तत्कालिन द्वन्दमा बेपत्ता पारिएका ब्यक्तीको अवस्था सार्वजनिक गर्न परिवारको माग
चुरेकुञ्ज, १६ भदौ, बर्दिया । दशबर्षे सशस्त्र द्वन्दका बेला राज्यपक्ष तथा तत्कालिन विद्रोही पक्षबाट बेपत्ता पारिएका ब्यक्तीको परिवारले आफन्तजनको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्वको १४ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रवार बर्दियाको गुलरियामा आयोजित र्याली एवम् अन्तरक्रियाका क्रममा पीडित परिवारहरुले सरकारसँग न्यायको अपेक्षा गरेका हुन् ।
वेपत्ता पारिएका नागरिकहरुको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने, स्वतन्त्र सक्षम शक्तिशाली वेपत्ता आयोग गठन हुनुपर्ने, पीडितको सत्य, परिपुरण र अभियोजनको ब्यवस्था सुनिश्चित गरिनुपर्ने, टिआरसी ऐन कार्यान्वयनमा द्वन्द पीडितहरुको सहभागीता गराईनुपर्ने र सामाजिक रुपान्तरण सहितको पीडित केन्द्रित संक्रमणकालिन न्यायको प्रकृया लागु गर्नुपर्ने लगायतका प्लेकार्ड मार्फत माग राखी र्यालीले गुलरिया बजार परिक्रमा गरेको थियो । अन्तरक्रियामा पीडितका परिवारहरुले आयोग गठन, परिपुरण, न्याय सम्पादनमा पीडितको सहभागीता गराउन माग गरेको द्वन्द पीडित समिति बर्दियाका कार्यक्रम संयोजक मानबहादुर चौधरीले बताउनु भएको छ ।
राजापुर नगरपालिका वडा नम्बर ५ निवासी दीपा थारुले तत्कालिन द्वन्दका बेला बेपत्ता भएका आफ्ना बावुलाई फोटोमा मात्र देखेको बताउनु भयो । बाल्यकालमा पनि बावुको माया, ममताबाट बञ्चित हुनु परेको स्मरणगर्दै बावु नहुँदा पालन पोषण लगायत अध्ययन कार्य संघर्षमय अवस्थामा गर्नुपरेको प्रष्ट्याउनु भयो । अभिभावक नहुँदा परिवारको विचल्ली भोग्नुको विकल्प भएन । राज्यले वेपत्ताका छोराछोरीलाई दीर्घकालिन रोजगारको ब्यवस्था गर्नुपर्ने माग थारुको माग छ ।
वेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक संघीय संसदको दुवै सदनले पासगरी राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा द्वन्द पीडितहरुका अगुवाहरुले बर्दियामा स्वागत गरेका छन् । बर्दियामा देश भरीमै सबैभन्दा बढी २ सय ५४ जना वेपत्ता भएको स्मरण गराउँदै द्वन्द पीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले आयोग गठन, कोषको ब्यवस्थापन तथा संचालन, परिपुरण लगायत आयोगको ईकाईहरुमा पीडितहरुको सहभागीता गराउन सके मात्र पीडितले खोजेको न्याय पाउने बताउनु भयो ।
२० °C काठमाडौं
Facebook Comments