• २ फागुन २०८२, शनिवार
  • ११ °C काठमाडौं
संवैधानिक कानूनी अधिकार कार्यान्वयन गर्न महिलालाई सशक्त बनाउनु पर्छ : सांसद सोडारी 

विन्दु चौधरी, ५ असार, बाँसगढी (बर्दिया) । लुम्बिनी प्रदेश सदस्य मालती सोडारीले महिलालाई संविधानमा व्यवस्था गरिएको कानुनी अधिकार कार्यान्वयन गर्न सशक्त बनाउनु पर्ने बताउनु भएको छ । गुलरियामा भएको महिला सशक्तिकरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले बर्दिया जिल्लाका सामाजिक संघसंस्थाका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेतृत्व तहमा पुगेका महिलाको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । 

महिलाले आफ्नो अधिकारको संरक्षण गर्दै सामाजिक तथा राजनीतिक क्षेत्रमै उदाहरणीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “महिलाले अब राम्रो कामको सिको गर्नुपर्छ, उदाहरणीय बन्नुपर्छ,” उहाँले भन्नुभयो, “यसका लागि महिलाहरुलाई सशक्त बनाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हो । सांसद सोडारीले किशोरी, महिला र बालबालिकाहरूको बहुआयामिक समस्यालाई सम्बोधन गर्न प्रत्येक क्षेत्रबाट प्रतिवद्धता आवश्यक रहेको बताउँदै सबै सहभागीले आफू रहेको क्षेत्रबाट महिला सशक्तीकरणका लागि योगदान गर्न प्रतिवद्धता जनाउनु पर्ने बताउनुभयो ।

सांसद सोडारीको पहलमा बर्दिया जिल्लाका महिला जनप्रतिनिधि, राजनीतिक महिला नेतृ र सामाजिक संघसंस्थाका प्रमुख महिला प्रतिनिधिहरुलाई पालैपालो सशक्तिकृत गरिदैँ आएको समेत जानकारी दिइएको छ । महिला सशक्तिकरण सम्बन्धी उक्त कार्यक्रम लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा तथा सामाजिक विकास निर्देशनालय, सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा र शान्ति पूणस्थापना केन्द्र गुलरिया बर्दियाको समन्वयमा सम्पन्न भएको हो । 

कार्यक्रममा गुलरिया नगरपालिकाका सूचना अधिकारी मुकुन्द अर्याल र अधिवक्ता लक्ष्मी नेपालले सहजीकरण गर्नुभएको थियो । गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद मालती सोडारी, जिल्ला संमन्वय समिती प्रमुख सुर्य बहादुर विष्ट, गुलरिया नगरपालिकाका महिला जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिती थियो । यसभन्दा अगाडि राजनितिक दलका महिला नेतृ, उपउप्रमुख, निवर्तमान उपप्रमुखहरुसँग कार्यक्रम गरिसकेको छ ।

सम्बन्धित समाचार

Facebook Comments