राजनितिक दलका आन्तरिक संरचना “सर्पनाथको ठाउँमा नागनाथ”
मुकुन्द अर्याल, मंसिर २७, बर्दिया । बिश्व स्तरमा ७० बर्ष उमेर कटेका प्रभाबशाली नेताहरुमा क्यामरुन पावल बिया ९२ वर्ष, साउदी अरब राजा सलमान बिन अब्दुलअजीज ८९ वर्ष, संयुक्त राज्य अमेरिका डोनाल्ड ट्रम्प ७८ वर्ष, ईरान अली खामेनेई ८६ वर्ष, भारत नरेन्द्र मोदी ७४ वर्ष, रूस भ्लादिमिर पुतिन ७२ वर्ष, चीन सी जिनपिङ ७२ वर्ष हरुको नाम खुबै लिने गरिन्छ ।
हाम्रो देशमा पनि अहिले हाम्रा नेतागणहरुबाट बारम्बार यी नेताहरुको नाम र उमेर उच्चारण हुने गरेको छ । त्यो पनि एउटा प्रसङ्गको लागि मात्र । ती बिकसित र शक्तिशाली राष्ट्रहरुको कुसल नेतृत्व सत्तरी प्लसका नेताबाट हुन सक्छ भने नेपालमा किन “बुढा नेता“ भनेर भष्य तयार गरिएको छ ? सङ्गसङ्गै उहाँहरुबाट एउटा प्रसङ्ग भने जोडिदैन । किन बिश्व स्तरका ती नेताहरू निकै लामो समयदेखि राजनितिमा रहेकाछन ? किन जनताबाट बिस्वास गरिन्छन ? किन पटकौ देशको नेतृत्वमा पुग्छन र बारम्बार पुर्याइन्छन ? जुन कुरा ध्यान दिनुपर्ने हो र चर्चा हुनुपर्ने हो त्यो उहाँहरुबाट उच्चारण समेत हुदैन । हुन्छ त मात्र उहाँहरुको उमेर । उहाँहरुलाई लाग्दो हो, काम र प्रभाबकारिता तपशीलका कुरा हुन । राजनितिमा उमेरको बार लगाउन पाइदैन ।
माथी उल्लेखित नेताहरू लामो समयसम्म नेतृत्वमा रहन सक्नुको मुख्य कारण उनीहरूले जनतामा पैदा गरेको गहिरो विश्वास हो । जुन स्थिरता, अनुभव, ठोस जनपक्षीय कामकाज र देशको विकास तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन सक्ने खुबीबाट उत्पन्न भएको हो । उदाहरणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले “स्वच्छ भारत अभियान”, “प्रधानमन्त्री ग्रामीण आवास योजना” जस्ता अनेकौ जनपक्षीय कार्यक्रम मार्फत जनतामा प्रत्यक्ष लाभ पु¥याएका छन् । त्यस्तै “प्रधानमन्त्री कौशल विकास योजना” मार्फत लाखौँ युवालाई रोजगारको अवसर सिर्जना गरेका छन् ।
उनले डिजिटलाइजेशन र स्टार्टअप प्रर्बद्धनमा लगानी गरेर आईटी र डिजिटल सेवा क्षेत्रमा ठूलो वृद्धि गरेका छन । जसले देशको जीडीपी बृद्धि दरमा सकारात्मक प्रभाव पारेको छ । चीनका सी जिनपिङले ग्रामीण विकास र पूर्वाधार निर्माणमा ठूलो लगानी गरेका छन् । यसका साथै “मेड ईन चाईना २०२५” कार्यक्रम कार्यान्वयनमा ल्याएका छन । यो कार्यक्रम चीनको औद्योगिक रूपान्तरण र प्रविधिक स्वाधीनता सम्बन्धी एक अत्यन्त रणनीतिक र दीर्घकालीन राष्ट्रिय नीति हो । जसको उद्देश्य चीनलाई परम्परागत, श्रमप्रधान उत्पादन माथि निर्भर अर्थतन्त्रबाट हटाएर उन्नत प्रविधि, नवप्रवर्तन नियन्त्रित र उच्च गुणस्तरीय औद्योगिक संरचनातर्फ अभिमुख गराउनु हो ।
यस अभियानले उद्योगलाई स्वचालित, डिजिटलीकरण र स्मार्ट प्रणालीमा आधारित बनाउँदै रोबोटिक्स, एरोस्पेस, उच्च प्रविधियुक्त सवारी साधन, सेमीकन्डक्टर, बायोमेडिकल उपकरण, नयाँ सामाग्री, ऊर्जा प्रविधि जस्ता रणनीतिक क्षेत्रहरूमा स्वदेशी क्षमताको निर्माण र विस्तारलाई जोड दिएको छ । विदेशी प्रविधि तथा आपूर्तिमा दीर्घकालीन निर्भरता कमगर्दै स्वनिर्भर अनुसन्धान, घरेलु नवप्रवर्तन, उच्च–मूल्यवर्धित उत्पादन र गुणस्तरीय निर्यातलाई प्रोत्साहन गर्नु यसको केन्द्रीय लक्ष्य हो । यसले चीनभित्र उत्पादन दक्षता, रोजगारी, अनुसन्धान÷विकास (आर एण्ड डी), निर्यात प्रतिस्पर्धा र समग्र आर्थिक संरचनालाई आधुनिक बनाउने आधार तयार गर्छ ।
परिणामस्वरूप, “मेड ईन चाईना २०२५” ले चीनलाई आगामी दशकहरूमा विश्व औद्योगिक नेतृत्व, प्रविधिक स्वाधीनता र आर्थिक सुरक्षा को दिशामा उभ्याउने राष्ट्रिय रूपान्तरण परियोजनाको रूपमा स्थापित गरेको छ । क्यामरुनमा पावल बियाले दीर्घकालीन सुरक्षा र प्रशासनिक स्थायित्व कायम गर्दै आन्तरिक अर्थतन्त्रलाई सुधार गरेका छन् । साउदी अरबमा शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्र सुधार मार्फत जनताको जीवनस्तर उकास्ने काम भएको छ । तेल उद्योग र हरित ऊर्जा क्षेत्रमा लगानी बढाएर देशको आर्थिक शक्ति र विश्वस्तरमा प्रभाव बढाएका छन् । रूसका भ्लादिमिर पुतिनले ऊर्जा, उद्योग र सैन्य सुदृढीकरण मार्फत राष्ट्रिय सुरक्षा, आर्थिक उन्नति र देशको स्वाभिमान वृद्धि गरेका छन् ।
यसरी रोजगारी सिर्जना, आर्थिक बृद्धिदर, प्राविधिक विकास, राष्ट्रिय सुरक्षा, जीवनस्तर सुधार र अन्तर्राष्ट्रिय प्रतिष्ठा सबै मिलेर यी नेताहरूलाई दीर्घकालीन सक्रियता र शक्तिशाली नेतृत्व कायम राख्न सक्षम बनाएको छ । जनताको चाहाना बमोजिम राष्ट्रिय हित र स्वाभिमान बढाउदै देशको लागि काम गरेकै कारण जनताहरुको उनिहरुमाथि बिस्वास बढेको हो । देशले खोज्ने राष्ट्रिय प्रगती हो । यस्तो अबस्थामा नेतृत्व गर्ने नेताको उमेरले कुनै अर्थ राख्ने कुरै भएन । त्यस्तो अबस्थामा उमेर त मात्र एउटा अंकको रुपमा मात्र रहन्छ र बहसको बिषय बन्दैन ।
तर हामीकोमा प्रसङ्ग माथी उल्लेख भएजस्तो छैन । उमेर ७० आसपास नै छ तर चालिस/चालीस बर्ष सम्म बारम्बार नेतृत्वमा पठाइरहदा पनि देशले मुहार फेर्न सकेको छैन । न देशको स्वाभिमानमै वृद्धि भएको छ । न उत्पादन बढेको छ न त उत्पादकत्व । रोजगारीका अबसर सिर्जना हुनै सकेनन । उद्यमशिलता बिकास हुन सकेन । बरु भएका उद्योग निजीकरणका नाममा ध्वस्त पारिएको छ । शिक्षा चाहे विद्यालय स्तरको होस या विश्वविद्यालय स्तरको गुणस्तर खस्किदो छ । निर्यातको तुलनामा आयात दिनप्रतिदिन बढिरहेको छ । मानव श्रम निर्यात गरेर रेमिट्यान्सबाट सरकार चलाउने जस्तो अत्यन्तै निकृस्ट स्तरमा देश पुगेको छ ।
देशको पासपोर्ट विश्वमै कमजोर स्तरमा आइपुगेको छ । राष्ट्रिय सुरक्षाको अबस्था इतिहासकै कमजोर अबस्था छ । आन्तरिक सुरक्षाको अबस्थापनि खस्कँदो छ । सक्षम जनशक्ति देश छोडेर बाहिरिने प्रवृत्ति बढ्दो छ । वैदेशिक ऋणको मार तिब्र छ । प्राकृतिक साधनश्रोतमा निश्चित र शक्तिमा रहेका मानिसहरूको हालिमुहाली छ । स्वदेशी पूँजी बाहिरिने क्रम बढ्दो छ । परनिर्भरता बढिरहेको छ । स्वाभिमान गुमेको छ । सबै भन्दा महत्वपुर्ण कुरा आशा मरेको छ । निराशा बढेको छ । कोही कतै खुसी छैन । आखिर यो अबस्था कसले ल्यायो त ? देश संचालनको जिम्मा त बर्षौ देखि पटक/पटक हामीले त दिएकै हौ नि ! पालो पुर्याइ–पुर्याई ।
हामीले मौका पाएनौ भन्ने दल र ठुला भनिएका नेता सायद कोही बाँकी छैनन । उनीहरुले जे–जे माग्दै गए त्यही–त्यही पुर्याउदै गयौं हामी । आन्दोलन, सशस्त्र आन्दोलन, संविधान सभा, गणतन्त्र, संघीयता लगायतका याबत् कुराहरु । कैयांै बलिदानीहरु । तर अबस्था झन खस्कँदो छ । बरबादी । गरिबी । बेरोजगारी । असुरक्षा । परनिर्भरता । बेचैनी । निराशा । “कुराले भात कहाँ पाक्दो रहेछ र ? “ पछिल्लो जेन्जी बिद्रोह यहि घोर निराशाको प्रस्फुटन न हो ।
पछिल्लो चरणमा एउटा तरङ्ग आएको छ । पार्टी गठन हुदैछन । युवाको मुद्दा खुबै उठाउने गरिएको छ । पुराना पार्टीहरु महाधिवेशन र पुनःगठनको प्रक्रियामा छन् । तर सम्पुर्ण राजनितिक दलका आन्तरिक संरचना यसरी तयार गरिएका छन कि “सर्पनाथको ठाउँमा नागनाथ“ हुनेवाला मात्र छ । संरचना, विधि, नीति, शैलीमा कुनै परिबर्तनको संभावना देखिदैन । कतिपय दलमा उम्मेदवार सिफारिस हुँदैछन । अनुहार उनै चिरपरिचित । उनै चालीस बर्ष अघिका अनुहार । तर्क एउटै हो, माथि उल्लेखित देशहरुमा सत्तरी प्लसका नेताहरुले शासन गरेकै छन् । बिकसित छन् । हाम्रोमा किन हुँदैन । राजनितिलाई उमेरले छेक्दैन ।
दलहरु सङ्ग नयाँ मुद्दा नै छैन । निकासको लागि कुनै स्पष्ट रोडम्याप छैन । दलहरूको गठन र बिकासमा स्पष्ट वैचारिक, संस्थागत र ऐतिहासिक आधारलाई जोड दिइएको देखिदैन । दल निर्माणको अभ्यास वैचारिक स्पष्टता, दीर्घकालीन नीति र उत्तरदायी नेतृत्वमा आधारित नभई व्यक्तिगत लाभ, पद प्राप्ति, वा राजनीतिलाई सेवा भन्दा पनि पेशाको रुपमा बिकसित गर्ने मनोबिज्ञानमा आधारित छ । एकपटक पदमा पुगिसकेपछि सदैब त्यही शक्तिमा रहिरहन पार्टी संरचना नै त्यही परिपाटीबाट बिकसित गर्ने, गुलामी गर्ने र आफ्नो भजन गाउने भजन मण्डली तयार गर्ने काममा उनिहरु लागिपरेका छन । नेतृत्व हस्तान्तरण गर्न सकभर कुनै नेतृत्व तयार छैन ।
अध्यक्षबाट संयोजक बन्ने या पदिय नाम परिबर्तन गर्ने तर छक्का पन्जा जे गरेर हुन्छ शक्तिमा रहिरहने रणनीतिमा राजनीतिक शक्ति लागिपरेको छ । यसको लागि हर कुरासङ्ग सम्झौता गर्न उनिहरु तयार छन । देश र जनता प्राथमिकतामा भन्दा पनि आफ्नो पद, सत्ता र नितान्त आफ्नो स्वार्थ प्राथमिकतामा रहेको महशुस हुन्छ । अहिलेको राजनितिक नेतृत्वले बुझ्न सकिरहेको छैन कि कम्युनिष्ट घोषणापत्र लेखिरहदा कार्ल माक्र्स ३० र एंगेल्स २८ वर्षका मात्रै थिए । लेनिनले ४५ वर्षको उमेरमा रसियन समाजवादी क्रान्तिको सफल नेतृत्व गरेका थिए । २८ वर्षको उमेरमा कम्युनिष्ट पार्टीको संस्थापक हुँदै माओत्सेतुङ ५५ वर्षको हुँदा चीनमा क्रान्ति सम्पन्न भएको थियो ।
वीपी कोइराला गृहमन्त्री हुँदा ३५ वर्ष वरिपरिका थिए । मदन भण्डारी ३९ वर्षको उमेरमा पार्टीको महासचिव बनेका थिए । माधवकुमार नेपाल ४० वर्षको उमेरमा परराष्ट्रमन्त्री भएका थिए । मोहनविक्रम सिंह ४० वर्षको उमेरमा पार्टीको महामन्त्री बनेका थिए । यिनै सिद्धान्त र दर्शन बोकेर राजनितिक दलको दुकान चलाईरहेका दलहरुले किन आफूबाहेक अरुलाई क्षमताहिन देखिरहेका छन बुझ्न कठिन छैन । किनकी सत्ता र शक्तिको स्वाद शायद अनौठो हुन्छ । आफू कुनै पनि हालतमा सत्ता÷शक्तिबाट बाहिर निस्कन नचाहाने उनिहरुको भित्रि मनशाय देखिन्छ । निश्चय नै बहस उमेरको भन्दा पनि विचार र सिद्धान्तको गरिनुपर्दछ ।
कुनै व्यक्ति युवा उमेरको छ, तर विचार र सिद्धान्त प्रतिगामी बोक्छ भने त्यसको अर्थ छैन । तर हामीकोमा त बिचार, सिद्धान्त, परिपाटी, नेतृत्व हस्तान्तरण, नेतृत्व बिकास जस्ता पक्षमा ध्यान दिदै दिइदैन भन्दा पनि हुन्छ । ठूला भनिएका राजनितिक दलहरुका अबका अधिबेशनमा हुने ७० वर्ष पुगेका नेताहरुले नै दलको नेतृत्व गर्ने देखिन्छ । हाल दोश्रो र तेस्रो तहमा रहेका नेताहरुको पालो पनि सत्तरी/पचहत्तर बर्षमा मात्र आउने देखिन्छ । यता युवा नेताहरुलाई विचार र सिद्धान्तका लागि प्रेरित गरिएन । उनीहरुको लगाव विचार र सिद्धान्तप्रति भएन । उनीहरुको लगाव पैसा कमाउनप्रति भयो । सांसद भएकाहरु समिति र मन्त्री पदका लागि मरिमेट्ने, युवा विद्यार्थीहरु तिनै मन्त्रीको पीए बन्ने ।
सरुवा बढुवामा श्रोत परिचालन गर्ने र बिचौलिया ब्यबस्थापन गर्नमै केन्द्रित रहने । नेतृत्वको खुसामत गर्ने र किचन मेम्बर हुन पाउन मै रमाउन थाले । जसका कारण केन्द्रिय नेतृत्व मनपरि ढङ्गबाट चल्न थाल्यो । गुट बलियो बनाउने र बहुमतका आधारमा शक्तिमा रहिरहने अनि त्यसको लागि ब्यभिचारी ढङ्गबाट श्रोत संकलन गर्ने परिबाटीले देश र जनताका मुद्दा ओझेलमा पर्न गए । देश बिचौलियाको हालि मुहालीमा पर्न गयो । समस्या यहि हो । यो समस्याबाट छिट्टै निकास पाइन सक्ने छाँटकाट अझ पनि छैन ।
२१ °C काठमाडौं
Facebook Comments