• १९ असार २०८३, शुक्रवार
  • २१ °C काठमाडौं
संविधानको मूल मर्मलाई अक्षरस कार्यान्वयन गर्नुपर्छ : पूर्व राज्यमन्त्री गौतम

दलबहादुर सुनार, ५ वैशाख, बर्दिया । बर्दियाको गुलरियामा आयोजित एक कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री जितु गौतमले नेपालको संविधान २०७२ को मूलमर्म र भावनालाई अक्षरस कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । बिहिवार बर्दियामा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दियाको सातौँ जिल्ला सम्मेलन उद्घाटन गर्दै गौतमले जातीय विभेदको अन्त्यका लागि संविधानमा भएका प्रावधानहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार तथा सरोकारवालाहरूको ध्यानाकर्षण गराउनुभयो ।

“नेपाली समाजमा अझै पनि जातको आधारमा छुवाछूत र विभेद कायम रहनु दुःखद र लज्जास्पद विषय हो,” नेता गौतमले भन्नुभयो, “यस्ता विभेद अन्त्य गर्न हामी सबैले संविधानका मर्मअनुसार अघि बढ्नुपर्छ ।” एमालेले सिद्धान्त र निष्ठामा कुनै प्रकारको सम्झौता नगर्ने बताउँदै गौतमले स्वार्थका लागि पार्टीमा लाग्नेहरूलाई अहिले नै पार्टी छोड्न सुझाउनुभयो । साथै, मिशन ८४ अन्तर्गत आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमतको सरकार बनाउने लक्ष्यसहित वडा तहबाटै ‘जरा अभियान’ सम्पन्न भएको जानकारी दिनुभयो ।

“मुक्ति समाजले जातीय मुद्दामात्र होइन, समग्र राष्ट्र निर्माणमा योगदान पु¥याउनु पर्नेमा गौतमको जोड छ । सम्मेलनका प्रमुख अतिथि समेत रहेका गौतमसँगै कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मणराज ज्ञवाली, संघीय सांसद शोभा ज्ञवाली, मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष नन्द विश्वकर्मा, नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव लिला रानामगर, जिल्ला अध्यक्ष शालिकराम अधिकारी, संगठनका स्थायी समिति सदस्य ठाकुर लुहागन, केन्द्रीय सदस्य ओम नेपाली, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण विश्वकर्मा लगायतको उपस्थिति थियो ।

उनीहरूले सम्मेलनले सक्षम, योग्य र संगठन चलाउन सक्ने नयाँ नेतृत्व चयनको शुभकामना व्यक्त गर्दै जातीय विभेदविरुद्ध संगठनले अझ सशक्त आवाज उठाउनु पर्नेमा जोड दिएका थिए । बर्दिया जिल्लाको गुलरिया स्थित जिल्ला विकास समितिको सभाहलमा भूपेन्द्र शेरलाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा संगठनका केन्द्रीय सदस्य सर्जन विश्वकर्मा, पार्टीका लुम्बिनी प्रदेश सदस्य कृष्ण खनाल, दयाराम परियारलगायतको उपस्थिति रहेको थियो । सम्मेलनले भूपेन्द्र शेरलाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments