• २१ फागुन २०८२, बिहिवार
  • २५ °C काठमाडौं
पर्यापर्यटनको आधारशीला राष्ट्रिय निकुञ्ज

यादव आचार्य, ३१ बैशाख, बर्दिया । नेपालमा पाईने वन्यजन्तु वनस्पति लगायत भू–दृश्यसँगै पारिस्थिकीय प्रणाली संरक्षण, ब्यवस्थापन र दिगो उपयोग गरी देशको समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले विक्रम सम्बत २०३७ सालमा वन तथा बातावरण मन्त्रालय अन्र्तगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग स्थापना गरिएको थियो । हाल नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, आरक्ष १, शिकार आरक्ष १, संरक्षण क्षेत्र ६ र १३ वटा मध्यवर्ती क्षेत्र छन् । २ वटा प्राणी उद्यानहरु निर्माणाधिन अवस्थामा छन् । 

नेपालका १० वटा सिमसार क्षेत्रहरु रामसार साईटमा सुचिकृत भएका छन् । नेपालको सिमसार क्षेत्रको क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ । नेपालका मकालु बरुण, सगरमाथा, पर्सा, चितवन, शिवपुरी नागार्जुन, लामटाङ, बाँके, बर्दिया, शे फोक्सुण्डो, रारा, खप्तड, शुक्लाफाँटा गरी १२ वटा राष्ट्रिय निकुञ्ज छन् । कोशीटप्पू वन्यजन्तु आरक्ष, ढोरपाटन सिकार आरक्ष रहेको छ । त्यस्तै कृष्णसार, अन्नपूर्ण, कञ्चनजंगा, अपिनाम्पा, गौरीशंकर र मनास्लु गरी ६ वटा संरक्षण क्षेत्र छन् । भानुभक्त तथा राट्रिय गरी दुई वटा प्राणी उद्यान हुन् ।

नेपालमा संरक्षण कार्यलाई प्रभावकारी बनाउँदै पूर्ण रुपमा चोरी शिकार निरुत्साहित पार्ने उद्देश्यले २०३२ सालदेखि संरक्षित क्षेत्रमा सेना तैनाथ गरिएको हो । हाल नेपालका १४ वटा संरक्षित क्षेत्रहरुमा नेपाली सेनाका ८ वटा गण र ७ वटा गुल्म तैनाथ छन् । नेपालमा प्रजाती संरक्षणबाट शुरु भएको संरक्षण कार्य क्रमिक रुपमा पारिस्थिकीय प्रणालीहुँदै भू–परिधिस्तरमा जन सहभागीतामूलक संरक्षण पद्धतीमा रुपान्तरण भएको पाईन्छ । नेपालले संरक्षणको क्षेत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाउन सफल भएको छ । स्थानिय समुदायलाई संरक्षणमा प्रभावकारी रुपमा सहभागी बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को चौथो संशोधन मार्फत मध्यवर्ती क्षेत्र ब्यवस्थापन कार्यक्रम शुरु गरिएको हो । 

त्यस्तै ऐनको पाँचौ संशोधनले जैविक मार्गको संरक्षण र सम्बद्र्धन सम्बन्धी थप कानूनी ब्यवस्थागर्दै संरक्षण कार्यलाई थप संस्थागत बनाईएको छ । नेपालको कूल भू–भागको २३ दशमलव ३९  प्रतिशत ३४ हजार ४१९ दशमल ७५ बर्गकिलोमिटर संरक्षित क्षेत्रछ । संरक्षित क्षेत्रबाट भएको राजस्वको ३० देखि ५० प्रतिशत आम्दानी प्राकृतिक श्रोतको संरक्षण, आयआर्जन, सीप विकास तथा क्षमता अभिबृद्धि, संरक्षण शिक्षा तथा सामुदायिक विकासमा खर्च हुने गरेको पाईन्छ । नेपालले जैविक विविधता संरक्षण महासन्धी, र्दुलभ वन्यजन्तु तथा वन्यजन्तुको अन्तर्राष्ट्रिय ब्यापार नियमन सम्बन्धी महासन्धि लगायत जैविक विविधता तथा वातावरण संरक्षण सम्वन्धि अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुमा हस्ताक्षर गरी पक्ष राष्ट्रको रुपमा जैविक विविधता संरक्षणमा उल्लेखनिय योगदान गर्दै आएको छ ।

एउटै निकुञ्जबाट करोडौं राजस्व 

बर्दिया राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा ३ करोड ४६ लाख ४७ हजार ८ सय ८२ रुपैयाँ राजस्व निकुञ्जले संकलन गरेको छ । चैत मसान्तसम्म २२ हजार ३ सय ७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।  जसमध्ये ५ हजार ९ सय २४ जना विदेशी, १ हजार ५९ जना सार्क मुलुक र १५ हजार ३२४ जना नेपाली पर्यटक छन् । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा हाल ३८ वटा गैंडा, १ सय २५ वटा बाघ, १५ देखि २१ वटा घडियाल गोही, ९४ वटा बाह्रसिङगा, ९० प्रजातिका आहाराजन्य वनस्पति छन् ।

त्यस्तै कर्णाली नदीमा डल्फिन समेत देखिने गरेको निकुञ्जका रेन्जर शान्त बहादुर मगरले बताए । निकुञ्जमा १ सय २० भन्दा बढी जंगली हात्ती पाइने भएकाले पनि निकुञ्ज हात्तीहरूको सबैभन्दा ठूलो वासस्थान मानिन्छ । निकुञ्जले गतबर्ष विभिन्न मुद्दामा १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ । जसमध्ये २ जना वन पैदावार, २ वन्यजन्तु सम्बन्धी र ९ जना सवारी ठक्करका कारण पक्राउ परेका हुन् । निकुञ्जले सो अवधिमा १८ वटा मुद्दामा फैसला गरेको जानकारी दिएको छ । 

वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण र राहत वितरण सम्बन्धी विवरण अनुसार, गत वर्ष १ हजार ५ सय ४८ वटा घटनामध्ये २ जनाको मृत्यु, ३ जना सख्त घाइते, १ जना सामान्य घाइते भएका थिए । पशुधनमा ९३५ वटा, अन्नबालीमा ४८७ वटा, भण्डारण अन्नबालीमा २७ वटा तथा ६२ वटा घरगोठमा क्षति भएको थियो । क्षति पु¥याएका घटनाका पीडितलाई निकुञ्जले कूल १ करोड १७ लाख ३७ हजार २ सय रुपैयाँ बराबरको राहत वितरण गरेको निकुञ्जका वन संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । 

पर्यटक थेग्न होमस्टे 

खेतबारीमा मात्र कामगर्ने अनुभव सँगालेका मधुवन नगरपालिका वडा नम्बर ४ स्थित सूर्यपटुवाका महिलाहरु डल्ला स्थित खाता जैविकमार्गमा होमस्टे संचालन गर्न थालेपछि आर्थिक रुपमा सबल बनेका छन् । डल्लामा होमस्टे संचालनगर्दै आएका २० घरका महिलाहरु जिविकोपार्जनगर्दै घरपरिवार चलाउन सक्ने हैसियतमा पुगेका छन् । थारु समुदायका ग्रामिण महिलाहरु जैविकविविधता संरक्षणगर्दै यतिखेर पर्यटक घरमै भित्र्याएर आम्दानी गर्न सफल बनेका छन् । 

घरखर्च चलाउन मुस्किल थियो । जतिबेला होमस्टे संचालन थिएन । खेतीपातीको काम मात्र गर्नुपथ्र्यो । होमस्टे चल्न थालेपछि घरखर्च मात्र होईन आम्दानीले परिवार पाल्न सक्षम बनाएको छ डल्ला होमस्टे घर नम्बर १४ की संचालक चम्फी योगीथारुले भनिन् । डल्लामा २० घरले होमस्टे संचालनगर्दै आएका छन् । होमस्टे संचालन गर्न पाउँदा महिला बालवालिका लाभान्वित छन् । होमस्टेमा थारुपरिकार खान, सँस्कृति हेर्न, बस्ने प्रवन्ध छ । होटलमा भन्दा सस्तोमा होमस्टेले सेवा दिदै आएका छन् । 

सरकारले निर्माण गरेको ग्रामिण पर्यटन विकास निति अनुसार होमस्टेहरु संचालन गर्न सके होमस्टे संचालन गरेका गाउँहरुमा कोही पनि बेरोजगार नहुने खाता जैविकमार्ग होमस्टे ब्यवस्थापन समिति डल्लाका अध्यक्ष परशुराम थारुले बताए । डल्ला होमस्टेमा थारु परिकार, संस्कृति, संस्कार लगायत यहाँको जैविकविविधता अवलोकन गर्न पर्यटकहरु आउछन् । पर्यापर्यटनको यथेष्ट सम्भावना रहेपनि भौतिक पूर्वाधार लगायताका क्षेत्रमा राज्यले बेलैमा सोच्नुपर्ने उनले औल्याए । डल्लासँगै बर्दियाका विभिन्न पालिकामा होमस्टे संचालनमा छन् । 

डल्ला होमस्टेमा वेलायती राजकुमार ह्यारीले पनि अवलोकन गरीसकेका छन् । पालिकाले पर्यटकिय क्षेत्रको पूर्वाधार विकासमा योजना अघि सारेको छ । बर्दियामा जैविक विविधता, साँस्कृतिक सम्पदा, धार्मिक धरोहर, कृषि उपज, नदीजन्य श्रोत लगायतका पर्यटनको प्रचुर सम्भावना रहेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना भट्टराईको बुझाई छ । बर्दियामा पर्यटकले जैविकविविधाको आनन्दसँगै थारु लगायत विविध समुदायको साँस्कृतिक विविधता पनि अवलोकन गर्न पाउँछन् । अन्नपूर्ण पोस्ट्बाट ...

सम्बन्धित समाचार

Facebook Comments