• २७ मंसिर २०८१, बिहिवार
  • ४ °C काठमाडौं
गुलरियाको ५, ६ र ७ नम्बर वडा बाल विवाहमुक्त घोषणा

विष्णु अधिकारी, १० मंसिर, बर्दिया । विहेवारी २० बर्ष पारी भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान शुभारम्भको सन्दर्भ पारेर बर्दियाको गुलरिया नगरपालिका अन्र्तगतका ३ वटा वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले औपचारिक कार्यक्रमका विच वडा नम्बर ५, ६ र ७ लाई बाल विवाहमुक्त वडा घोषणा गर्नुभएको छ ।

यसअघि गुलरिया नगरपालिका भित्रका वडा नम्बर १२, ८ र ४ नम्बर वडा बाल विवाह मुक्त घोषणा भैसकेका छन् । बाँकी वडाहरुलाई पनि बाल विवाहमुक्त घोषणा गरी नगरपालिकालाई नै बाल विवाहमुक्त पालिका घोषणा गर्ने तयारी गुलरिया नगरपालिकाको छ । बाल विवाह नै लैङ्गिक हिंसाको प्रमुख कारण रहेकाले जति बेला सम्म समाजमा बाल विवाह पुर्ण रुपमा रोक्न सकिदैन तब सम्म लैङ्गिक हिंसा रोक्न कठिनाई हुने बताईन्छ । गुलरिया नगरपालिकाले बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा वडा नं. ५, ६ र ७ नं. वडामा बाल विवाह हुने छैन भनि घोषणा गरेको छ । गुलरिया नगरपालिकाको साक्षरता दर अन्य पालिकाहरुको तुलनामा अत्यन्त कमजोर रहेकाका कारण विशेष गरि कमजोर आर्थिक स्थिती भएका तथा सामाजिक कुरुतीका कारण र बाल बालिका बिद्यालयको पहुच नपुगेका कारण बाल विवाह हुने गरेको तथ्यांकमा पाईन्छ । 

विद्यालय जाने उमेर समूहका बालबालिकाहरु सामुदायिक बिद्यालय तथा नीजि बिद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुले बिचैमा बिद्यालय छोड्ने बाल बालिकाहरु विशेषत बालबिवाहमा गर्ने गरेको पाईन्छ । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएतापनि नेपालले विवाहको लागि न्यूनतम उमेर तोकेका हुनाले २० बर्ष भन्दा कम उमेरका बालबालिकाले बिवाह गरेमा नेपालको मूलुकी ऐनमा सजायको व्यवस्था गरेको बताउनु भयो । संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको हुदाँ बालबिवाह रोक्नका लागि सबैको दायित्व रहेकोले सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गर्नुभएको छ । 

बाल विवाह हुने मुलुकहरु मध्ये नेपाल बङ्गलादेश र भारत पछि तेश्रो स्थानमा पर्नुका साथै बालकको तुलनामा संंख्यात्मक रूपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको कारण आजका दिन देखि गुलरिया नगर पालिकाको क्षेत्रभित्र बालविवाह हुन नदिने अठोट गरि बालबिवाह मुक्त वडा घोषणा अभियान थालनी भएको नगर प्रमुख यादवको भनाई छ  । बालविवाह मुक्त क्षेत्र घोषणा भएका वडाका वडाध्यक्षहरुले सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कुराहरुलाई चिर्दै नेपालको संविधानले कल्पना गरे अनुरुप बाल विवाह हुन नदिन वडाहरु कटिबद्ध रहने गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुमबहादुर मल्लले बताउनु भयो । 

बाल विवाहका कारण बाल बालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुने गरेको गुलरिया नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सुधाशुं प्रकाश शर्माले बताउनु भएको छ । विशेष गरी बालिका र महिलाको सन्र्दभमा बाल विवाहले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरूको जीवन चक्रमा थुप्रै अधिकार उल्ल्ंघनको शृङ्खला सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहेका कारण बाल विवाह मुक्त वडा घोषणा भएको वडा नं. ७ का वडाध्यक्ष मनोज यादवले घोषणा सभामा बताउनु भएको छ । 

बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरूले वालिका र महिलाहरू थप प्रताडित हुन पुगेको गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले बताउनु भएको छ । समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवं समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न पुगेका कारण बाल विवाह रोक्ने सबै नागरिकको कर्तब्य भएको उहाँको भनाई छ ।

कार्यक्रममा गुलरिया नगरपालिका उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु, बालबालिका तथा अभिभावकहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु, पत्रकार लगायत संघ संस्थाहरुकोको उपस्थिती थियो । घोषणा सभा पूर्व लैगिक हिँसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ तथा बाल विवाह मुक्त वडा घोषणाको लागि र्यालीले बजार परिक्रमा गरेको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments