• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
चाडपर्वमा हुने अवैध ब्यापार लगायत लागुऔषध नियन्त्रणमा प्रशासनको कडाई

विष्णु अधिकारी, १९ असोज, बर्दिया । बर्दिया जिल्लामा  पछिल्लो समय खुला सिमाबाट हुने अवैध कारोवार तथा लागुऔषध दुव्र्यसनीको कारण चुनौती थपिदै गईरहेको छ । खुला सिमानाका कारण अवैध कारोवार तथा लागु पदार्थ सेवन कर्ताहरु बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले भारतीय सीमा नाकामा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरु कडाईका साथ आफ्ना मातहतका जिल्ला स्थित सुरक्षा समितिसहित चेकजाचमा उत्रिएका दिएका छन् ।

बर्दिया प्रशासनको नेतृत्वमा सुरक्षा प्रमुखहरु लौकाही र मुर्तिहा नाकामा आफै पुगि आवश्यक निर्देशन तथा चेकजाँच गरेका छन् । बर्दिया जिल्ला पूर्वमा बाँके देखि पश्चिममा कैलाली सम्मको नेपाल भारत सीमान ८३ किलोमिटरको दुरी सम्म फैलिएका कारण पनी अवैध कारोवार र लागु औषध पूर्ण रुपमा नियन्त्रण हुन नसकेको हो । बढैयाताल गाउँपालिकाको बलई बजार र गुलरिया नगरपालिकाको लौकाई नाकाबाट अवैध कारोवार तथा लागुऔषध ओसार पसार गर्ने नाकाको रुपमा रहेको स्थानीयको दाबी छ । यस्ता नाका प्रयोग गरि लागु औषध तथा अन्य गैर कानूनी काम हुने गरेका कारण नाकाहरुमा प्रत्येक दिन कडाईगर्नु पर्ने स्थानीयको भनाई छ । नेपाल सरकारले भारतबाट १ सय रुपैया भन्दा बढीको सामान ल्याएमा भन्सार शुल्क लाग्ने प्रावधान राखेको भएता पनि खुला सिमानामा नेपाल तर्फको छोटी भन्सार स्थापना नहुँदा सरकारले तोकेको लक्ष्य पुरा गर्न असहज भएको छ । 

सिमा नाकामा रहेका नेपाली सुरक्षाकर्मीहरुलाई चेकजाँचका क्रममा ल्याएका सामानहरुको राजश्व बुझाउनका लागि टाढा रहेको भन्सारमा लग्न समस्या भएकाले सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । जिल्ला प्रशासन कार्यालय बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गुलरिया नगरपालिका वडा नं. ११ गणेशपुर लौकाही नाकामा सशस्त्र प्रहरी बल नेपाल, प्रहरी सिमा सुरक्षा गुल्म कण्ठपुरले नागरिकको सुरक्षाका लागि राखिएको हेल्प डेस्कको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा भारतीय सिमा नाकामा रहेका सुरक्षाकर्मीहरुलाई नाकामा हुने अवैध कारोबार तथा लागु पदार्थ नियन्त्रणमा कडाईका साथ लाग्न प्रमुख जिल्ला अधिकारी शर्माले निर्देशन दिनुभएको छ । बर्दिया जिल्लाको भारतीय सिमासँग जोडिएर रहेका नाकाहरु उच्च जोखिम तथा पहिचान भैसकेकाले अवैध कारोबार रोक्नका लागि प्रहरी प्रशासनले अबका दिनमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो । 

नाका अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले भारतीय सिमा बजारबाट ल्याइएका अखाद्य बस्तुहरु प्रयोगले मानवको स्वास्थ्यमा असर गर्ने भएकाले सस्तोका नाममा स्वास्थ्यमा खेलबाड नगर्न नागरिकहरुलाई सिमा नाकामा आग्रह गर्नुभएको छ । भारतीय बजारबाट नेपाली नागरिकले ल्याएका स्वास्थ्यको दृष्टिकोणले खराब मानिएको माछा, मासु अन्यबस्तुहरु नियन्त्रणमा लिई नष्ट गर्न प्रमुख जिल्ला अधिकारी शर्माले सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभएको छ । चाडपर्वलाई लक्षित गरि बर्दियामा सशस्त्र प्रहरी वलको तर्फबाट ७ वटा सहायता कक्ष सिमानाकामा तथा नेपाल प्रहरीको तर्फबाट सार्वजनिक यातायातलाई लक्षित गरि ५ वटा सहायता कक्ष स्थापना भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ । 

विशेष गरेर सहायतकक्षले बाहिरबाट चाडपर्व भनि आफ्नो घर फर्किने यात्रुहरुलाई सहजीकरण गर्न र चोरी तस्करी र गैह कानुनी क्रियाकलापलाई नियन्त्रण गर्न हेल्प डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले सिमा नाका अनुगमनका क्रममा बताउनु भएको छ । लागु औषध नियन्त्रणका लागि ३ महिने कार्ययोजना सहित बर्दिया प्रशासन अगाडी बढेकाले बर्दिया जिल्लामा अन्य मुद्दाहरु भन्दा लागु औषध सम्बन्धि मुद्धा बढीरहेका कारण लागु औषध नियन्त्रणका लागि अभियानको रुपमा प्रशासन अगाडी बढेको उहाँको भनाई छ । बर्दिया जिल्लाको भारतीय सिमासँग जोडिएर रहेका ४ वटा पालिका उच्च जोखिमको रुपमा पहिचान भएको र अन्य पालिकाहरु पनि लागुपदार्थको जोखिम रहेका कारण लागुऔषध नियन्त्रणका लागि प्रहरी प्रशासन अगाडी बढेको प्रजिअ शर्माको भनाई रहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments