• २ फागुन २०८२, शनिवार
  • ११ °C काठमाडौं
अनि चिया गफमा मोडियौ ! 

मुकुन्द अर्याल, पुष ०७, बर्दिया । मेरो नजिकको साथी उ अहिले बिदेश जाने तयारीमा छ । राम्रो सम्पन्न परिवारमा हुर्केको उसले केही समय राम्रै सङ्ग ब्यबसाय गर्यो । पैसापनि नकमाएको होइन । अत्यन्तै राम्रो जीवनशैलीमा उसले जिवनको केही समय ब्यतित गर्यो । समय न हो, समयक्रममा उसको ब्यबसाय लगभग धरासायी भयो ।

बैंकमा लगभग करोड ऋण छ । ब्याज बढ्दो छ, तिर्ने कुनै जुगाड छैन । भएको सबै अचल सम्पत्ति बैंकमा धितो छ । बेचेर व्यवहार मिलाउन खोज्यो, जग्गा किनबेच नै छैन । थप ऋण गरेर कारोबार गरोस बैंकले पत्याउदैन । फेरि एकपटक चुचुरोमा पुगेर तल झरेको मानिसलाई तलै एड्जस्ट हुनपनि गार्हो हुँदो रहेछ । अहिले उ प्रायःघर बाहिरै निस्कदैन । मोबिलिटी शून्य बराबर छ । आज भेट भयो उसङ्ग । बसेर कुरा गर्यौ अन्तरङ्ग ।  आहा कति रमाइका थिए हिजका ती दिनहरु !  

मैले उसलाई भने; तिमी एउटा अनुभबी मानिस, तिमी सङ्ग व्यावसायिक अनुभव छ । हिजोको राम्रो बजार तिमीसङ्ग छ । अबस्था सधै उस्तै रहदैन । एउटा साधारण, खुसी र सुखी जीवन जिउन उल्लेख्य पैसा हुनैपर्छ भन्ने छैन । यतै नयाँ शिराबाट केही शुरु गर । बिदेश हामीले यहाँबाट हेरे जस्तो छैन । यत्तिको जिन्दगी तिमीले अब उता गएर जिउन थप बिस÷तीस बर्ष बिताउनु पर्छ । उसले भन्छ; के गरु त दाइ ! नगएर के गर्नु । उपाए छैन । बिस÷तीस लाख त जसोतसो जम्मा गरिएला नि । करोड गयो अब बीस÷तिसलाख थप जाला । के गर्नु बिकल्प छैन । यहाँ ब्यबसाय गर्ने, मेहनत गर्ने, केही गर्छु भन्ने मानिसलाई बाताबरणै छैन । मेरो पुरानो ब्यबसायबाट बिस÷पच्चीस लाख उठाउनु होला । अब उठ्ला भन्ने आश छैन । एउटा सहकारीले सात लाख जति ठगेर हिड्यो । आफ्नो ऋण बैंकमा जस्ताको तस्तै छ ।

हिजो बाँचेको जीवनको ह्याङ्ग अझ बाँकी छ । कसरी सकिन्छ र दाइ ? बजार सुनसान छ । व्यावसायीहरु सटर भाडा तिर्न सकिरहेका छैनन् । भटाभट् ब्यबसायीहरु ब्यबसाय बन्द गर्दैछन् । हिजोको खालीठाउँ आज लौकाही (सीमावर्ती भारतीय) बजार भएको छ । हाम्रो बजार मृत बजार भैसक्यो । लागानी गर्ने, ब्यबसाय गर्ने, रोजगारी सिर्जना गर्ने, कर तिर्ने हामी जस्तालाई राज्यले कालोबजारी गर्नेको रुपमा हेर्छ । पचास थरी कर । पचासथरी झन्झट । केही गरु भन्ने सोच्यो ब्यबसाय शुरु नगर्दै हजारौ खर्च गर्नु पर्छ यहाँ । अनि कसरी ? जागिर नगर्ने स्व–ब्यबसायी बन्ने भन्ने आदर्श पालियो । तर अहिले गलत गरेछु जस्तो लागिराछ ।

आयको श्रोत केही नभएका, ब्यबसाय केही नगर्ने, ठुला महलमा बस्ने र दुई÷तीन वटा गाडी फेरि÷फेरि हिड्ने, फटिचर्याइ गर्ने, राज्यलाई एक रुपैया कर नतिर्ने मानिसलाई हाम्रो समाजले इज्जत गर्छ । लुटको धनलाई सम्मान दिन्छ । राज्यले तिनैलाई प्रश्रय दिन्छ । राज्यले तिनैको संरक्षण गर्छ । अनुदान तिनैलाई दिन्छ । क्षतिपूर्ति तिनैले पाउँछन् ।  माफी तिनैलाई हुन्छ । आयश्रोत र तिनका फुइँको कतै तालमेल छैन । हाम्रो समाज अब लगभग तेस्तै फटिचरको भैसक्यो दाइ । 
जागिर नखाऊँ, बाहिर पनि नजाऊँ आफ्नै पौरखमा केही गरौ भन्ने सोचियो । सबै पैतृक सम्पत्ती दाउमा लगाइयो । अरुको लुटेर, ठगेर कहिले खाइएन, राज्यलाई कहिले ढाँटिएन । मेहनत पनि गरियो । तर भएन ।  बाउले केही छोडेका थिए र म यहाँसम्म आए । बाँचे । अब मैले मेरा सन्तानलाई के दिने दाइ ? आदर्शले खान लाउन दिँदो रहेनछ । उ बोल्दै थियो । सकिएको थिएन । म सङ्ग पनि तेहि आदर्शका गफ बाहेक दिनु र भन्नू केही पनि थिएन । म बोलिन । तेत्तिकैमा अर्का साथी आए । बिषय मोडियो । हामी चिया गफमा मोडिंयौ ।

सम्बन्धित समाचार

Facebook Comments