• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
गुलरिया नगरपालिका वडा नम्बर ११ बालविवाह मुक्त घोषणा

विष्णु अधिकारी, १३ मंसिर, बर्दिया । विहेवारी २० बर्ष पारी भन्ने मुल नाराका साथ गुलरिया नगरपालिकाको वडा नं. ११ पनि बाल विवाह मुक्त वडा घोषणा भएको छ । यससँगै गुलरिया नगरपालिका भित्रका १२ वडामध्ये ९ वटा वडाहरु बालविवाह मुक्त वडा घोषणा भएको छ । 

लैङ्गिक हिंसाको प्रमुख कारण बाल विवाह रहेकाले जति बेला सम्म हामीले हाम्रो समाजमा बाल विवाह पुर्ण रुपमा रोक्न सक्दैनौं तब सम्म लैङ्गिक हिंसा न्युनिकरण गर्न बाल विवाह वाधकको रुपमा रहेको छ  । गुलरिया नगरपालिकाले वडा नंं ११ ले बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा अब उप्रान्त बाल विवाह हुने र गर्न नदिने प्रण सहित घोषणाको प्रमाणपत्र नगरप्रमुख मुक्तिनाथ यादवले वडा अध्यक्षलाई हस्तान्तरण गर्नु भएको छ । गुलरिया नगरपालिकाको साक्षरता दर अन्य पालिकाहरुको तुलनामा अत्यन्त कमजोर रहेका कारण विशेष गरि कमजोर आर्थिक स्थिती भएका तथा सामाजिक कुरुतीका कारण बालबिवाह हुने गरेको पाईन्छ । 

बाल विवाह मुक्त वडा घोषणा भएसँगै बिद्यालयको पहुच नपुगेका र बिचैमा पढाई छाडेका बालबालिकाहरुलाई शिक्षाको पहुचमा ल्याई बालबालिकाहरुलाई नै म २० बर्ष नपुगी विवाह गर्दिन भन्ने मानसिकताको विकासमा जोड दिने गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भएको छ । हाम्रो समाजमा विद्यालय जाने उमेर समूहका बालबालिकाहरु सामुदायिक बिद्यालय तथा नीजि बिद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुले बिचैमा बिद्यालय छोड्ने बाल बालिकाहरु विशेषत बालबिवाहमा गर्ने गरेको सामाजिक अध्ययनले देखाएको उहाँको भनाई छ ।  गुलरिया नगरपालिकाका प्रमुख यादवले विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएतापनि नेपालले विवाहको लागि न्यूनतम उमेर २० बर्ष तोकेको हुँदा कम उमेरका बालबालिकाले बिवाह गरेमा नेपालको मूलुकी ऐनमा सजायको व्यवस्था गरेको बताउनु भयो । 

गुलरिया नगरपालिकाकी उप प्रमुख सावित्रा गौतमले बालिका र महिलाको सन्र्दभमा बाल विवाहले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्ल्ंघनको शृङ्खला सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहेका कारण बाल विवाह मुक्त वडा घोषणा घोषणा सभामा बताउनु भयो । बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरूले वालिका र महिलाहरू थप प्रताडित हुन पुगेको वहाँको भनाई छ । 

समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवं समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न पुगेका कारण बाल विवाह रोक्न सबै नागरिकको कर्तब्य भएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बताउनु भएको छ । नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको हुदाँ बालबिवाह रोक्नका लागिसबैको दायित्व रहेकोले सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न उहाँले आग्रह गर्नुभएको छ ।

बालविवाह मुक्त क्षेत्र घोषणा भएको वडाका वडाध्यक्ष विष्णु यादवले सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कुराहरुलाई चिर्दै नेपालको संविधानले कल्पना गरे अनुरुप बाल विवाह हुन नदिन आफुहरु लागी रहने भनाई रहेको छ । वडाध्यक्ष यादवले बाल विवाहका कारण बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुने गरेको बताउनु भएको छ । 

गुलरिया नगरपालिकाका बाँकी रहेका ३ वटा वडाहरु पनि घोषणा भएसँगै गुलरिया नगरपालिका पूर्णरुपमा बाल विवाह मुक्त क्षेत्र घोषणा हुनेछ । घोषणा सभामा गुलरिया नगरपालिका जेष्ठ नागरिक शाखाकी प्रमुख शीला शाहाले प्रतिवेदन प्रस्तुतगर्दै बाल विवाह रोक्न सबैको सहयोग अपरिहार्य रहेको बताउनु भएको छ । कार्यक्रममा गुलरिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, गुलरिया नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु, बालबालिका तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । बाल विवाहमुक्त वडा घोषणाका लागि गुलरिया नगरपालिकामा प्लान नेपाल ईन्टरनेशनलको सहयोगमा बाँके युनेस्को क्लव र विग्रुपको साझेदारी रहेको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments