अभिभावकत्वको खोजीमा स्थानिय मिडिया
यादव आचार्य, गुलरिया, पुष ४ । ठूला ठूला उद्योगधन्दा, कलकारखानाको अभाव लगायत सरकारी कार्यालयहरुको स्थानिय स्तरमा विकेन्द्रिकरण हुँदा बर्दियाका मोफलमा संचालन रहेका मिडियाहरु विरामी अवस्थामा छन् । बर्दियाका कतिपय संचार माध्यमहरु नियमित, अनियमित तथा बन्द हुने र बन्द भैसकेका अवस्थामा छन् ।
जिल्लामा मिडिया उद्यमीहरुले एकतर्फी रुपमा मिडियाहरुमा निजी लगानी लगाई रहँदा पनि यहाँको विज्ञापन श्रोत कमजोर भएका कारण संचार ब्यवसाय धराशायी बन्दै गैरहेका छन् । बर्दियाबाट प्रकाशन हुने एक दर्जन पत्रपत्रिका, ८ वटा एफएम रेडीयो र केही अनलाईन पत्रिकाहरुको अवस्था चिन्ताजनक छन् । नागरिकको सूचनाको अधिकार रक्षा गर्ने हेतुले स्थापित संचारमाध्यमहरु लगायत त्यसमा कार्यरत सञ्चारकर्मीहरु विभिन्न आरोप प्रत्यारोपहरुको शिकार बन्नु पर्ने अवस्था छ । सूचनाका सम्बाहकहरु दिनप्रतिदिन असुरक्षित बन्दै गैरहेका छन् । पत्रकारहरु विभिन्न धम्की लगायतका असुरक्षाका विच संचारकर्म गर्नु परेको अवस्था छ । यस्तो अवस्थामा सिंगो नागरिक समाजले मननगर्दै सहज बाताबरण निर्माणोन्मुख कार्य गर्नुपर्ने आवस्यकता खट्किएको महशुस हुन थालेको छ । पत्रकारहरु विभिन्न मिडियामा आबद्ध भएपनि परिश्रम अनुसारको पारिश्रमीक नपाउँदा पलायन हुने अवस्था देखिन थालेको छ ।
बर्दियाबाट संचालनमा रहेका संचारमाध्यम र संचारकर्मीहरुको अभिभावको रुपमा स्थानिय सरकार छ । स्थानिय सरकारले मिडिया निति निर्माण गरी लागु गर्न नसक्दा समस्या उत्पन्न भएको अवस्था छ । जसका कारण समानुपातिक विज्ञापन निति नभई पहुँचको भरमा विज्ञापन वितरण गर्ने दुरुपयोग बढ्न थालेको पाईन्छ । अब स्थानिय सरकारले स्थानिय मिडियाहरुको अभिभावकत्व ग्रहण गर्न ढिला गर्नु हुँदैन । नागरिकको सुचनाका पहरेदार मिडियामा कार्यरत पत्रकारहरुको जीवन एवम् जिविकोपार्जनको चिन्ता लिने निकाय नहुँदा टुहुरो जस्तो बन्नुपर्ने अवस्था छ । आवस्यकता पर्दा पत्रकारहरुलाई चौथो अंग भनेर फुर्को लगाउने तप्काहरु उनीहरुलाई प्रयोगमा ल्याउने दाउँमा मात्र बस्नु बर्दियाकै समग्र बिकासको लागि घातक हो । राज्यका विभिन्न निकायहरुमा पत्रकारहरुलाई तेजोवध गर्ने, आफ्नो अनुकुल बनाउनमा प्रयत्नशिल गर्ने गरेको पाईन्छ । यस्तो हर्कत सबैका लागि र्दुभाग्य हो । पत्रकारहरुलाई आफू अनुकुल नभई सर्वानुकुल बनाउन तर्फ सबैको ध्यान जानु जरुरी छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ७ बाट प्रकाशित बबई साप्ताहिक पत्रिका प्रकाशनको २१ बर्ष पूरा गरी २२ औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा यस साप्ताहिक पत्रिकाको अविरल, निरन्तर प्रकाशनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । पत्रिकाको प्रकाशन मण्डललाई पनि बधाई दिन चाहान्छु । परिस्थितीको अनेकन आरोह अवरोह पारगर्दै प्रेस काउन्सिल नेपालको ख बर्गमा बर्गिकृत हुन सफल पत्रिकाको आगामी प्रकाशन यात्रा सहजताको लागि शुभेच्छा गर्दछु । पछिल्लो समय प्रविधिको विकाससँगै छापा संचारमाध्यममा आएको पाठक संकुचनबाट कुनैपनि पत्रपत्रिका अछुतो छैनन् । तर पनि बबई साप्ताहिक पत्रिकाले लोकप्रियता चिरस्थायीराख्दै अघि बढ्ने बाटोमा अग्रशर भएको महशुस गरेको छु ।
पत्रकारिता गरिमामय बौद्धिक पेशासँगै नागरिक सेवा पनि हो । पत्रकारिता ब्यवसायमा अविस्वास, घृणा, लज्जा एवम् त्रसित अवस्था आउन नदिनु कुशल पत्रकारिताको धर्म पनि हो । पत्रकार पीडितको भगवान हो । कतिपय नागरिकहरु आफ्ना समस्या एवम् पीडा सम्बोधन होला भन्ने हेतुले प्रहरी, प्रशासन, सम्वन्धित निकायहरुमा भन्दा पहिले पत्रकारहरुलाई विनम्र भएर सुनाउने गर्छन् । पीडीतहरुको विनम्रता, विस्वास र भरोसा माथी हामी पत्रकारहरुले खुराफात गरी थप पीडित नबनाई उनीहरुको घाउमा मल्हम लगाउन सक्नु नै हाम्रो सच्चा पत्रकार एवम् पत्रकारिता हुनेछ । जसका लागि पत्रकारले नैतिक, मुल्य, मान्यतासँगै पत्रकार आचारसंहिताको पूर्ण पालनामा तत्परता दर्शाउनु आवस्यक छ । तशर्थ बर्दियाका नागरिक, शासक बर्ग एवम् पत्रकारहरुको एउटै लक्ष्य समृद्ध बर्दियाको मूल मन्त्र लिई अघि बढ्न सके बर्दियामा सबैमा समृद्धि छाउनेमा दुईमत छैन । अस्तु ।
(आचार्य नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष हुनुहुन्छ ।)
Facebook Comments