• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
हे श्रीकृष्ण को हौ तिमी ?

राजेन्द्रप्रसाद धिताल, ३१ साउन, बर्दिया । कविता ।

हे श्री कृष्ण,को हौ तिमी ?
महान कविका, अद्भुत कविता हौ
या शाश्वत जगत नियन्ता, सर्वशक्तिमान 
परमसत्ता, कहाँ छौ तिमी ?
मूर्त स्वरुप पत्थर  भएर, मन्दिरमा छौ
या अमूर्त अध्यात्म ज्योति बनेर, प्राणीका मन मन्दिरमा छौ 
नजर अनुसार, पृथक  छौ तिमी 
रहर अनुसार पृथक, मत अनुसार पृथक छौ तिमी 
पथ अनुसार पृथक, म कुनै मतको नजिक छैन 
म कुनै पथको नजिक छैन, त्यसैले 
भारी अन्योलका बीचबाट, म तिमीलाई  खोजिरहेछु,सोधिरहेछु
मैले बाल्यकालमा, श्री व्यासका लयबद्ध कवितामा 
तिम्रो बाललीला देखेको हुँ, तिम्रो रासलीला हेरेको हुँ 
हे श्री कृष्ण, मैले तिमीमा विविधा देखेको छु
प्रेमीका निम्ति रङीन, दुश्मनका निम्ति रंगहीन 
साधुका निम्ति निर्मल, दुष्टका निम्ति निर्मम
कोमल पनि तिमी, कठोर पनि तिमी 
मैले तिमीलाई, आत्मीयहरुका अगाडि 
कोमल भएको देखेको छु
आततायीहरुका अगाडि, निर्मोही भएको देखेको छु
तिमीले अपमान भोगेका छौ, उत्पीडन देखेका छौ
र पलपलमा, पथपथमा तिमीले
अत्याचारको प्रतिवाद गरेका छौ, अनाचारको सामना गरेका छौ
सज्जनको संरक्षण गरेका छौ, दुष्टको सर्वनास गरेका छौ
यी सव परिघटना, मैले कोमल बालापनमा
निर्निमेष हेरेको छु, र म सर्वथा 
तिम्रो समीप रहेको छु, हे श्री कृष्ण एक दिन तिमीले, 
आफ्नी जीवन सङ्गिनी रुक्मिणीसग ठट्टा गर्दै भनेका थियौ
प्रिय मसँग केही छैन र केही नहुनेहरु नै मलाई प्रेम गर्छन् 
हे कृष्ण, मेरो कलिलो मनलाई छोएको यो कुराले र आज पर्यन्त म सम्झिरहन्छु,
जसको कोही छैन, त्यसको तिमी छौ
हे श्री कृष्ण, तिमी जो भए पनि जहाँ भए पनि
तिमी उत्पीडितहरुका सहारा हौ, केही नहुनेहरुका कोही नहुनेहरुका
तिमी आशा, विश्वास र भरोसा हौ, मलाई पनि लाग्छ यो अनित्य संसारमा
मेरो केही छैन, मेरो कोही छैन त्यसैले 
म तिमीलाई आफ्नो मान्छु, तिमीलाई आफूभित्र भएको ठान्छु 
(साहित्यकार धिताल बर्दियाली साहित्य समाज बर्दियाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments