बर्दिया लागुऔषधको हब बन्दै गएपछि सिमानामा प्रशासनको सक्रियता
विष्णु अधिकारी, ७ असोज, बर्दिया । बर्दिया जिल्लामा पछिल्लो समय लागुऔषध कारोबारी तथा दुव्र्यसनीहरु बढ्दै गएको कारण चुनौती थपिदै गईरहेको छ । पूर्वमा बाँके देखि पश्चिममा कैलाली सम्मको नेपाल भारत खुला सीमाना ८३ किलो मिटरको दुरी सम्म फैलिएका कारण पनी लागु औषध सेवनकर्ता तथा कारोवारी हरुको लागि सहज बनेको छ ।
बर्दियामा लागु पदार्थ कारोबारी तथा सेवनकर्ताहरु बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले न्युनिकरणका लागि ३ महिने अभियान संचालनसंगै नेपाल भारत सीमा नाकामा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरु आफै उपस्थित भई कडाईका साथ लागेका छन् । जिल्ला प्रशासनले ३ महिने लागु पदार्थ नियन्त्रण कार्ययोजना लागु गर्नका लागि विभिन्न सरोकारवालाहरुका विच छलफल भए अनुरुप बर्दिया प्रशासनको नेतृत्वमा सुरक्षा प्रमुखहरु लागु औषध कारोबारको पहिचान भएका नाकामा आफै पुगि आवश्यक निर्देशन तथा चेकजाँच गर्नुका साथै पहिलो चरणमा लागु औषध नियन्त्रणका लागी पर्चा पम्पलेटहरु बितरण गरेका छन् ।
बर्दियाको बढैयाताल गाँउपालिकाको फुटाहा अन्तर्गगत पर्ने बलईगाउँ बजार र गुलरियाको गणेशपुरको लौकाई नाका, मधुवनको बिछिया र बठनिया बजार तथा राजापुरको कतर्नियाघाट र कौडियाला घाट नाकाबाट पनि लागुऔषध कारोबार गर्ने केन्द्रको रुपमा रहेको स्थानीयको दाबी छ । बर्दियाका भारतीय सिमासँग जोडिएका नाकाहरु प्रयोग गरि लागु औषध तथा अन्य गैर कानूनी काम हुने गरेका कारण नाकाहरुमा कडाईका लागि स्थानीय प्रशासनले निरन्तरता दिनुपर्ने स्थानीयको भनाई छ । मधुवन नगरपालिका वडानम्बर ७ बाट सामान किनमेलका लागि लौकाही आएकी विना नेपालीले लागु औषध कारोबार नियन्त्रणका लागि बर्दिया प्रशासन सहित सुरक्षा प्रमुख सिमा नाकामै आएर कडाईका साथ सचेतना फैलाउनु राम्रो सन्देश हो तर यस्ता गतिविधि रोक्न प्रहरी प्रशासन कडा कारवाही सहित परिणाम दिने गरि उत्रीनु पर्नेे बताउनु हुन्छ ।
बढैयाताल गाउँपालिका वडा नं. २ की स्थानीय उषा सुनारले लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासन आफै उपस्थित भएर अभियान थालेकोमा खुशी व्यक्तगर्दै सिमा नाकामा चेकजाँच कडाईको निरन्तरताका लागि आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालय बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले लागु औषध नियन्त्रणका लागि ३ महिने कार्ययोजना सहित बर्दिया प्रशासन अगाडी बढेको बताउनु भएको छ । बर्दियामा अन्य मुद्दाहरु भन्दा लागु औषध सम्बन्धि मुद्दा बढीरहेका कारण लागु औषध नियन्त्रणका लागि अभियानका साथसाथै प्रहरीको सक्रियता पनि बढाईएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भएको छ ।
विशेष गरि बर्दिया जिल्लाको भारतीय सिमासँग जोडिएर रहेका ४ वटा पालिका उच्च जोखिमको रुपमा पहिचान भएको र अन्य पालिकाहरु पनि लागुपदार्थको जोखिम रहेका कारण लागु औषध नियन्त्रणका लागि सबै सरोकारवालाहरुको हातेमालो आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको भनाई छ । बर्दियामा लागु पदार्थको अवस्था विकराल हुँदै गएको र लुम्बिनी प्रदेशमा बर्दिया तेस्रो स्थानमा रहेको गत ३ बर्षको तथ्याङ्क अध्ययनले देखाएको छ । लागुपदार्थ सेवनकर्ताहरु अप्रत्यासित रुपले बढ्रदै गइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्याङ्क छ ।
Facebook Comments