बढैयातालको मयुर खेलमैदान स्तरोन्नति गर्न पूर्व मन्त्री गौतमले १ करोड दिने
दलबहादुर सुनार, ३ वैशाख, बढैयाताल (बर्दिया) । बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद, नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पूर्व सिंचाई मन्त्री सञ्जय कुमार गौतमले मयुर युवा क्लबको खेलमैदान स्तरोन्नतिको लागि एक करोड रुपैयाँ बजेटको व्यवस्था गर्ने घोषणा गरेका छन् । छैठौं पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधनगर्दै प्रमुख अतिथि गौतमले ट्रफीको अनावरण समेत गरेका छन् ।
युवाहरूलाई देशको भविष्यको कर्णधार भन्दै उहाँले भन्नुभयो, “यहाँका युवाहरूको उत्साह, लगनशीलता र प्रयासले मेरो मन छोएको छ । तपाईंहरू ढुक्क हुनुहोस्, मयुर युवा क्लबको खेलमैदान स्तरोन्नतिको प्रक्रिया सरकारी स्तरबाट अगाडि बढाइसकेको छु । यदि त्यो सम्भव भएन भने म मेरो क्षेत्रीय सांसद विकास कोषमार्फत एक करोड दिने प्रतिवद्धता जनाउँछु ।” मयुर युवा क्लब, बढैयाताल–८ को आयोजना र गाउँपालिकाको संरक्षकत्वमा प्रतियोगिता शुरु भएको हो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् नेता गौतमले मुख्य रेफ्री बिबेश गुरुङलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । “स्वास्थ्य, अनुशासन, लगनशीलता : खेलाडी उत्पादनमा हाम्रो प्रतिबद्धता“ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी, बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, वडा नं. ६, ७, ८ र ९ का अध्यक्षहरू, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अजितराज भण्डारी, मयुर युवा क्लबका पूर्वअध्यक्ष, पूर्वखेलाडी लगायत सहभागी थिए ।
प्रतियोगितामा जिल्लाका दुई गाउँपालिका र ६ नगरपालिकासहित कुल आठ पालिकाहरूको सहभागिता रहेको छ । उद्घाटन खेलमा बाँसगढीले गेरुवालाई टाइब्रेकमा ४–३ गोलले पराजित गर्दै पहिलो खेलको विजेता बनेको हो । पहिलो दिनको खेलमा बाँसगढीका खेलाडी अनोज बिक. “म्यान अफ द म्याच“ घोषित भए । उनलाई नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको क्लबका कोषाध्यक्ष शैलेन्द्र मल्लले जानकारी दिए । प्रतियोगिता बैशाख २ गतेदेखि ९ गतेसम्म नक आउट प्रणालीमा सञ्चालन हुनेछ ।
विजेता टोलीलाई नगद रू. १ लाख १ हजार १११, उपविजेतालाई रू. ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, व्यक्तिगत विधामा पनि पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष इश्वरबहादुर रानामगरको अध्यक्षतामा भएको समारोहमा वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए भने क्लबका सदस्य हिक्मत सुनारले कार्यक्रम सञ्चालन गरेका हुन् ।
Facebook Comments