शारीरिक रुपमा अशक्त एसईई उत्तिर्ण प्रितम थारु सम्मानित
दिनेश ठाकुर, २१ असोज, बर्दिया । चौबीसौँ विश्व मस्तिष्क पक्षघात दिवसको अवसरमा शारीरिक अशक्तता भएकी प्रितम लक्ष्मी थारुलाई सम्मान गरिएको छ । २०८० सालको एसइइमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुर गुलरिया बर्दियाबाट ६९ विद्यार्थीहरू मध्ये एक्लै पास भएका कारण थारुलाई मस्तिष्क पक्षघात स्वावलम्बन समूह बर्दियाले सम्मान गरेको हो ।
कक्षा १ देखि ३ सम्म सोही विद्यालयमा अध्ययनरत शारीरिक अशक्त भएका कारण विद्यालयले उनलाई पढाउन नमान्दा एक वर्ष पढाइ स्थगित भएको थियो । विद्यालयमा मस्तिष्क पक्षघात स्वावलम्बन समूहले विशेष कक्षा स्थापना गरेपछि उनी त्यही विद्यालयमा कक्षा चारमा भर्ना भइन् र २०८० सालको एसइइ परीक्षामा ६८ जना विद्यार्थीलाई पछिपार्दै एक्लै पास भइन् । विद्यालयमा दिवा स्याहार केन्द्र खुलेपछि आफूलाई धेरै सजिलो भएको र फेरि पढ्न पाएकोमा स्याहार केन्द्रलाई प्रीतम लक्ष्मी थारुले धन्यवाद दिएकी छिन् ।
२०७० सालदेखि हालसम्म बर्दिया जिल्लामा मस्तिष्क पक्षघात स्वावलम्बन समूह बर्दियाले ३ सय जना मस्तिष्क पक्षघात भएका बालबालिकालाई सेवा दिएको मस्तिष्क पक्षघात स्वावलम्बन समूह बर्दियाकी संयोजक निरमा चौधरीले जानकारी दिईन । २०७३ सालदेखि विशेष कक्षाको रूपमा नेरामावि प्रयागपुरमा १२ जनाले सेवा पाइरहेका छन । बढैयाताल दिवा सेवा केन्द्रमा १५ जनाले र यही वैशाखदेखि बाँसगढी नगरपालिकामा विशेष कक्षा मार्फत १० जनाले सेवा पाइरहेको चौधरीले जानकारी दिइन । १५० जना मस्तिष्क पक्षघात भएका बालबालिकालाई फिल्ड मार्फत सेवा दिइरहेको उनले भनिन् ।
शारीरिक अशक्त भएपनि बौद्धिक रूपमा सक्षम भएका १७ जना बालबालिकाको अभिभावकहरूलाई परामर्श दिएर विद्यालयमा भर्ना गरिएको चौधरीले भनिन् । अहिले ४२ जना बालबालिका विशेष कक्षा र विद्यालयमा शिक्षा लिइरहेको उनले सुनाइन् । मस्तिष्क पक्षघात भएका बालबालिकालाई आवश्यकता अनुसार एक्सरसाइज, थेरापी, औषधि उपचार सम्बन्धी सल्लाह सुझाव र आवश्यक ठाउँमा उपचारको लागि पठाउने गरेको उनको भनाई छ । गुलरिया नगरपालिका वडा नं ९ कि कुन्ना यादवले आफ्नो बच्चालाई नेरामावि प्रयागपुरमा दिवा सेवा केन्द्रमा गई त्यहाँ सिकाइएका थेरापी र एक्सरसाइजले आफ्नो बच्चालाई अहिले राम्रो भएकोभन्दै खुसी ब्यक्त गरिन् ।
उनले शारीरिक अशक्त बालबालिकाका अभिभावकलाई जुन थेरापी तथा एक्सरसाइजहरु सिकाइन्छ तेही गर्न उनले सुझाव दिइन् । आफू अस्पताल जाँदा बच्चालाई उपचार गर्न दुई तीन लाख लाग्ने भनेपछि आफू हतोत्साहित भएको उनले भनिन् र स्याहार केन्द्रले धेरै राहत भएको सुनाइन् । गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले मस्तिष्क पक्षघात भएका बालबालिकाहरू लाई बोझ नसम्झिन उनले अभिभावकहरुलाई अनुरोध गरेका छन् । सन्तान जस्तो अवस्थामा छ त्यसैमा खुसी हुन उनले बताए ।
शारीरिक रूपमा अशक्त भएपनि बौद्धिक रूपमा धेरै अगाडि रहने विभिन्न व्यक्तिहरूको उदाहरण दिँदै उनले बताएका छन् । पत्रकार महासङ्घ बर्दियाकी उपाध्यक्ष मेनका चौधरीले शारीरिक रुपमा अशक्त भएका बालबालिकाको पक्षमा कलम चलाउन पत्रकारहरु साथमा रहने बताईन् । चौबीसौँ विश्व मस्तिष्क पक्षघात दिवसको अवसरमा मस्तिष्क पक्षघात स्वावलम्बन समूह बर्दियाले ¥याली तथा कार्यक्रमको आयोजना गरी मनाएको छ ।
Facebook Comments