सन्दर्भ : नेपाल प्रेस युनियनको स्थापना दिवस
राजेन्द्र प्रसाद धिताल, १३ जेठ, बर्दिया । प्रजातन्त्रवादी पत्रकारहरुको छाता सङ्गठन नेपाल प्रेस युनियनको जेठ १३ गते स्थापना दिवस हो । विक्रम सम्बत् २०४८ साल जेष्ठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।
युनियनका संस्थापक संयोजक जयप्रकाश प्रसाद गुप्ता हुनुहुन्छ । श्रमजीवी पत्रकारका हक र हितमा सङ्गठीत रुपमा आवाज उठाउने हेतुले स्थापित यो सङ्गठन अन्तर्राष्ट्रिय पत्रकार संघमा आवद्ध हुने पहिलो नेपाली पत्रकारहरूको संस्था हो । नेपाल प्रेस युनियन विगतमा निरङ्कुश पन्चायती शासन सत्ता विरुद्ध संघर्ष गरेका प्रजातन्त्रका पहरेदार मिसन पत्रकारहरुद्वारा स्थापित लोकतान्त्रिक मूल्य पद्धतिप्रति प्रतिबद्ध नागरिक संस्था हो ।
नेपाल प्रेस युनियन लोकतन्त्रका आधारभूत सिद्धान्त अभिव्यक्ति स्वतन्त्रता, कानुनी शासन, आवधिक निर्वाचन, सुशासन, पारदर्शिता र समानतामा आधारित समावेशी शासन पद्धति, आधारभूत मानवाधिकारको संरक्षण एवं प्रत्याभूतिका लागि सर्वथा अग्र पंक्तिमा रहेर खबरदारी गर्ने र नागरिकका लागि संचार भन्ने मान्यताबाट अभिप्रेरित संचारकर्मीहरुको भरपर्दो संस्था हो । बर्दियामा नेपाल प्रेस युनियनको शाखा २०५५ सालमा गठन गरिएको थियो । प्रेस युनियनका तत्कालीन अध्यक्ष मुरारी शर्मा र युनियनका नेता तेज कुमार शर्माको उपस्थितिमा बर्दिया शाखाको स्थापना भएको हो ।
बर्दिया शाखाका संस्थापक अध्यक्ष रेडियो नेपालका तत्कालीन बर्दिया सम्वाददाता यज्ञ नेपाल हुनुहुन्छ । त्यसपछि क्रमश राजेन्द्रप्रसाद धिताल, ज्योति पन्थी, विनयराज भण्डारी र दीपकलाल श्रेष्ठ यस सङ्गठनका जिल्ला अध्यक्ष भएका छन् । यस जिल्लाबाट स्वर्गीय भेषराज पौडेल केन्द्रीय परामर्शदाता र पत्रकार युवराज श्रेष्ठले केन्द्रीय उपाध्यक्ष भएर नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । हाल पत्रकार कृष्ण प्रसाद बस्याल राकेश केन्द्रीय परामर्शदाता पदमा कार्यरत छन् । बर्दियामा प्रेस युनियनको स्थापना कालमा भेषराज पौडेल, यज्ञ नेपाल, राजेन्द्रप्रसाद धिताल, कृष्ण भण्डारी, मदन सिग्देल, विजय देवकोटा, रुद्र सिग्देल हरि सिग्देल, खडानन्द तिवारी लगायतका व्यक्तित्वहरुको अविस्मरणीय भूमिका रहेको थियो ।
नेपाल प्रेस युनियनले आफ्नो स्थापना कालदेखि नै लोकतान्त्रिक पद्धति र पत्रकारको पेशागत हकहितका पक्षमा संघर्षगर्दै आएको छ । विगतको १० बर्षे सशस्त्र द्वन्द्वका समयमा शान्ति, लोकतन्त्र र मानवताको पक्षमा यस सङ्गठले खेलेको भूमिका उल्लेखनीय छ । २०६२÷०६३ को जन आन्दोलन, क्रान्तिको शान्तिपूर्ण व्यवस्थापन, सम्बिधान लेखन र आम निर्वाचन लगायतका सवालमा यस सङ्गठनले निर्वाह गरेको सुझबुझ पूर्ण अगुवाइ ऐतिहासिक एवम् अविस्मरणीय छ ।
(धिताल बबई बहुमुखी क्याम्पस बर्दियाका प्राध्यापक एवम् नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष हुनुहुन्छ ।)
Facebook Comments