• ७ फागुन २०८१, बुधवार
  • १८ °C काठमाडौं
बगलामुखी मन्दिरमा भक्तियोग समागम अनुष्ठान शुरु

यादव आचार्य, ५ माघ, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ७ मा अवस्थित धार्मिक आस्थाको केन्द्र बगलामुखी मन्दिर परिसरमा भक्तियोग समागम ज्ञान महायज्ञ शुरु भएको छ । धर्म जागरण, आत्मा शान्ति एवम् सुसंस्कार समाज निर्माणार्थ गर्न लागिएको अनुष्ठानको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले औपचारिक समुद्घाटन गर्नु भएको हो । 

कार्यक्रम समुद्घाटन पूर्व बगलामुखी मन्दिरबाट निकालिएको कलश शोभायात्राले बजार परिक्रमा गरिएको थियो । प्रमुख अतिथीले दीप प्रज्वलनसँगै यज्ञ मण्डप, वगलामुखी भगवती पूजन एवम् श्रीमद्भागवत पुस्तक तथा ब्यास पुजन गरी कार्यक्रमको समुद्घाटन गरिएको छ । धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी यादवले अनुष्ठानहरु प्रत्येक बर्ष आयोजना गर्न सुझाव दिनुभयो । समाजमा धार्मिक जागरण गराउन अत्यावस्यक रहेको बताउँदैै नगरप्रमुख यादवले सनातन धर्मसस्कृति जगेर्ना गर्न आफूले सधै सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका प्रवक्ता एवम् गुलरिया नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्माले भागवत गिता एवम् भक्तीयोगका माध्यमबाट सच्चरित्र निर्माणमा ठूलो महत्व हुने बताउनु भएको छ । पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले अनुष्ठानले धार्मिक सद्भाग कायम गर्न सफलताको शुभकामना दिनुभएको छ । त्यस्तै पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष यादव आचार्यले पछिल्लो समय समाजमा नैतिक शिक्षाको खडेरीपर्दै गैरहेकोले धार्मिक ज्ञानहरु मार्फत समाज परिवर्तन गर्न सहज हुने बताउनु भयो ।

अतिथीलाई स्वागतसँगै कार्यक्रमको जानकारी गराउँदै भक्तीयोग फाउण्डेशन नेपालसँगको सहकार्यमा बगलामुखी मन्दिर ब्यवस्थापन समितिले आयोजना गर्ने महायज्ञ माघ ५ गतेदेखि १२ गतेसम्म चल्ने अनुष्ठान ब्यवस्थापन समितिका संयोजक विष्णु अधिकारीले बताउनु भएको छ । फाउण्डेशनका संस्थापक अन्तर्राष्ट्रिय भागवत भूषण पूज्य सञ्जेल जी मराहाजको मुखारविन्दबाट प्रवचन, गुरुदेव विश्वराज गौतमबाट प्रेरणादायी प्रवचन एवम् योगसाधना हुनेछ । त्यस्तै धार्मिक अनुष्ठानमा नेपाली भाषामा पहिलो गणेश चालिसा पाठ एवम् वरिष्ठ संगीतकार शिशिर साधकबाट भजन संगीत हुने बताईएको छ । 

भक्तियोग समागम महायज्ञमा भागवत दर्शन, गीता ज्ञान, आत्म चिन्तन, भक्ती संगीत, मन्त्र साधना, ग्रह विज्ञान बिचार, धर्म विज्ञान विश्लेषण, योग शिविर, बाल विकास, मातृपितृ भक्ती, राष्ट्र चिन्तन लगायतका समाज सुधारक कार्यक्रमहरु गरिने भएको आफूसँगै आफ्ना बालबालिकाहरुलाई समागममा सहभागी गराउन बगलामुखी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष दिपक ढुँगानाले आग्रह गर्नु भएको छ । 

धार्मिक कार्यक्रममा दैनिक विहान ६ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिविर तत् पश्चात देव आराधना तथा साधना दिउँसो १२ बजेदेखि ३ बजेसम्म श्रीमद्भागवत र गिताको दार्शनिक प्रवचन, साढे ४ बजेदेखि १ घण्टा बाल बालिकाहरुको लागि जीवन रुपान्तरण शिविर, बेलुकी ८ बजेदेखि १० बजेसम्म बृहत भजन, सन्ध्या भागवत चर्चासँगै दिव्य राष्ट्रिय गित र झाँकी प्रर्दशन लगायतका विविध कार्यक्रमहरु हुने अध्यक्ष ढुँगानाले जानकारी दिनुभयो । कथाका मुख्य आर्कषक पुजनिय श्री सञ्जेल जी महाराजले प्रवचनमा सरिक भई ज्ञानामृत पान गर्न सम्पूर्णजनमा अनुरोध गर्नु भएको छ । उद्घाटन कार्यक्रम बगलामुखी मन्दिर ब्यवस्थापन समितिका सचिव दुर्गा आचार्यले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments