• ७ जेठ २०८२, मङ्गलवार
  • १९ °C काठमाडौं
बर्दिया राष्ट्रिय निकुञ्जद्वारा करिव साढे ३ करोडको राजस्व संकलन

विन्दु चौधरी, ७ बैशाख, बर्दिया । वन्यजन्तु सप्ताहको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा निकुञ्जले आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ४६ लाख ४७ हजार ८ सय ८२ रुपैयाँ बराबरको राजस्व संकलन गरेको जानकारी गराएको छ । 

चैत मसान्तसम्म २२ हजार ३ सय ७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । जसमा ५ हजार ९ सय २४ जना विदेशी, १ हजार ५९ जना सार्क मुलुकका र १५ हजार ३२४ जना नेपाली पर्यटक छन् । निकुञ्जका रेन्जर सान्त बहादुर मगरले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार, ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा हाल ३८ वटा गैंडा, १ सय २५ वटा बाघ, १५ देखि २१ वटा घडियाल गोही, ९४ वटा बाह्रसिङगा, ९० प्रजातिका आहारजन्य वनस्पति तथा कर्णाली नदीमा डल्फिन समेत देखिने गरेका छन् । 

बर्दिया निकुञ्जमा १ सय २० भन्दा बढी जंगली हात्ती पाइने र यो हात्तीहरूको सबैभन्दा ठूलो वासस्थान समेत हो । गत वर्ष निकुञ्जतर्फ विभिन्न मुद्दामा १३ जना प्रतिवादी पक्राउ परेका छन् । तीमध्ये २ जना वन पैदावार, २ जना वन्यजन्तु सम्बन्धी र सवारी ठक्करका कारण ९ जना पक्राउ परेका थिए । निकुञ्जले सो अवधिमा १८ वटा मुद्दामा फैसला गरेको जानकारी गराइएको छ । वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण र राहत वितरण सम्बन्धी विवरण अनुसार, गत वर्ष १ हजार ५ सय ४८ वटा घटनामध्ये २ जनाको मृत्यु, ३ जना सख्त घाइते, १ जना सामान्य घाइते भएका छन् । 

पशुधनमा ९३५ वटा, अन्नबालीमा ४८७ वटा, भण्डारण अन्नबालीमा २७ वटा तथा ६२ वटा घरगोठमा क्षति भएको थियो । क्षति पु¥याएका घटनाका पीडितलाई कूल १ करोड १७ लाख ३७ हजार २ सय रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । निकुञ्जका निमित्त वरिष्ठ वन संरक्षण अधिकृत सरोजमणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्दियाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा संरक्षणको महत्व, मानव वन्यजन्तु द्वन्द्व र पर्यटनको सम्भावनाबारे समेत छलफल गरिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments