• १९ असार २०८३, शुक्रवार
  • २१ °C काठमाडौं
कमैयामुक्ती : बिगतको संघर्ष, वर्तमानको चुनौती र भविष्यको स्पष्ट योजना

चन्द्रप्रकाश चौधरी, २ साउन, बर्दिया । कमैया प्रणाली नेपालको सुदूरपश्चिम र लुम्बिनी प्रदेश तराईका पाँच जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायसँग गहिरो रूपमा गाँसिएको ऋणमा आधारित बँधुवा श्रम प्रणाली हो । नेपालको इतिहासमा श्रम शोषणका सबैभन्दा अमानवीय रूपमध्ये एक थियो कमैया प्रणाली । थारु समुदायका हजारौँ परिवारलाई पुस्तौँसम्म ऋणको नाममा बँधुवा श्रममा बाँधेर शोषण गरिएको थियो ।

विक्रम सम्बत् २०५७ साल साउन २ गते सरकारले कमैया प्रथालाई गैरकानुनी घोषणा गर्दै कमैया मुक्तिको घोषणा ग¥यो । तर आज एक चौथाई शताब्दीपछि पनि यो उन्मुक्ति पूर्ण सफल भइसकेको छैन । सरकारले कमैया प्रणाली अन्त्य गरेको घोषणा ग¥यो । त्यो दिन नेपालका हजारौँ बँधुवा श्रमिकहरूले मुक्तिको घोषणा सुनेर स्वतन्त्रताको सपना देखे । तर, २५ वर्षपछि पनि प्रश्न उस्तै छ । के कमैयामुक्ती केवल कानुनी घोषणा मात्र हा ? के मुक्त कमैयाहरूले जीवनस्तरमा वास्तविक स्वतन्त्रता चाखे ? र भूमिहीनता, रोजगारी अभाव, शिक्षा र स्वास्थ्यमा पहुँच नहुँदा मुक्त कमैयाहरू अझै पनि समग्र सेवा र पहुँचमा पछाडि छन् नै । दैनिक प्रभाव पर्ने सामाजिक र आर्थिक रूपमा कमजोर अवस्थामा छन् ।

कमैया बस्नुपर्ने बाध्यता :

१) ऋण लिँदा ब्याज अत्यधिक राख्ने र तिर्न नसक्दा परिवार पुस्तौँसम्म जमिनदारकोमा श्रम गरेर ब्याज तिर्न बाध्य ।
२) श्रम अनुसारको पारिश्रमिक होइन, थोरै चामल वा नून
३) महिलामाथि दोहोरो शोषण (श्रम र यौन हिंसा)
४) शिक्षाबाट पूर्ण वञ्चित
व्यवहारिक रूपमा मानिसलाई दास बनाए ।

विगतमा आन्दोलनको स्वरूप :

आन्दोलन अहिंसात्मक तर विरोध प्रदर्शन, जागरण यात्रा, सडक र्याली, जग्गा कब्जा अभियान, तिनकुने कब्जा, चक्काजाम, महेन्द्र राजमार्गमा नमुना घर निर्माण लगायत ज्ञापनपत्र बुझाउने अभियान जस्ता स्वरूप आन्दोलन भएको थिायो । काठमाडौंबाट जिल्ला केन्द्रसम्म एकीकृत आन्दोलन भयो जसमा मजदुर, शिक्षक, पत्रकार र विद्यार्थीहरूको समर्थन पाइयो ।

विगतको उपलब्धि र योगदान :

१) कानुनी मान्यता र दासत्व अन्त्य ।
२) केही परिवारलाई बासका लागि बढी ५ कठ्ठा देखि ५ धुरसम्म लालपुर्जा र आवास ।
३) महिला सशक्तिकरण र सहकारी विस्तार ।
४) कमैया आन्दोलनले मानव अधिकारको इतिहासमा नयां मोड ल्यायो ।

संघर्षबाट प्राप्त प्रमुख उपलब्धिहरू :

कमैयामुक्ति आन्दोलनले नेपालको सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा ऐतिहासिक मोड ल्याएको छ । यस आन्दोलनबाट प्राप्त उपलब्धिहरू केवल कानुनी मात्र नभई संरचनागत परिवर्तनका दृष्टिले पनि महत्वपूर्ण छन् ।

१) कानुनी मान्यता र दासत्व अन्त्य : २०५७ साल साउन २ गते कमैया प्रथा गैरकानुनी घोषणा भई तत्कालीन सरकारले कमैया श्रम निषेध ऐन, २०५८ ल्यायो । यस कानुनले न केवल कमैया प्रथालाई समाप्त ग¥यो, बरु भविष्यमा कुनै पनि रूपको बँधुवा श्रम प्रणालीलाई रोक्ने कानुनी संरचना तयार ग¥यो । यसलाई नेपालको मानव अधिकारको इतिहासमा महत्वपूर्ण माइलस्टोन मानिन्छ ।

२) केही परिवारलाई लालपुर्जा र आवास कमैयामुक्ति घोषणापछि सरकारले भूमिहीन कमैया परिवारलाई पुनर्वासका लागि जग्गा बाँड्ने निर्णय ग¥यो । करिब ८ हजार २२ परिवारलाई लालपुर्जा र आवास उपलब्ध गराइएको तथ्यांक छ । यद्यपि बाँकी परिवार अझै भूमिहीन छन्, यस कदमले थुप्रै मुक्त कमैयाहरूलाई जग्गा स्वामित्वको अनुभव दिलायो र उनीहरूलाई स्वतन्त्र नागरिकको अधिकारप्राप्तिको
अनुभव भयो ।

३) महिला सशक्तिकरण र सहकारी विस्तार आन्दोलनले थारु महिलालाई चेतनाको प्रकाशमा ल्यायो । कमलहरी प्रथाविरुद्धको आन्दोलनसँगै महिलाहरू आर्थिक र सामाजिक रूपले सशक्त बन्न थाले । महिला समूह, सहकारी र सीप विकास तालिमहरूले महिलालाई आर्थिक पहुँच दिलायो र उनीहरू सामुदायिक नेतृत्वमा अग्रसर हुन थाले ।

४) थारु आन्दोलन र मानव अधिकारमा नयाँ मोड थारु समुदायबाट सुरु भएको यो आन्दोलन केवल स्थानीय मुद्दा रहेन, यो राष्ट्रिय बहसमा रूपान्तरण भयो । यसले नेपालमा श्रम अधिकार, दासत्व उन्मूलन र सामाजिक समानताबारे चेतना फैलायो । यसले नीति निर्माणमा नागरिकको सक्रिय भूमिका देखायो र अन्य शोषित वर्गका आन्दोलनका लागि मार्गनिर्देशन प्रदान ग¥यो ।

५) मुक्त कमैयाको आन्दोलनको परिणाम पहाड रहेको हलिया प्रथा पनि अन्य भएको छ । कारण हलिया संगठित भए र अधिकार मागेर मात्रै मुक्त घोषणा गर्न बाध्य ।

वर्तमान चुनौतीहरू :

कमैया प्रणाली समाप्त भएको २५ वर्ष बितिसक्दा पनि मुक्त कमैयाहरूले अझै विविध चुनौतीहरूको सामना गरिरहेका छन् । यी चुनौतीहरूले उनीहरूको जीवनस्तर सुधारमा ठूलो बाधा पु¥याइरहेका छन् । 

प्रमुख चुनौतीहरू यसप्रकार छन :

१) भूमिहीनता कायम कमैयामुक्ति अभियानले धेरै परिवारलाई भूमिसहित पुनर्वास गराए पनि, अझै हजारौं परिवार भूमिहीन छन् । राष्ट्रिय तथ्याङ्क अनुसार, २०२३ सम्म करिब ९५३ परिवार (विशेषतः कैलाली र कञ्चनपुरमा) पुनर्वासको पर्खाइमा छन् । भूमिहीनता हुँदा कृषि कार्य सम्भव हुँदैन र परिवारहरू गहिरो गरिबीमा थुनिएका छन् ।

२) जमिनको गुणस्तर खराब छन् । सरकारबाट बाँडिएको जग्गा प्रायः नदी किनार, जंगलको सिमाना, र प्रकोप प्रभावित क्षेत्रहरूमा पर्ने भएकाले उर्वरता र उत्पादकता कम छ । यसले कृषिमा आत्मनिर्भर बन्न कठिनाइ ल्याउँछ । साथै, यी क्षेत्रहरूमा प्रायः बाढी, पहिरो, डढेलो जस्ता प्राकृतिक प्रकोप बढी हुने भएकाले जीवनयापन जोखिमपूर्ण छ ।

३) शिक्षा र स्वास्थ्य पहुँच न्यून छ । थारु समुदायका बालबालिका विद्यालयमा पहुँच कमजोर छ । कमलरी प्रथा अझै केही ठाउँमा देखा पर्ने र बालबालिकाको निरन्तर पढाइमा बाधा पु¥याउने समस्या कायमै छ । स्वास्थ्य सेवामा पनि पहुँच सीमित छ, प्राथमिक स्वास्थ्य केन्द्रहरूको दूरी र सेवा गुणस्तर कमजोर हुँदा रोगको रोकथाम र उपचारमा समस्या छ ।

४) रोजगारी अभाव र वैदेशिक रोजगारमा निर्भरता हुनु पर्ने बाध्यता छ । स्थानीय रोजगारीको अभावका कारण करिब ७० प्रतिशत मुक्त कमैया परिवार वैदेशिक रोजगारीमा निर्भर भएका छन् । कमैया परिवार थारू समुदायको भएकोले पहिले कामका लागि विदेश जाने चलन थिएन । यसले परिवारका सामाजिक संरचना र आर्थिक स्थिरतामा नकारात्मक प्रभाव पारिरहेको छ । विदेशमा काम गर्दा उनीहरूले भोग्ने दुव्र्यवहार र जोखिमहरू पनि धेरै छन् ।

५) जग्गा नामसारी समस्या र सरकारी अनुगमनको अवस्था कमजोर छ । जग्गा हस्तान्तरण प्रक्रिया अधुरो रहेको छ । नामसारीमा प्राविधिक, प्रशासनिक समस्या र भ्रष्टाचारका कारण बाँकी परिवारले आफ्नो जग्गामा पूर्ण अधिकार पाउन सकेका छैनन् । सरकारी अनुगमन र पुनर्वास कार्यक्रमहरू प्रभावकारी नभएकाले नीति र कार्यक्रमहरूको कार्यान्वयनमा ठूलो समस्या देखिन्छ । स्मार्ट लक्ष्यहरू नेपाल सरकार र सम्बद्ध निकायहरूले कमैयामुक्ति अभियानलाई आगामी दिनमा समृद्ध र दिगो बनाउने लक्ष्यसहित खाका तयार गर्नु पर्दछ ।

प्रमुख स्मार्ट लक्ष्यहरू :

१) सबै मुक्त कमैया परिवारलाई कृषि योग्य, जोखिम रहित र सहज पहुँच भएको जमिन उपलब्ध गराउने ।
२) दर्ता र नामसारी प्रक्रिया पूर्ण पारदर्शी र द्रुत बनाउने
३) १०० प्रतिशत बालबालिकाको विद्यालयमा पहुँच
४) कमलरी प्रथा पूर्णरूपमा उन्मूलन
५) बालबालिकाको निरन्तर शिक्षामा पहुँच सुनिश्चित गर्न छात्रवृत्ति, पोषण र स्वास्थ्य कार्यक्रम 
६) ८० प्रतिशत रोजगारी दर (कृषि बाहेक), स्वरोजगार, साना उद्योग, सेवा क्षेत्रमा रोजगार सृजना तथा युवाहरूलाई प्राविधिक, व्यवसायिक तालिम मार्फत सक्षम बनाउने
७) महिला नेतृत्व ५० प्रतिशत 
८) महिला सहकारी, सामाजिक संस्था र स्थानीय शासनमा नेतृत्वदायी भूमिकामा समावेशीकरण
९) लैङ्गिक समानता सुनिश्चित गर्न विशेष नीति र कार्यक्रम
१०) १०० प्रतिशत स्वास्थ्य बीमा कवरेज सबै परिवारलाई स्वास्थ्य बीमा अन्तर्गत पु¥याउने 
११) प्राथमिक स्वास्थ्य सेवा, मातृ–शिशु स्वास्थ्य, पोषणमा केन्द्रित कार्यक्रम

थप प्रगतिशील लक्ष्यहरूः

१) सामाजिक सुरक्षा प्रणालीमा पूर्ण समावेशीकरण
२) वृद्धावस्था, अपाङ्गता र विपन्नताको लागि सामाजिक सुरक्षा सुनिश्चित
३) दैनिक जीवनमा आर्थिक सुरक्षाका लागि न्यूनतम आय ग्यारेन्टी
४) सामुदायिक नेतृत्व र नीति निर्माणमा सहभागिता ७० प्रतिशत 
५) मुक्त कमैया र थारु समुदायका सदस्यहरूलाई स्थानीय तहदेखि संघीय सरकारसम्म नीति निर्माणमा सक्रिय सहभागी बनाउने ।
६) पर्यावरणीय दिगोपना र जोखिम न्यूनीकरण
७) बाँडिएको जमिनमा वातावरणीय संरक्षण, बाँध र सिँचाइको विकास ।
८) प्रकोप व्यवस्थापन र आपतकालीन तयारी प्रणाली विकास ।
९) डिजिटल पहुँच र सूचना प्रविधि समावेशीकरण
१०) मुक्त कमैयाका परिवारलाई डिजिटल शिक्षा, बजार र सरकारी सेवा पहुँचमा सक्षम बनाउने ।
११) सूचना प्रविधिको प्रयोगबाट सामाजिक तथा आर्थिक विकासलाई तीव्रता दिने ।

निष्कर्षः घोषणा होइन, जीवनमा कार्यान्वयन

कमैयामुक्ति केवल कानुनी घोषणा मात्र होइन, यो सामाजिक न्याय र मानव गरिमाको संघर्ष हो । कानुनी रूपमा दासत्व अन्त्य गरिए पनि वास्तविक स्वतन्त्रता तब मात्र सम्भव हुन्छ जब मुक्त कमैयाहरूलाई भूमि, रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत अधिकारको सुनिश्चितता हुन्छ । २५ वर्षपछि पनि हजारौं परिवार भूमिहीन, रोजगारीविहीन र अवसरविहीन अवस्थामा छन् भने हामीले बुझ्नुपर्छ—घोषणाले इतिहास लेख्छ, तर कार्यान्वयनले जीवन बदल्छ ।

अब समय आएको छ :

✔ भूमिहीनतालाई पूर्ण अन्त्य गर्ने
✔ रोजगारी र सीपयुक्त अर्थतन्त्र निर्माण गर्ने
✔ शिक्षामा शतप्रतिशत पहुँच र लैङ्गिक समानता सुनिश्चित गर्ने
✔ स्वास्थ्य सुरक्षा र सामाजिक सुरक्षा सबैलाई उपलब्ध गराउने

कमैया मुक्ति केवल एक अतितको अभियान होइन, यो भविष्यको दिगो विकास र समतामूलक समाजको लागि अनिवार्य शर्त हो । यसलाई घोषणाबाट व्यवहारमा ल्याउनु हाम्रो साझा जिम्मेवारी हो । सरकार, समुदाय, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदार सबैको । अभियानलाई आन्दोलनमा रूपान्तरण गरौं । यस्तो इतिहास बनाऔं जसले अर्को पुस्तालाई गर्व दिलाओस् ।

(कमैया महिला जागरण समाज बर्दियामा कार्यरत चौधरी मुक्तकमैया अभियन्ता हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments