अन्तरलिङ्गीहरुको बारेमा बारबर्दिया नगरपालिकामा जनचेतना
चुरेकुञ्ज, ३० कार्तिक, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा सरोकारवाला निकायहरुसंग अन्तरलिङ्गी ब्यक्तिहरुको बारेमा जनचेतना मूलक अभिमुखीकरण गरिएको छ । क्याम्पेन फर चेन्जको समाबेशीता र शारीरिक स्वायत्तताको लागि एक जुट अन्तरलिङ्गी आवाजहरु कार्यक्रम अन्तरगत बारबर्दिया नागरिक समाजको समन्वयमा सरोकारवाला निकाय मार्फत जनचेतना अभिबृद्धिका लागि अभिमुखीकरण गरिएको हो ।
नागरिक समाजका सदस्य तथा सरोकारवालाहरुलाई अन्तरलिङ्गीको बारेमा जानकारी, तेस्रोलिङ्गी र अन्तरलिङ्गी बिचको अन्तर, अन्तरलिङ्गीहरुले भोग्नु परेको सामाजिक अपहेलना, सार्वजनिक क्षेत्रमा हुने हिंसा तथा भौतिक संरचना बारेमा जानकारी गराई छलफल गरिएको छ । अन्तरलिङ्गी भन्नाले एक वा एक भन्दा बढि जन्मजात यौन विशेषताहरुको शारीरिक विविधता लिएर जन्मेका ब्यक्तिहरुलाई जनाउछ । जन्मदा एउटा लिङ्ग (महिला वा पुरुष) भएर जस्तो रहने तर उसको आनीबानी, ब्यबहार, प्राकृतिक रुपमा फरक लिंङ्गको अनुभुति गर्नेलाई तेस्रोलिङ्गी भनिने गरिन्छ । यसलाई हाम्रो समुदायले सामान्य ब्यक्तिसरह स्वीकार्य बनाउनका लागि अभिमुखिकरण गरिएको क्याम्पेन फर चेन्जका समाज परिचालक अमर चौधरीले जानकारी गराउनु भएको छ ।
कार्यक्रम अन्तरगत अन्तरलिङ्गीहरुको जिविकोपार्जन, आयआर्जन, मानव अधिकार सम्बन्धी पैरवी तथा कानुनी सचेतना शिक्षामा सहयोग, ब्यक्तिगत घटना दर्ता, बिशेष गरेर जन्मदर्ता र विवाह दर्तामा सहयोग गर्ने लगायतका कार्यगर्दै आएको छ । यसैगरी अन्तरलिङ्गीहरुको अध्ययन तथा अनुसन्धान गर्ने, प्रकृतिक प्रकोप, बिपद्को बेलामा सहयोग, अन्तरलिङ्गी बच्चाको सर्जरीको अन्त्य, अन्तर लिङ्गीहरुको तथ्याँक संकलन, अन्तरलिङ्गीले विवाह गर्न हुदैन भन्ने कुराको भ्रम चिर्न, स्वास्थ्य सम्बन्धी जनचेतना लगाएतका कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाका समाज परिचालक नविन चौधरीले जानकारी दिनु भएको छ । कार्यक्रम नेपालको लुम्बिनी, कर्णाली, बाग्मती र मधेश प्रदेशमा संचालनमा छ ।
Facebook Comments