• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
बर्दियामा किन बढ्दैछ सम्बन्ध बिच्छेदका मुद्धा 

मुरली गोडिया, गुलरिया (बर्दिया) । बर्दिया जिल्ला अदालतमा पतिपत्नी बिच हुने सम्बन्ध विच्छेदको मुद्धा बढेको छ । विगत ३ वर्षको तथ्यांक केलाउँदा बर्दियामा सम्बन्ध विच्छेदको मुद्धा कम भएको पाइएपनि कोरोना भाइरस संक्रमण पछिको अवस्थामा दोब्बरले बृद्धि भएको छ । महिला पुरुषबिच वा घरपरिवारको सहमतिमा कानुनी रुपमा बाँधिएका पतिपल्नीहरु सम्बन्ध विच्छेदको मुद्धा लिइ अदालत सम्म पुग्ने गरेका छन् । 


    आर्थिक वर्ष ०७७/०७८ मा २ सय ९२, ०७८/०७९ मा २ सय २४ र ०७९/०८० मा ४ सय १५ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको बर्दिया जिल्ला अदालतका सूचना अधिकारी खेमराज तिमिल्सेनाले बताउनु भयो । अधिकांश सम्बन्ध विच्छेदका मुद्दाहरु मिलापत्रको माध्यमबाट सहमति भई किनारा लागेको छ । बाँकी हारजीत भइ फैसलाका आधारमा सम्बन्ध विच्छेद भएको हो । मुलुकी देवानी संहिताको दफा ९३ मा पति–पत्नी दुवैले चाहेमा सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था छ । दफा ९४ मा पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ । 


    सांस्कृतिक परिवेशका अनुसार गाँउघरमै छलफल गरेर मिलापत्र गराइन्थ्यो । अचेल सम्बन्ध विच्छेदको मुद्धा भौगोलिक विकासक्रम तथा सांस्कृतिक परिवेशका आधारमा फरक फरक कारण हुने गरेको अधिवक्ता निर्मल सुवेदी बताउनुहुन्छ । बर्दियामा श्रीमान बैदेशिक रोजगारमा जानु, गाउँ छाडेर शहरी वातावरणमा रमाउने, देखासिकी गर्ने, राम्रो लगाउने, मीठो खाने र आम्दानी भन्दा खर्च धेरै गर्ने जस्ता कारणले परिवार भित्र कलह सुरु हुने कालान्तरमा गएर सम्बन्ध विच्छेदमा परिणत हुने गरेको उहाँको बुझाई छ । संहिताको दफा ९५ मा कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेका अवस्थामा बाहेक पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल प्रपञ्च गरेमा महिलाले सम्बन्ध विच्छेद गर्न सक्ने कानूनी प्रावधान छ ।


    सम्बन्ध विच्छेदलाई आज पनि पारिवारिक हिसाबले कठिन परिस्थितिका रूपमा चित्रण गरिन्छ । पति–पत्नीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दा यसको असर उनीहरूका सन्तानमा पर्ने गरेको गुलरिया नगरपालिकाका नगरप्रवक्ता शुधांसु प्रकाश शर्मा बताउनु हुन्छ । बच्चाहरूमा त्यस्तो प्रभाव लामो समयसम्म रहने तर्क उहाँको छ । आमा बुवाका ेदेखासिकी गर्ने, घरायसी तनावका कारण आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने हुँदा भोली नेपाली समाज तथा देश कुन दिशामा जाने हो भन्ने विषय चिन्ताजनक रहेको प्रवक्ता शर्माको भनाई छ ।  

 

सम्बन्धित समाचार

Facebook Comments