• १० साउन २०८३, आइतवार
  • २६ °C काठमाडौं
राजापुरका ५ वटा सामुदायिक विद्यालय गाभिए

पुरुषोत्तम खनाल २२ जेठ, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले विद्यालय समायोजन/मर्ज गरेको छ । राजापुर नगरपालिका अन्तर्गत सञ्चालित विद्यार्थी संख्या न्यून रहेका सामुदायिक विद्यालयलाई नगर कार्यपालिकाले समायोजन गर्ने निर्णय गरेको हो । 

राजापुर नगरपालिका नगर कार्यपालिकाको मिति २०८३ जेठ २१ गतेको निर्णय अनुसार सामुदायिक विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि २०८३ को मापदण्ड अनुसार विद्यार्थी सङ्ख्या नभएको, वर्षेनी विद्यार्थी सङ्ख्या घट्दै गएको, कतिपय विद्यालयहरुमा विद्यार्थी सङ्ख्या नै न्यून भएको र नजिकैको दुरीमा अर्काे विद्यालय रहेकाले विद्यार्थीको पहुँचलाई समेत फरक नपर्ने अवस्थालाई ध्यान दिदैँ शैक्षिक गुणस्तर सुधार र प्राविधिक पहुँच, स्रोत, साधन र जनशक्तिको न्यायीक वितरण, शैक्षिक सुशासनका साथै शिक्षक विद्यार्थीको अनुपात मिलान कार्यलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न विद्यालय मर्ज गरिएको हो । 

नगरका वडा नं. २, ६ र ८ का ५ वटा विद्यालय समायोजन गरिएको शिक्षा शाखा प्रमुख शिक्षा निर्देशक टिकानाथ गोसाईले जानकारी दिनु भयो । विद्यालय गयो भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै शिक्षा निर्देशक गोसाईले विद्यार्थी कम भएकाले विद्यार्थी सारिएको विद्यालय यथास्थान मै रहेको र विद्यार्थी बढेमा फेरी कक्षा थप्ने वताउनु भयो । समायोजन भएका विद्यालयहरुमा वडा नं. २ को श्री ज्ञानदिप आ वि वर्गदहीलाई श्री नेपाल राष्ट्रिय मा वि नयाँगाउमा र श्री ज्ञानदर्शन आ वि चैनपुरलाई श्री नवज्योति आ.वि नयाँगाउँमा समायोजन गरिएको छ । 

यस्तै वडा नं. ६ को श्री नेपाल राष्ट्रिय आ.वि जोगिपुरलाई श्री मानपुर मा वि टपरामा समायोजन गरिएको छ । वडा नं. ८ को श्री मुनाल आ.वि सडुवा र श्री विद्याज्योति आ.वि ओस्ताजपुरलाई श्री भेरी मा.वि ललितापुर धोविनपुरमा समायोजन गरिएको छ । समायोजन गरिएको विद्यालयमा सञ्चालित बालविकास (ईसीडी) कक्षा भने यथावत रुपमा सञ्चालन हुने र आउने दिनमा विद्यार्थी संख्या बढेमा सोही विद्यालयमा कक्षा थपगर्दै जाने राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनु भयो । 

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक वडा नं. ५ का अध्यक्ष रमेश दहितले गहन अध्ययन र सम्पूर्ण सरोकारवाला पक्षसँगको बृहत् छलफलपछि समायोजन गरिएको र यसमा सबैको सकारात्मक सहयोग भएको बताउनुभयो । 

सम्बन्धित समाचार

Facebook Comments