शैक्षिक सुधार अन्तर्गत बाल बालिकाहरुलाई पोशाक वितरण
विष्णु अधिकारी, २९ कार्तिक, बर्दिया । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बाल बालिकामा एक रुपता ल्याउन विद्यालय पोशाक वितरण गरिएको छ । गुलरिया नगरपालिका वडा नंं. ७ अन्तर्गत पर्ने ३ विद्यालयका ५ सय ५० जना बाल बालिकालाई शिक्षा प्रति आर्कषण बढाउन पोशाक वितरण गरिएको हो ।
गुलरिया नगरपालिका वडा ७ चौगुर्जीमा रहेको हिमाली आधारभुत विद्यालयबाट विद्यार्थी पोशाक वितरण गरि कार्यक्रमको शुभारम्भ गरिएको छ । गुलरिया नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मनोज यादवले शिक्षा क्षेत्रको विकासको विषयमा वडाकोे सिमित साधन श्रोतको सहि सदुपयोग गर्दै शिक्षामा लगानी बढाउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता गर्नु भएको छ । गुलरिया नगरपालिका ७ नं. वडा अन्तर्गत पर्ने ३ विद्यालयका बालबालिकाको शिक्षामा आर्कषण बढाउन आगामी बर्षहरुमा बालबालिकालाई टाई, जुत्ता, बेल्टको व्यवस्था गर्ने योजना रहेको उहाँको भनाई छ ।
यादवले सामुदायिक विद्यालयमा अध्ययन गर्ने निम्न बर्गीय परिवारका बाल बालिकालाई आर्थिक अभावका कारण विद्यालय पोशाक खरिद गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएको हुँदा पोशाक वितरण गरिएको हुनाले बालबालिकालाई विद्यालयमा नियमित अध्ययनका लागि समयमा विद्यालय पठाउन अभिभावकसँग आग्रह गर्नु भएको छ ।
विद्यालय पोशाक शैक्षिक सुधार अन्तर्गतको चरण रहेकाले यस्ता कार्यक्रमले सामुदायिक विद्यालय प्रति समुदायको आर्कषण बढ्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सहजराम गोडियाले बताउनु भएको छ । कार्यक्रममा गुलरिया नगरपालिकाका योजना शाखा प्रमुख मुकुन्द अर्याल, शिक्षा शाखा प्रमुख सतिश यादव, कार्य पालिका सदस्य निर्मला मैनाली, न्यायिक समिति सदस्य शान्ता परियार, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।
Facebook Comments