गणतन्त्रको बिउ रोपिएको त्यो पौष १ गते
राजेन्द्र प्रसाद धिताल, पुष १, बर्दिया । राष्ट्रको जीवनमा कुनै दिन यस्तो घटना घट्छ जुन घटनाले राष्ट्रको इतिहासको बाटो नै बदली दिएको हुन्छ । नेपालको इतिहासमा पनि पौष १ गतेको दिन अविस्मरणीय छ । आजकै दिन अर्थात पौष १ गते, २०१७ साल तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, संसदमा विपक्षी दलका नेता भरत समशेर राणा र प्रभावशाली मन्त्री गणेशमान सिंह लगायतका नेताहरुलाई सैनिक हिरासतमा लिएर जनअधिकारको अपहरण गरेका थिए ।
नेपालको इतिहासमा राजाद्वारा सार्वजनिक रुपमा चालिएको सर्वाधिक अलोकप्रिय कदम थियो यो कदम । यो कदम देश र जनताका लागि त घातक थियो नै स्वयं राजतन्त्रका निम्ति समेत प्रत्युत्पादक थियो । यही कदमका कारण नेपाली जनताका नजरमा राजतन्त्र विवादको विषय बनेको थियो । नेपालको इतिहासमा सर्वथा राजतन्त्र अत्यन्त आदरणीय संस्थाको रूपमा स्थापित थियो । नेपालमा राजतन्त्र परापूर्व कालदेखि नै अस्तित्वमा रहेको देखिन्छ । आपसी द्वन्द्व होस् या वाह्य आक्रमणका कारण नेपालमा एक वङ्शबाट अर्को वङ्शका राजाहरु अस्तित्वमा आए तर देश राजतन्त्र विहीन कहिल्यै रहेन । शाह वंशीय राजा पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरणको नेतृत्व गरे ।
राष्ट्र निर्माताका वंशज भएका कारण शाह राजाहरुप्रति नेपाली जनतामा एक प्रकारको उन्नत आस्था थियो । त्यही आस्थाकै कारण रणबहादुर शाह मारिदा पनि उनका नावालक छोरा गिर्वाणयुद्ध राजा रहे । शक्तिशाली प्रधानमन्त्री भीमसेन थापाले कमजोर अवस्थाको राजसंस्थालाई जोगाएर राखे । कोत पर्व, भण्डारखाल पर्व र अलौ पर्व जस्ता जघन्य हत्याहरुबाट राजकीय शक्तिमा उदाएका क्रूर जङ्गबहादुर समेतले राजतन्त्रको विलल्प सोचेनन । राजा राजेन्द्रलाई कैद गरे तर उनका छोरा सुरेन्द्रलाई गद्दीमा राखेर राजतन्त्र सुरक्षित राखे ।
राणा शासन क्रूर र अमानवीय थियो । त्यो शासनमा राजा बन्दी सरह थिए । नेपाली जनता राणा शासनको विरुद्ध थिए । जनता राजालाई प्रेम र आदर गर्दथे । जनताले राणा शासन विरुद्ध क्रान्ति गरे । जनक्रान्तिले राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक प्रणालीको माग गरेको थियो । त्यो क्रान्तिमा राजा स्वयं सहानुभूति राख्दथे । राणाहरुबाट सताइएका राजा देश छोडेर भारतको शरणमा गए । क्रान्तिको रापतापका कारण राणा शासन समाप्त भयो । २००७ साल फागुन ७ गते मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको घोषणा गरियो ।
जनताको सहयोगमा शक्तिमा आएका राजाले जनतालाई धोका दिए । आफूले घोषणा गरेको बाचा बिर्सदै राजा त्रिभुवन निरङ्कुश हुँदै गए । राजनैतिक दललाई फुटाउने, जनताको शक्तिलाई कमजोर बनाउने र शक्ति आफूमा केन्द्रित गर्ने षड्यन्त्रमा दरबार सकृय रहन थाल्यो । सम्बिधान सभाको निर्वाचन ओझेलमा पर्यो र मुलुकको प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध भयो । तत्कालीन नेपाली काङ्ग्रेस पार्टीले राजाको प्रतिगामी कदमका विरुद्ध सशक्त प्रतिवाद गर्यो । काङ्ग्रेसको भद्र अवग्या आन्दोलनका कारण राजा २०१५ सालमा आम निर्वाचन गराउन वाध्य भए । निर्वाचनमा काङ्ग्रेसले दुईइहाइ बहुमत प्राप्त ग¥यो, जुन राजाका लागि अनपेक्षित थियो ।
निर्वाचन परिणामका कारण राजा नेपाली काङ्ग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउन बाध्य भए । विडम्बना नेपाली राजाहरुमा प्रजातान्त्रिक चरित्र थिएन । उनले जनताका प्रधानमन्त्रीलाई हेर्न सकेनन् । प्रजातान्त्रिक रुपान्तरणलाई सहन सकेनन्, स्वीकार्न सकेनन् । उनले प्रधानमन्त्रीलाई अपदस्प गरे, व्यवस्थाको अपहरण गरे ।
पालमा पुनः शाह राजाको निरङ्कुश शासन स्थापित गरे । देश र जनताका लागि यो दुर्भाग्यपूर्ण कदम थियो । राजाको यो कर्म स्वयं राजतन्त्रको लागि पनि सही साबित भएन । मुलुकमा बिस्तारै राजतन्त्र विरोधी जनमत बन्दै गयो । त्यसकै दुरगामी परिणाम आज मुलुकमा गणतन्त्र छ, त्यो स्वयं राजाले निम्त्याएका हुन्, २०१७ साल आजकै दिन ।
धिताल बबई बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष हुनुहुन्छ ।
२१ °C काठमाडौं
Facebook Comments