कांग्रेसको योगदान नभुलौ : उम्मेदवार किशोर सिंह राठोर
केशव कोईराला, २५ माघ, राजापुर (बर्दिया) । प्रतिनिधि सभा सदस्य निर्वाचन नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ का उम्मेदवार किशोर सिंह राठोरले कांग्रेसले जिल्लाको विकास र परिवर्तनमा खेलेको भूमिकालाई नबिर्सन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुरमा आयोजित कार्यकर्ता भेटघाट तथा चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार राठौरले द्वन्द्वकालीन समयमा रुकुम–रोल्पाझैं बर्दियाको भौराक्षेत्र पनि चिनिएको स्मरण गर्नुभयो ।
तत्कालिन कठिन अवस्थामा जिल्लामा शान्ति स्थापना, पूर्वाधार विकास र सामाजिक रूपान्तरणका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ । भौराक्षेत्रको बाटोघाटो, पुल–पुलेसा, शिक्षा क्षेत्रको विस्तार तथा समग्र विकासको जग कांग्रेसकै पहलमा बसालिएको दाबीगर्दै यसअघिको निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भए पनि बर्दियामा आफूले पु¥याएको योगदानलाई स्मरण गर्न उहाँले आग्रह गर्नुभयो ।
“यदि म बर्दिया क्षेत्र नं २ बाट विजयी भएँ भने यहाँको समग्र विकासका लागि नवीनतम सोच र योजनासहित निरन्तर लागिपर्नेछु,” राठौरले भन्नुभयो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनाले नेपाली कांग्रेसले बर्दिया क्षेत्र नं २ मा त्यागी, सादगी र विकासप्रेमी नेतालाई उम्मेदवार बनाएको बताउनुभयो । उहाँले किशोर सिंह राठोरलाई विजयी बनाएर संसदमा पठाएमा बर्दियाको विकासमा कुनै कमी नआउने धारणा राख्नुभयो ।
मन्त्री तिमिल्सीनाले आफू मन्त्री भइसकेपछि भौराक्षेत्रका क्याम्पस, विद्यालय, मठमन्दिर, मदरसा लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको उल्लेखगर्दै “कसले कति र के काम ग¥यो भन्ने विषयमा अब जनतामाझ स्पष्ट रूपमा चर्चा हुन आवश्यक छ,” भन्नुभयो । कार्यक्रममा समानुपातिक उम्मेदवारद्वय मिनराज चौधरी र प्रतिमा चौधरी, नेपाली कांग्रेसका नेता गोपाल ध्वज जिसी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । वक्ताहरूले कांग्रेस नेतृत्वको सरकारबाट मात्र दिगो विकास सम्भव हुनेभन्दै आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्न आह्वान गरेका छन् ।
१७ °C काठमाडौं
Facebook Comments