बारबर्दिया नगरपालिकामा बाल विवाहको दर २१ प्रतिशत
टिकाराम चौधरी, ६ असोज, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा बाल विवाह व्यापकता सर्वेक्षण प्रतिबेदन सार्वजनिक गरिएको छ । बारबर्दिया नगरपालिमामा आईतबार एक कार्यक्रमको आयोजना गरि प्रतिबेदन सार्वजनिक गरिएको हो ।
सर्वेक्षण अनुसार बारबर्दिया नगरपालिकामा सन् २०२३ मा गरिएको सर्भेक्षण अनुसार २१ प्रतिशत बाल विवाह भएको पाईएको छ । नगरपालिकामा सन् २०२३ अर्थात बि.स. २०७९ माघ १ गते देखि २०८० पौष २९ गते सम्मको एक बर्ष भित्र विवाह भएका सम्पुर्ण परिवारलाई नमुनाको रुपमा छनोट गरिएको थियो । सर्वेक्षणलाई वडा गत रुपमा हेर्दा फरकफरक अवस्था रहेको पाईएको छ । वडा नम्बर १ मा ९६ वटा विवाह भएकोमा २७ बाल विवाह अर्थात २८ प्रतिशत, वडा नम्बर २ मा ३९ वटा विवाहमा ४ वटा बाल विवाह अर्थात १० प्रतिशत, वडा नम्बर ३ मा ९९ वटा विवाह मध्ये २६ वटा बाल विवाह अर्थात २६ प्रतिशत, वडा नम्बर ४ मा ९२ विवाह मध्ये २२ वटा बाल विवाह अर्थात २४ प्रतिशत भएको पाईएको छ ।
त्यस्तै वडा नम्बर ५ मा ९२ विवाह मध्ये ५ वटा बाल विवाह अर्थात ५ प्रतिशत, वडा नम्बर ६ मा १ सय ३५ वटा विवाह मध्ये १९ वटा बाल विवाह अर्थात १४ प्रतिशत, वडा नम्बर ७ मा १ सय २८ विवाह मध्ये १९ विवाह अर्थात १५ प्रतिशत, वडा नम्बर ८ मा ५१ वटा विवाह मध्ये १७ वटा बाल विवाह अर्थात ३३ प्रतिशत, वडा नम्बर ९ मा ५७ वटा विवाह मध्ये १६ वटा बाल विवाह अर्थात २८ प्रतिशत, वडा नम्बर १० मा ६६ वटा विवाह मध्ये १५ वटा बाल विवाह अर्थात २३ प्रतिशत, र वडा नम्बर ११ मा ८५ वटा विवाह मध्ये २८ वटा बाल विवाह अर्थात ३३ प्रतिशत रहेको पाईएको छ ।
तथ्याँक अनुसार बारबर्दिया नगरपालिकाको बाल विवाह अन्त्य सम्बन्धी कार्यविधि २०७८ मा बाल विवाह मुक्त घोषणा गर्नका लागि दर १५ प्रतिशत भन्दा कम हुनु पर्ने ब्यबस्था गरिएको छ । उक्त ब्यस्थासंग तुलना गर्दा बारबर्दियाको वडा नम्बर २, ५ ६ र ७ गरी ४ वटा वडाको लागि बाल विवाह मुक्त घोषणा गर्न बाटो खुलेको देखिन्छ । उक्त वडाहरुलाई सन् २०२४ भित्रमा बाल विवाह मुक्त घोषणा गर्नका लागि कार्यपालिकाको बैठकबाट निर्णय गरेर योजनाबद्ध तरिकाबाट अगाडी बढ्ने निर्णय गरेको छ । कार्यक्रममा बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारुले बाल विवाह अन्त्यका लागि वडाका जनप्रतिनिधिहरुले नै क्रियाशिल र अग्रसर हुनु पर्ने बताउनु भएको छ ।
समुदायमा रहेको हानिकार अभ्यासहरुलाई अन्त्य गरिदिने हो भने बाल विवाहको दर ह्वात्त घट्ने दाबी गर्नु भएको छ । त्यसैले सुमदायमा रहेको हानिकारक अभ्यासको अन्त्यका लागि वडा समिति पनि निर्मम भएर लाग्नु पर्ने बताउनु भयो । बाल विवाह अन्त्यका लागि गर्नु पर्ने सुचकहरु पनि निरन्तर रुपमा कार्यान्वयनमा लैजानु पर्ने उहाँको भनाई छ । कार्यक्रममा बोल्ने बक्ताहरुले बाल विवाह अन्त्यका लागि योजनाबद्ध तरिकाबाट कार्याविधि कार्यान्वयनमा लैजान आवश्यक रहेको बताउनु भएको छ । बारबर्दिया नगरपालिकालाई २०८३ साल भित्र बाल विवाह मुक्त घोषणा गर्ने रणनीतिक योजनालाई सफल बनाउनका लागि वडा स्तरबाट नै सबै जना सक्रिय हुनु पर्ने सहभागीहरुको भनाई थियो ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत कार्यक्रम संचालन भईरहेको छ । कार्यक्रममा परियोजनाका प्रबन्धक भानुभक्त लिम्बूले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बारबर्दिया नगरपालिका नगरप्रमुख, नगर उपप्रमुख, वडा अध्यक्ष तथा वडा प्रतिनिधि, महिला बालबालिका शाखाका कर्मचारी, नागरिक समाज लगाएतको सहभागिता रहेको थियो ।
Facebook Comments