युवा निर्यात र खाद्यान्न आयात गर्ने देशबन्दै नेपाल
हरि प्याकुरेल, २० जेठ, बर्दिया । नेपाललाई परम्परागत रूपमा कृषि प्रधान देश भनिन्छ । तर यथार्थमा यो कागजमा मात्र सीमित जस्तो देखिन्छ । उर्वर भूगोल, विविध मौसम र पुरातन कृषि परम्परा हुँदाहुँदै पनि नेपालले बार्षिक अरबौं रुपैयाँ बराबरको खाद्यान्न आयात गरिरहेको छ । खेतीयोग्य जमिन बाँझो छ र शहरीकरणले जमिन मासिँदै गएको छ । पढेलेखेको मान्छेहरुले हलो जोत्न हुँदैन भन्ने हाम्रो समाजले वर्षौ यिनै शब्दहरू दोर्होयाइरह्यो ।
यस कथनले हाम्रो चेतनामा गहिरो असर पार्यो । हाम्रा हातहरू कलम चलाउन सिपालु भए तर हलो समाउने तर्फ संकोचपूर्ण भए । खेत जोत्न लाज लाग्ने काम जस्तो बनाइयो । आज हामी आधुनिकताको नाममा विदेशी ब्रान्डको चकचके प्याकेटमा बेरिएका खाना रोज्छौं । कोदोको ढिंडो होइन—प्लास्टिकको प्याकेटमा भएको पास्ता खान रुचाउँछौं । रैथाने अन्न बालीहरू मार्र्सी धान, कोदो, फापर, चिनु कागुनो, उवा, जौ, झुमरो आदि लोपोन्मुख अवस्थामा छन् । आफ्नो खेत बारीमा श्रम गर्ने अथवा कृषि श्रमिक बन्नुपर्ने युवाशक्ति विदेश पलायन भइरहेको छ । फलस्वरूप, नेपाल युवा निर्यात र खाद्यान्न आयात गर्ने देश बनेको छ ।
हजारौं नेपाली युवा आज युरोप, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान र खाडी मुलुकहरूमा छन् । उनीहरू विहानै उठ्छन् अनि अर्काको उद्योग, कल कारखाना, ब्यावसायिक फम, खेत बारीमा गह्रौँ काम गर्छन् । घाम–पानी बेवास्ता गरेर पसिना बगाउँछन् । उनीहरूको मेहनतले विदेशीले सम्पत्ति आर्जन गर्छन र मालिकहरू धनी बन्छन् । तर सोचौं त, त्यो एउटै हात, एउटै पसिना र एउटै सिप यदि आफ्नै देश नेपालको खेत बारी र अन्य उत्पादन क्षेत्रमा लगाइयो भने, किन नहुने ? के हामी उद्यमी बनेर मालिक बन्न सक्दैनौं ?
विदेशले तलब दिन सक्छ । तर आफ्नै देशले स्वाभिमान र पहिचान दिन्छ । अथवा विदेशको पैसा कति समय टिक्छ ? तर नेपाली माटोमा रोपिएको श्रम र पसिनाले सदियौँ टिक्ने आत्मनिर्भरता दिन सक्छ । आजको यथार्थ के हो भने नेपालको जमिन बाँझो छ तर युवा विदेशमा छन् । यदि बिदेशीएका युवाहरु हाम्रो देश फर्किए भने अनि विदेशी सिप र प्रविधिलाई नेपाली माटोमा मिसाए भने त्यो दिन नेपालको खेती आत्मनिर्भर मात्रै होइन, आधुनिक र व्यावसायिक पनि हुनसक्छ ।
नेपालका प्रमुख पोषणयुक्त रैथाने बालिहरुको छुट्टै महत्व छ ।
१) धान : यो नेपालको प्रमुख अन्नबाली हो । यसमा पनि विभिन्न रैथाने जातहरू छन् । मार्र्सी, कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातोअनदी, थापाचिनी र स्यामजिरा लगायतका स्थानीय मसिनो र मोटो आदि जातका धानहरु छन् । विशेष गरी मार्र्सी धान हिमाली क्षेत्र जुम्लामा उब्जने स्वादिलो, सुगन्धित र पौष्टिक जात हो जसमा औषधीय गुण छन् । यसलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन सकिन्छ ।
२) मकै : पहाडी क्षेत्रमा मकै मुख्य खाद्यान्न बाली हो । कट्टहरे, भोटे मकै, रातो मकै जस्ता जातहरू स्वादिष्ट, पचाउन सजिला र स्वास्थ्यवद्र्धक छन् । यी जातहरूमा उच्च फाइबर, एन्टिअक्सिडेन्टजस्ता तत्वहरू पाइन्छन् ।
३) गहुँ : नेपालमा जाडो याममा गहुँ खेती गरिन्छ । लम्सी गहुँ, कालो गहुँ, खैरो गहुँ जस्ता रैथाने जातहरूमा प्रोटिन, खनिज र रोगप्रतिरोधी क्षमता बढाउने तत्वहरू छन् ।
४) कोदो : सुक्खा क्षेत्रका लागि उपयुक्त यो अन्न क्याल्सियम र आइरनको भरपूर स्रोत हो । मधुमेह रोगका बिरामीहरुका लागि लाभदायक यो बालीबाट ढिंडो, कोदोको रक्सी आदि बनाइन्छ ।
५) फापर : उच्च पहाडमा उत्पादन हुने फापर ग्लूटेन फ्री अन्न हो । यसले हृदय स्वास्थ्यमा सुधार ल्याउँछ र शरीरलाई ऊर्जा प्रदान गर्छ । युरोप र अमेरिका जस्ता मुलुकहरूमा यसको माग अत्याधिक मात्रामा छ ।
६) चिनु : हाल लोपोन्मुख अवस्थामा पुगेको चिनु अन्नमा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ । यसलाई पुनः प्रोत्साहनद्वारा बजारमा पुनस्स्थापित गर्न सकिन्छ ।
७) कागुनो : उच्च हिमाली क्षेत्रमा उब्जिने कागुनो खिर वा खाजाका रूपमा प्रयोग गरिन्छ । यसको सादगीपूर्ण स्वाद र सुपाच्य गुणले यसलाई अन्तर्राष्ट्रिय स्तरमा नेपाली ब्रान्डको रूपमा चिनाउन सकिन्छ ।
८) उवा : विशेष गरि हिमाली क्षेत्रमा उब्जने उवा जौ जस्तै देखिने तर स्वादमा फरक अन्न हो । यसमा स्थानीय स्वाद र पौष्टिकता रहेको हुन्छ । यसको सातु खानमा राम्रो हुन्छ ।
९) झुमरो : यो धेरै प्राचीन अन्न हो जुन हाल लोप हुने अवस्थामा छ । यसमा औषधीय गुणहरू पाइन्छ भन्ने विश्वास छ । यसको खिर र भात बनाएर खान सकिन्छ ।
११) जौ : यो उच्च हिमाली क्षेत्रमा उत्पादन हुने अन्न हृदयका लागि लाभदायक मानिन्छ । यसबाट टुसाउने जौको सूप, बियर र आटा उत्पादन गरी निर्यात गर्न सकिन्छ ।
यी अन्नबालीहरूमा औषधीय गुण, रोगप्रतिरोधात्मक क्षमता र जैविक उत्पादनको सम्भावना अत्यधिक छ । उदाहरणका लागि, फापर मधुमेह रोगका बिरामीहरूका लागि उपयोगी छ भने कोदो हड्डी मजबुत बनाउने क्याल्सियमयुक्त अन्न हो । यस्ता गुणहरूलाई आधार बनाएर यी अन्नहरूलाई नेपाली ब्राण्ड अन्तर्गत निर्यात गर्न सकिन्छ ।
यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट विद्यार्थी संगठन अखिल (समाजवादी) जिल्ला समिति बर्दियाले एकीकृत सामुहिक स्वामित्वमा आधारित गुलरिया नगर पालिका ४ तुलापुरमा रहेको सी सप्लायर्स सन्चालनमा ल्याएको छ । आजकालका नानीबाबुहरू जङ्क फुडको अत्यधिक सेवनले स्वास्थ्यमा समस्या भोगिरहेका छन् । यस्तो अवस्थामा हामीले कर्णाली क्षेत्रको पोषणयुक्त र परम्परागत अन्न कोदो लाई पुनः प्रवद्र्धन गर्ने प्रयास गरेका छौं । स्थानीय सरकार तथा विद्यालयसँग समन्वय गरेर जिल्ला भित्रका विद्यालयहरुमा सुजिको सट्टा कोदोको हलुवा खाजाको रूपमा खुवाउन थालिएको छ ।
यस पहलको उद्देश्य केवल परम्परागत बालीको संरक्षण मात्र नभई बालबालिकालाई पोषणयुक्त आहार प्रदान गर्दै उनीहरूको शारीरिक र मानसिक वृद्धि–विकासमा सहयोग पुर्याउनु पनि हो । कोदोजस्ता रैथाने बालीहरूमा प्रशस्त मात्रामा फाइबर, प्रोटिन, मिनरल्स र भिटामिन पाइन्छ, जसले बच्चाको समग्र विकासमा सकारात्मक प्रभाव पार्दछ । त्यसैले यस्ता रैथाने बालीहरूको महत्व बालबालिकालाई सानैदेखि बुझाउन आवश्यक छ । यसको लागि विद्यालयको पाठ्यक्रममा रैथाने बालीसम्बन्धी ज्ञान समावेश गरिनु अत्यावश्यक छ, जसले बालबालिकामा पोषण, कृषि र संस्कृतिप्रतिको चेतना विकास गर्न मद्दत गर्छ ।
निष्कर्ष :
नेपालको उर्वर माटो, रैथाने बीउ र श्रमशक्तिलाई सम्मान नगरी आत्मनिर्भरता सम्भव छैन । विदेश पलायन होइन, स्वदेश फर्केर कृषि र उत्पादनमा आधारित राष्ट्र निर्माण नै आजको आवश्यकता हो । हाम्रो माटो नै हाम्रो पहिचान र सम्भावनाको बीउ हो । अब यसलाई बचाउने र फुलाउने बेला आएको छ ।
(प्याकुरेल नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट विद्यार्थी संगठन अखिल (समाजवादी) का केन्द्रिय सदस्य तथा बाँके, बर्दिया जिल्ला इन्चार्ज हुनुहुन्छ ।)
२५ °C काठमाडौं
Facebook Comments