नेपालमा सिपमूलक, व्यावहारिक र जीवन उपयोगी शिक्षा कागजमा मात्रै सिमित
हरि प्याकुरेल (सी), २५ साउन, बर्दिया । शिक्षा कुनै पनि देशको समृद्धि र व्यक्तिको समुन्नतिको मेरुदण्ड हो । तर वर्तमान विश्वमा केवल किताबी ज्ञानले मात्र जीवन सहज र सफल बनेको छैन । त्यसैले आजको युगमा सिपमूलक, व्यावहारिक र जीवन उपयोगी शिक्षा अनिवार्य भएको छ । यस्तो शिक्षाले व्यक्तिलाई आत्मनिर्भर, दक्ष र जीवनका विभिन्न पक्षसँग लड्न सक्षम बनाउँछ । चीनको शिक्षा प्रणाली यस दृष्टिकोणमा उत्कृष्ट उदाहरण बनेको छ ।
१) सिपमूलक शिक्षा
चीनमा विद्यालय तहदेखि नै सिप सिकाउने परम्परा विकसित गरिएको छ । शिक्षामा सरकारले ठूलो लगानी गरेको छ । विद्यार्थीहरूलाई औद्योगिक मेशिन, इलेक्ट्रोनिक्स, कृषि, पर्यटनजस्ता क्षेत्रमा व्यावसायिक तालिम दिइन्छ । अर्थात कक्षाकोठा र काम दुवै सँगसँगै सञ्चालन हुने प्रणालीलाई चीनले अपनाएको छ, जुन जर्मनीको मोडेलबाट प्रभावित हो । यसले विद्यार्थीहरूलाई सीप सिक्दै आम्दानीको अवसरसमेत दिन्छ ।
२) व्यवहारिक शिक्षा
किताबी ज्ञानले मात्र होइन, प्रयोगात्मक शिक्षाबाट विद्यार्थीहरूलाई सीपमूलक बनाइन्छ । प्रयोगशालाको काम र साना उद्योग मार्फत व्यवहारमा आधारित शिक्षा दिइन्छ । विज्ञान र इन्जिनियरिङजस्ता विषयमा विद्यार्थीहरूले प्रयोगात्मक ज्ञान प्राप्त गर्छन् जसले उनीहरूको समझदारी अझ प्रगाढ हुन्छ ।
३) जीवन उपयोगी शिक्षा
शिक्षा केवल जागिरका लागि मात्र होइन, जीवन जिउन जान्नका लागि पनि हुनुपर्छ । चीनले यसलाई व्यवहारमा उतार्दै विद्यालयमा बालबालिकालाई खाना पकाउने, घर सफा गर्ने, बगैंचामा काम गर्ने जस्ता जीवन उपयोगी सीपहरू सिकाउँछ । साथै, समय ब्यवस्थापन, समूह कार्य र कुराकानीमा क्षमता जस्ता गुणहरूको विकासमा जोड दिइन्छ । सन्् २०२२ देखि चीनमा श्रम शिक्षा कक्षा १ देखि ९ सम्म अनिवार्य गरिएको छ, जसले बालबालिकालाई परिश्रमी र जिम्मेवार बनाउँछ ।
४) रोजगारमूलक शिक्षा
चीनको विश्वविद्यालय शिक्षा उद्योगसँग जोडिएको छ । विद्यार्थीहरूले ईन्टरशीप र एप्रेन्टिसशीपमा सहभागी हुने मौका पाउँछन् । विश्वविद्यालयहरूले उद्योगको माग अनुसार पाठ्यक्रम परिमार्जन गरेका छन् । उदाहरणका लागि, एआई, रोवोटिक, ग्रिन ईनर्जी, सफ्टवेयर ईन्जिनियरि∙ जस्ता क्षेत्रमा विशेष ध्यान दिइन्छ । यसले विद्यार्थीहरूलाई रोजगारको लागि तयार बनाउँछ ।
५) अनुसन्धानमूलक शिक्षा
चीनले उच्च शिक्षा क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनमा ठूलो लगानी गरेको छ । डबल फस्र्ट क्लास युनिर्भसिटी एबिल अन्तर्गत टिसिङघुवा युनिर्भसीटी, पिकि∙ युनिर्भसिटी जस्ता संस्थाहरूलाई विश्वस्तरको अनुसन्धान केन्द्र बनाइएको छ । चीनको शिक्षा प्रणालीले नवप्रवर्तन र आविष्कारमा आधारित सोचलाई प्रोत्साहन दिन्छ, जसले देशलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउँछ ।
नेपालको संविधानले शिक्षालाई प्रत्येक नागरिकको आधारभूत हकको रूपमा सुनिश्चित गरेको छ । संविधानको धारा ३१ अनुसार, प्रत्येक नेपाली नागरिकलाई आधारभूत शिक्षा निशुल्क र अनिवार्य रूपमा प्राप्त गर्ने अधिकार छ भने माध्यमिक शिक्षा पनि राज्यको दायित्वभित्र पर्छ । तर केवल किताबी शिक्षा मात्र होइन, संविधानले शिक्षा सीपमूलक, व्यवहारिक र जीवन उपयोगी हुनुपर्छ भन्ने स्पष्ट दिशानिर्देश दिएको छ । अहिले सम्म पनि २०२८ सालको शिक्षा ऐन चलिरहेको छ । नयाँ शिक्षा ऐनको लागि शिक्षकहरूले आन्दोलन गर्नु भयो तर राज्यले सुनुवाइ गरेन व्यवहारमा हाम्रो शिक्षा प्रणाली कहाँ अडिएको छ त ? राज्यले किन नयाँ शिक्षा ऐन ल्याउन आनाकानी गरेको छ । यसले गम्भीर प्रश्न खडा गरेको छ ।
आजको शिक्षाको अवस्थालाई नियाल्दा देखिन्छ कि बालविकासको जग नै कमजोर बनाइएको छ । बालविकास शिक्षकहरूलाई न त आवश्यक तालिम प्रदान गरिएको छ, न त उनीहरूको श्रमको उचित सम्मान गरिएको छ । न्यून पारिश्रमिकमा अत्यधिक कामको अपेक्षा राखिने र उनीहरूलाई शिक्षकभन्दा बढी विद्यार्थीका गोठालोको भूमिकामा सीमित गरिएको छ । शिक्षाको सुरुवाती चरणमा गुणस्तरहीन पहुँचले दीर्घकालीन प्रभाव पार्नसक्छ—बालबालिकाको सामाजिक, भावनात्मक, र संज्ञानात्मक विकासमा समस्या देखिन्छ ।
कक्षा १ देखि ५ सम्मका बालबालिकालाई रटाइमा आधारित पठनपाठन गरिन्छ । ज्ञानको गहिराइभन्दा किताबी लाइन कति सम्झन सकिन्छ भन्नेमा ध्यान दिइन्छ । स्थानीय तहले परीक्षा लिएर मूल्याङ्कन गर्ने भनिए पनि त्यो पनि अङ्ककै भरमा गरिन्छ । कक्षा ६ देखि ८ सम्म पनि यही प्रवृत्ति दोहोरिन्छ । सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्ने कुनै अभ्यास गराइँदैन । कक्षा ८ मा स्थानीय तहद्वारा परीक्षा लिइन्छ र पास–फेलको प्रतिशतकै आधारमा विद्यालय र विद्यार्थीको मूल्याङ्कन गरिन्छ ।
कक्षा ९ र १० मा कतैकतै प्राविधिक धारहरु पनि समावेश गरिएका छन् तर ती पनि व्यवहारिकभन्दा किताबी ज्ञानमै सीमित छन् । विज्ञान र गणित जस्ता विषयहरू पनि प्रयोगात्मक अभ्यासबिना पढाइन्छन् । कक्षा १० मा बोर्ड परीक्षा हुन्छ जुन अझै पनि ‘पास–फेल’ र अंकको प्रतिस्पर्धामा सीमित छ । ११ र १२ कक्षामा पनि यही ढर्राको बोर्ड परीक्षा प्रणाली जारी छ । पढाइमा व्यवहारिकता ल्याउने भनेर विभिन्न विषयहरू खुलाइएका छन्, तर पढाइको तरिका अझै किताबी ज्ञानमै सिमित छन । परिणामस्वरूप १२ पास गरेपछि विद्यार्थीहरू विदेशतिर आकर्षित हुन्छन् । जो आर्थिक रूपमा सक्षम छन्, उनीहरू अस्ट्रेलिया, अमेरिका, जापान वा युरोपतिर जान्छन् ।
अरू खाडी मुलुकतिर श्रम बेच्न बाध्य हुन्छन् । नेपालमै बस्ने थोरै विद्यार्थीहरू विश्वविद्यालयमा नाम लेखाएर पार्ट टाइम जागिर गर्दै अध्ययनलाई चालु राख्ने प्रयास गर्छन् । स्नातक (ब्याचलर) र स्नातकोत्तर (मास्टर) तहसम्मको डिग्री हात पारे पनि, अधिकांशको हातमा सीप हुँदैन । रोजगारको लागी पहुँच पावर हुन पर्छ । उनीहरूले पढेको कुरा व्यवहारमा प्रयोग गर्न सक्दैनन्, जसले गर्दा अन्ततः बेरोजगारी बढिरहेको छ । शिक्षा जीवनको मेरुदण्ड मात्र होइन, देशको समृद्धिको मूल आधार पनि हो। आजको युगमा केवल किताबी ज्ञानले जीवन चल्दैनस त्यसैले शिक्षा सिपमूलक, व्यावहारिक र जीवन उपयोगी हुनु आवश्यक छ ।
चीनले यिनै पक्षहरूलाई प्राथमिकतामा राखेर आफ्नो शिक्षा प्रणालीलाई यथार्थमै क्रियाशील बनाएको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको संरचना व्यवहारिकता, सीप विकास, रोजगारी र नवप्रवर्तनमा केन्द्रित छ । त्यसैले आजको दिनमा बिश्वको ध्यान चिनमा गएको छ । २०२८ सालको डोको नाम्लो बुन्न सम्मको सीप नसशिकाउने शिक्षा नीति हैन । अब नेपालको भूगोल सुहाउँदो नेपाली माटोलाई माया गर्ने खोज अनुसन्धानमा आधारित शिक्षाको परिकल्पना भएको समाजवादी शिक्षा नीति आजको मुख्य आवश्यकता हो । सिपमूलक, व्यावहारिक र जीवन उपयोगी शिक्षालाई व्यवहारमा लागूगर्दै उत्पादनसंग जोडेमा मात्रै नेपालको शिक्षा प्रणालीले युवाहरुलाई आत्मनिर्भर, सक्षम र भविष्यप्रति आशावादी बनाउन सक्छ । यही बाटो समृद्ध नेपाल निर्माणको आधार बन्न सक्छ ।
(प्याकुरेल अखिल (समाजवादी) का केन्द्रिय सदस्य तथा बाँके र बर्दिया जिल्ला इन्चार्ज हुनुहुन्छ ।)
६ °C काठमाडौं
Facebook Comments