध्ययनरत र बिद्यालय बाहिर रहेका १० देखि १४ उमेर समूहका किशोरिहरुलाइ निःशुल्क रूपमा राष्ट्रिय खोप अभियान संचालन हुने स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी दिनु भयो ।  

महिलाहरूमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भबिष्यका कर्णधारको रूपमा रहेका बालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि सवैको महत्वपूर्ण भूमिका रहने हुँदा स्वास्थ्य संस्थाहरूबाट संचालित महत्वपूर्ण कार्यक्रमलाई निकै संम्बेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिएको छ । कार्यक्रममा एच.पि.भी.बारे जानकारी दिदै ह्युमन प्यापिलोमा भाईरस भएको र पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व भएको जानकारी गराइएको छ । भाईरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ ।

यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण रहेको बिभिन्न अध्ययनहरूले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाईरसको संक्रमणबाट हुन्छ  । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ । बिभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ  । कार्यक्रममा नगरप्रमुख दिपेश थारु, उपप्रमुख मनकला कुमारी चौधरी, वडा अध्यक्षहरु, स्वास्थ्य सस्थाका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेबिका सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments