सम्भव होला मानव सर्पबिच सहअस्तित्व !
यादव आचार्य, ९ भदौ, बर्दिया । केही दिनअघि आमासँगै राती विस्तारामा सुतिरहेका बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ का ९ महिने बालक मायरा चौधरीलाई विस्तारामै सर्पले डस्यो । तिन घण्टापछि उपचारका लागि बर्दिया अस्पताल पुर्याईएका उनलाई चिकित्सकले मृत घोषणा गरे । उसैदिन सोही वडाको अर्को घरमा ११ बर्षिया सोनिमा चौधरीलाई सुतिरहेकै अवस्थामा सर्पले डसेपछि अस्पताल पुर्याउँदा उनलाई पनि चिकित्सकले मृत घोषणा गरे ।
सोहीदिन सोही वडा स्थित मामा घरमा बस्दै आएकी ६ बर्षिया रिया चौधरी राती एक्कासी विरामी परिन् । स्थानिय खैरापुरको मेडीकलमा सामान्य उपचार पश्चात उनलाई ५ घण्टापछि बर्दिया अस्पताल गुलरिया पुर्याईयो । चिकित्सकले बालिकालाई सर्पले डसेको आशंकामा थप उपचारको लागि भेरी अस्पताल नेपालगञ्ज लगियो । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजार घरभई हाल गुलरिया नगरपालिका वडा नम्बर १ गाउँ नम्बर १५ मन्दिरटोल स्थित मामा घरमा बस्दै आएकी बालिकाको तिन दिनपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्याल बताउँछन् ।
एकै दिन एकै वडाका एकै गाउँमा तिन जना बालबालिकालाई सर्पले डसेर ज्यान गएपछि बर्दियामा सर्वत्र त्रास बढेको छ । घटना केलाउँदा बालकलाई सर्पले टोकेको ३ घण्टा पछि र बालिकालाई साढे ५ घण्टापछि परिवारले अस्पताल पुर्याएको देखिन्छ । घटना बारे अनुसन्धान भैरहेको डीएसपी अर्यालले जनाए । पछिल्लो समय बर्दियामा सर्पको बिगबिगी बढेको छ । सर्पको टोकाईबाट ज्यान जाने क्रम बढेको छ । सर्पबाट जोगिन झुल लगाएर सुत्ने, घरमा भएका प्वालहरु टाल्ने, झाडीहरु सफागर्दै सजग रहनुपर्ने चिकित्सकिय सुझाव छ । गत बर्ष बर्दिया अस्पतालमा ४० पुरुष, ४७ महिला गरी ८७ जनाले सर्प दंशको उपचार गरेको बर्दिया अस्पतालका प्रमुख डाक्टर शुभाष पाण्डेयले बताए । जसमध्ये १७ जनालाई विषालु सर्पले डसेको छ । सर्पले टोकेपछि समयमै उपचारमा पुगे जोखिम टर्छ । सर्पले टोकेपछि झारफुक तिर लाग्न नहुने उनले बताए ।
आर्थिक बर्ष ०७९।८० मा ३ महिला र ४ पुरुष गरी ७ जनालाई विषालु सर्पले टोकेको छ । चालु बर्षको श्रावण अन्तिम सम्म करिव १० जनाको हाराहारीमा उपचार भएको छ । त्यस्तै सर्पदंश उपचार केन्द्र ठाकुरबाबामा गत बर्ष २५ जनाको सर्प दंशको उपचार भएको छ । जसमध्ये २ जनालाई विषालु सर्पले टोकेको उपचार केन्द्रले जनाएको छ । बर्दिया सर्पको जोखिममा छ । मानिसहरु बाघ, हात्तीलाई मात्र त्रासको रुपमा लिने गरेपनि बन्यजन्तु सर्पको पनि उत्तिकै जोखिम छ । बर्दियाको ठाकुरबाबा, बारबर्दिया नगरपालिकामा सर्पदंश उपचार केन्द्र छन् । बर्दिया अस्पतालमा पनि सर्पदंशका विरामीहरुको चाप हुने गर्छ ।
तराईमै बिषालु सर्प
नेपालमा ८० प्रजातीका सर्पहरु पाईन्छन् । जसमध्ये १९ प्रजातीका सर्प बिषालु छन् । अधिकांश बिषालु सर्प तराईमै पाईने स्न्याक कन्जरभेसन नेपाल पोखराका अध्यक्ष रामजी गौतमले बताए । करेत (गडैंचा), राजगोमन, गोमन, बागे र आँधो सर्प विषालु हुन्छन् । मानिस सर्पको आहारा श्रृखला पर्दैन तरपनि टोकेर आक्रमण गर्छ । उनले भने, सर्पले आफूलाई खतरा भएको महशुस गरेपछि मात्र टोक्ने गर्छ अन्यथा टोक्दैन । स्पर्स भयो भने मात्र सर्पले टोक्ने उनले प्रष्ट्याए । धेरैजसो विषालु सर्प तराईमै पाईन्छन् । पहाडमा पाईने सर्प अधिकांस विषालु छैनन् । सर्पबाट जोगिन उसलाई खतरा नहुने गरी सावधानी अपनाउनु पर्छ । उनले भने सर्पले टोकेपछि मानिसको शरिरमा विषको मात्रा कति छोड्छ त्यही अनुपातमा विष बढी वा कम लाग्ने हुन्छ । गौतमले थपे, हामीले धेरै सर्पहरु उद्धार पनि गरेका छौं । सर्पले मानविय क्षती गरेपनि राज्यको राहत निर्देशीकाले कुनै पनि सम्बोधन गरेको पाईदैन । बन्यजन्तु संरक्षण ऐन २०२९ ले अजिंगर प्रजातीलाई संरक्षण बन्यजन्तुको सूचिमा सूचिकृत गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । तराईमा सर्पको धेरै विगविगी छ । राहत निर्देशिकामा सर्पले गर्ने मानविय क्षतीलाई सम्बोधन गर्न आवाजहरु उठेपछि सम्बोधन हुन नसकेको उनको भनाई छ । जैविक विविधताको सहयात्रा एवम् पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका रहेको सर्पको सनातन सभ्यतामा धार्मिक महत्व रहेको पाईन्छ ।
बर्दियामा पाईने सर्प तस्विर सौजन्य : मञ्जु महतरा
Facebook Comments