• २८ असोज २०८१, सोमवार
  • २३ °C काठमाडौं
विपदको जोखिम न्यूनिकरणमा बरघरको महत्वपूर्ण भूमिका

केशव कोइराला, १४ असोज, राजापुर (बर्दिया) । बर्दिया जिल्लाको राजापुर नगरपालिकाले २०७८ को नगर सभाबाट बरघर ऐन पारित ग¥यो । थारू समुदायको परम्परागत बरघर अगुवा प्रणालीलाई व्यवस्थित गर्न जारी गरिएको उक्त ऐन बरघरका निम्ती बनेको पहिलो ऐन थियो । ‘बरघर प्रणाली भन्नाले थारू समुदायले स्वायत्त र स्वशासित रूपमा आफ्नो प्रथा र प्रथाजनित कानूनअनुसार चिरकालदेखि निरन्तर प्रचलन, अभ्यास गरी आएको मौलिक परम्परागत प्रणाली र संस्थालाई सम्झनुपर्दछ’ ऐनले व्याख्यागर्दै यसो भनेको छ ।

परम्पराअनुसार गाउँ सञ्चालन गर्ने सामाजिक संस्था, प्रथा हो, बरघर । सयौं वर्षदेखि समुदायस्तरमा चलिआएको यो संस्थालाई स्थानीय तहले ऐन बनाएर सञ्चालन गर्दा प्रथा जीवित बन्न पुगेको मात्र छैन, कानूनी रूपसमेत पाएको छ । स्थानीय जनप्रतिनिधि सरह बरघरले पनि अधिकार उपयोग गर्दा जनप्रतिनिधि र बरघरबीच ऐक्यवद्धता देखिएको स्थानीय बताउँछन् । ‘बरघरले गाँउमा आइपर्ने समस्याहरू हेर्दै आएका छन् । न्याय निसापमा समेत बरघरकै सक्रियता छ । तर स्थानीय सरकारले बरघरलाई थप सेवा सुविधा दिए उहाँहरूप्रति न्याय हुने थियो,’ राजापुर नगरपालिका वडा नम्बर ४ का स्थानीय गम्भीर जिसी भन्नुहुन्छ । 

ऐनमा गाउँस्तरका योजनाहरू बरघरको नेतृत्वमा हुने जुट्याह्याला बैठक छलफलबाट उपभोक्ता समिति गठन गरी कार्यान्वयन गरिने भनिएको छ । त्यस्तै, योजनाको अनुगमन एवम् सुपरिवेक्षणका लागि बरघर वा बरघरको नेतृत्वमा बसेको जुट्याह्यालाले तोकेको व्यक्तिको नेतृत्वमा अनुगमन समिति गठन गरिने उल्लेख छ । बरघर छनोटको भेलामा स्थानीय जनप्रतिनिधिलाई सहभागी गराउने र स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकदेखि बजेट तथा कार्यक्रम स्वीकृत गर्ने सभामा बरघरलाई सहभागी गराउने व्यवस्था पनि ऐनले गरेको छ । 

तर कतै–कतै व्यवस्थाको पालना नहुँदा गाउँलेले छनोट गरेको योजना पालिकाको प्राथमिकतामा पर्न नसकेको गुनासो पनि सुनिन्छ । ऐन ल्याउँदा आस्थाका आधारमा चल्ने परम्परागत बरघरको स्वरूप र त्यसप्रतिको विश्वासमा झन् विवाद बढाउने काम हुन पुगेको अनुसन्धानकर्मी तथा सामाजिक अभियन्ता शेखर दहित बताउँनुहुन्छ । ऐनमा नगर बरघर, वडा बरघर, गाउँ बरघर, सहायक बरघर, टोल बरघर, लिखनडार, अगह्वा, गुरूवा, केसौका, चिरक्या, चौकीदार, बेगारी झराली लगायत पदको व्यवस्था गरिएको छ । ऐनमा थपिएको नगर बरघर तथा वडा बरघर नयाँ अवधारणा हो भने बाँकी पदहरू परम्परागत नै हुन् । ऐनमा व्यवस्था हुँदाहुँदै पनि नगर बरघरलाई नगर परिषद्मा बेवास्ता गरिएको केही बरघरको गुनासो छ । 

त्यस्तै वडा बरघरलाई पनि वडाध्यक्षहरूले पत्याएका छैनन् । राजापुर नगरपालिका ७ शंकरपुर गाउँका बरघर मनिस आले ऐनअनुसार वडा बरघर पनि हुन् । तर वडा कार्यालयले उहाँलाई कुनै पनि बैठकमा सहभागी गराएको छैन । नगरपालिका र वडासँग उहाँको एउटै माग छ, जंगली हात्तीले विपत्ति निम्याएको छ । छेकवार बनाइदेऊ । तर यो माग पनि सुनुवाइ नभएको उहाँ बताउनुहुन्छ । “वडामा हुने कार्यक्रममा बोलाइँदैन आफैले चाँसो देखाएर जाने हो कित गाँउलेहरुले यस्तो समस्या छ वडा अध्यक्षलाई भन्दिनु न भनेपछि खबर गर्ने हो हात्तीको आतङ्क छ । आइदिनुस् न भन्दा समेत अध्यक्ष आउनु भएन,’ उहाँले भन्नुभयो । बरघर ऐनलाई संस्थागत गर्ने राजापुर नगरपालिकाका पूर्व मेयर शिव कुमा थारूले धेरै अगुवा बरघरले आफू विकास निर्माणमा प्रत्यक्ष संलग्न रहँदा पालिकाबाट सधैँ अपेक्षा गरिए अनुसार सक्रिय रहेको बताएकाले उनीहरूकै सुझाव अनुसार बरघर ऐन जारी गरिएको बताउँनु हुन्छ । 

‘हामीले पहिलो पटक ऐन जारी गरेर बरघरलाई स्थानीय शासनमा सहभागी गराउने प्रयास ग¥यौँ, अहिले यस्तो ऐन जारी गर्ने पालिकाको संख्या ३० नाघिसक्यो’, पूर्वमेयर चौधरी भन्नुहुन्छ । तर पालिकामै यो ऐनको कार्यान्वयनकै चरणमा छ । ‘बरघरबिना थारू गाउँ चल्दैन । पालिकाका अधिकांश जनप्रतिनिधि थारू समुदायकै भएकाले कार्यान्वयनमा सहजता भएको छ,’ उहाँले भन्नुभयो । पूर्वमेयर चौधरी पालिकाको अनुगमन समितिको समेत अनुगमन गर्ने गरी बरघर समितिलाई बलियो बनाएको बताउनुहुन्छ । 

ऐन जारी भएपछि बरघर र स्थानीय तहका निर्वाचित प्रतिनिधिबीच सामिप्यता बढेको उहाँले बताउनुभयो । ‘आफ्नो गाउँको विकास आफै गर्नुपर्छ भन्ने अवधारणा बरघरहरूमा सदियौंदेखि छ । स्थानीय तहले उनीहरूलाई उचित सम्मान र पालिकाका योजनामा सहभागी गराए मात्रै पुग्छ । बरघरलाई कसरी अझै बढी सक्रिय, सिर्जनशील र परिणाममुखी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

संगठित र सुधारोन्मुख बरघर

बरघरलाई ठाउँ अनुसार महटावाँ, ककनदार, प्रधनवा र भलमन्सा पनि भनिन्छ । पछिल्लो समय बढी चलनचल्तीमा आएको सम्बोधन हो बरघर । गाउँघरको सामाजिक, धार्मिक, सांस्कृतिक, न्यायिक कामको नेतृत्व बरघरले नै गर्छ । गाउँघरमा झैझगडा वा विवादको छिनोफानो होस् वा बाटोघाटो र कुलो, बाँध बनाउने निर्णय सबै विषयको जिम्मेवारी बरघरकै काँधमा हुन्छ । त्यति मात्र होइन, पूजा, विवाह आदिका लागि स्वयमसेवक खटाउनुपर्ने, स्थानीय देउता थानमा पूजापाठको नेतृत्व गर्ने, मर्दा–पर्दाको संस्कार चलाउने जिम्मा पनि बरघरकै हुन्छ । पहिले बरघरहरू आफ्नै गाउँटोलको नेतृत्वमा सीमित हुन्थे । बरघर ऐन आएपछि वडादेखि पालिकास्तरसम्मका बरघरहरू एकजुट हुन थालेका छन् । 

यसको उदाहरण हो बर्दियाको राजापुर नगरपालिका अन्तर्गतका बरघरहरूको एकता । पश्चिम थरूहट अर्थात् दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतका गाउँमा माघको पहिलो साता प्रत्येक गाउँको ख्याल गाउँ भरिको विस्तृत बैठक बस्छ । ख्यालमा गाउँ सञ्चालनको नियम बनाइन्छ । बर्दियाको राजापुरमा परम्परागत बरघर प्रणाली  छ । ८२ प्रतिशत थारू समुदायको बाहुल्यता रहेको राजापुर नगरपालिकामा अमेरिकी सहयोग नियोगको तयार नेपाल परियोजनाले बरघरलाई उनीहरुको प्रथामा आधारित रहेर विपद् व्यवस्थापनमा परिचालित हुन सिकाएको छ । उनीहरूको परम्परागत ज्ञान र सीपमा निखारता ल्याउनुको साथै विपद् व्यवस्थापनका लागि सामग्री समेत उपलब्ध गराएको छ । मुख्य कुरा उनीहरूको प्रथालाई कानूनले चिन्ने आधार तयार पारिदिएको छ ।

तयार नेपालले नगर पालिकासँगको समन्वयमा बरघर व्यवस्थापन कार्यविधि बनाएर सहकार्य गरिरहेको छ । त्यस्तै तयार नेपाल परियाजनाले समुदायस्तरमा काम गर्दा समुदायलाई परिचालन गर्न सहज भएको छ । बरघरले समुदाय परिचालनमा महत्त्वपूर्ण भूमिका खेलेको नगरप्रमुख दिपेश थारू बताउनुहुन्छ । ‘तयार नेपालले विपतमा बरघरको सक्रियता के हुन्छ भन्ने विषयमा क्षमता अभिवृद्धि लगायतका तालिम मार्फत जुझारु बनाएको छ । यद्यपि बरघरहरू अझै आफै क्रियाशील हुनुप¥यो । राजापुर नगरपालिकाले बरघरहरूलाई परिस्कृत हुन पहल कदमी चाल्दै जानेछ,’ नगरप्रमुख थारूले भन्नुभयो । 

बरघरसँगको छलफल पश्चात् समुदायको सहभागिता र दिगोपनामा सहजता प्राप्त भएको छ । बर्दिया, राजापुर नगरपालिका वडा नम्बर २ नयाँगाउँको जोतपुर गाउँमा थारू युवा विद्यार्थीहरूले बरघरहरूलाई सघाउन जोतपुर विद्यार्थी परिवार गठन गरेका थिए । जुन अहिले जोतपुर युवा परिवारको नाममा सक्रिय छ । यसकै सक्रियतामा बरघरहरूको सम्मानमा स्थानीय बर्गद्ही गाउँदेखि बालाबजारसम्म बरघर सडक नामकरण समेत गरिएको छ । ‘हामीहरू बरघरलाई निर्णय लिन कठिन लाग्ने कतिपय समस्याको गाँठो फुकाउन सहयोग गरिरहेका छौं,’ परिवारका सल्लाहकार सोम डेमनरौरा भन्नुहुन्छ ।

बरघरलाई निरंकुश हुन नदिन पनि यस्ता संगठनहरू उपयोगी हुन सक्छन् ।  उहिले उहिले चौकिदार मार्फत् प्रभावकारी सञ्चार र सूचना दिने बरघरहरू अहिले सञ्चार प्रणालीको विकाससँगै मौसमको पूर्वानुमान र सूचना प्रविधिको उपयोग गरेर जोखिमको पहिचान र व्यवस्थापनमा जुटेका छन् । यसका साथै  स्थानीय समुदायलाई विपत्तिको तयारीमा संलग्न गरिँदा र स्थानीय निकायहरूले विपत्ति जोखिम न्यूनीकरणका लागि प्रभावकारी नीतिहरू लागू गरेका कारण बरघर थप व्यवस्थित बन्न पुगेको सोम डेमनरौराले बताउनुभयो । 

सम्बन्धित समाचार

Facebook Comments