• २३ जेठ २०८३, शनिवार
  • २२ °C काठमाडौं
विश्व वातावरण दिवसको अवसर पारेर राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास

केशव कोईराला, २२ जेठ, राजापुर -बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ नङ्गापुरमा विश्व वातावरण दिवसको अवसरमा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । विपदबाट जोगिने बारेमा घटना अभ्यास गरिएको छ ।

राजापुर नगरपालिका भित्रका विभिन्न समुदाय तथा सरोकारवालाहरूको सहभागितामा आयोजित उक्त अभ्यासले सम्भावित बाढीजन्य विपद्को समयमा अपनाउनुपर्ने सावधानी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा व्यावहारिक जानकारी प्रदान गरेको छ । अभ्यासका क्रममा कर्णालीनदी तटिय क्षेत्रका बासिन्दाको मोबाइलमा पानीको अबस्थाबारे म्यासेज पठाउनुका साथै बाढीको जोखिमपूर्ण अवस्थाको कृत्रिम दृश्य प्रस्तुत गर्दै सुरक्षित स्थानमा स्थानान्तरण, घाइतेको उद्धार, प्राथमिक उपचार तथा समन्वयात्मक कार्यप्रणालीबारे प्रदर्शन गरिएको हो ।

सहभागीहरूले यस्ता अभ्यासले विपद्को समयमा समुदायलाई सचेत, सक्षम र तयारी अवस्थामा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख दिपेश थारुले जलवायु परिवर्तनका कारण बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गइरहेको अवस्थामा समुदायस्तरमा पूर्वतयारी र सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले विपद् व्यवस्थापनमा स्थानीय तह, समुदाय र साझेदार संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता अभ्यास उपयोगी हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, साझेदार संस्था बीग्रुप का प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि तथा समुदायका सदस्यहरूकोसहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments