• ६ वैशाख २०८३, आइतवार
  • २६ °C काठमाडौं
सशस्त्र प्रहरीद्वारा विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम 

मुरली गोडिया, ६ वैशाख, गुलरिया (बर्दिया) । बर्दियामा ‘समुदाय विपद् स्वयंसेवक आधारभूत तालिम’ चलि रहेको छ । बिहीबारबाट सुरु भएको तालिम वैशाख २४ गतेसम्म चल्नेछ ।

१८ दिन सम्म चल्ने तालिममा बर्दिया जिल्लाभरिबाट सहभागी प्रशिक्षार्थीलाई विपद् व्यवस्थापन सम्बन्धि आधारभूत ज्ञान, बाढी, पहिरो, डुबान, डोरीद्वारा गरिने उद्दार, सडक तथा यान्त्रिक दुर्घटनामा उद्दार, आगलागी नियन्त्रण, भूकम्पीय जोखिम न्युनिकरण तथा पहिलो उपचारको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिनेश महतले जानकारी दिनुभयो । 

बर्दियामा रहेको सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटरको आयोजनामा गुलरिया नगरपालिका वडा नं. ८ सुरजपुरमा तालिम सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्ष ०८२÷०८३ मा ५० जना समुदाय विपद् स्वयंसेवक तयार गर्ने कार्ययोजना रहेको समेत सशस्त्र प्रहरी उपरीक्षक महतले बताउनु भयो । अहिले सञ्चालन भएको तालिममा बर्दिया जिल्लाका ८ वटै पालिकाबाट २५ जना प्रशिक्षार्थी सहभागी भएका छन् । यो तालिम समापन पश्चात पुनः अर्को तालिम सञ्चालन हुने उहाँको भनाई छ । 

वडास्तरदेखि संघ स्तरसम्म विपद् व्यवस्थापनको बलियो संरचना भए पनि विपद्को पूर्व तयारी तथा व्यवस्थापनमा अझै कमजोरी रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनु भयो । बर्दियामा कर्णाली नदी, बबई नदी, गेरुवा नदी र मानखोलामा आउने वर्षापछिको पानीका कारण प्रत्येक वर्ष बाढी पहिरोबाट ठूलो धनजनको क्षति हुने गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटर बर्दियाको आयोजनामा जिल्ला विपद् व्यवस्थापन समिति बर्दिया, स्थानीय विपद् व्यवस्थापन समितिहरुको समन्वय र भेरी वातावरणिय विशिष्टता समुह (बिग्रुप) प्रयास–२ परियोजना अन्तर्गत तालिम सञ्चालन भएको हो ।

सम्बन्धित समाचार

Facebook Comments