बर्दियाका १९ वटै परिक्षा केन्द्रमा शिक्षकहरुले कक्षा १२ को परिक्षा नगर्ने
पुरुषोत्तम खनाल, ९ बैशाख, बर्दिया । बर्दियाका ८ वटै पालिकाका परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुले परीक्षामा सहभागिता नजनाउने बताउनु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा तोकिएकै मितिमा गर्ने निर्णय गरेपछि आफूहरु नैतिकताले पनि परीक्षामा नबसी कुनै पनि जिम्मेवारी नलिने वताउनु भएको हो ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा विद्यालय कर्मचारीहरुको संयुक्त आन्दोलन र आम शैक्षिक हडताल चलिरहेका बेलामा आफूहरु महासंघको विरुद्धमा जान नसक्ने भन्दै परीक्षामा सहभागिता नजनाउने बताएका हुन् । बर्दिया जिल्लाको ८ वटै पालिकामा कक्षा १२ का लागि जम्मा १९ वटा परीक्षा केन्द्र तोकिएका छन् भने राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा २/२ वटा परीक्षा केन्द्र तोकिएको छ ।
गेरुवा गाउँपालिकाको परीक्षा केन्द्र एकप्रिय राठौर मावि पाताभारका प्रअ विष्णु वलीले आफुलाई आएको सबै फोनको उत्तरमा महासंघको विरुद्ध जान नसक्ने जवाफ दिएको वताउनु भयो । विगतका सहमतिमा शिक्षक कर्मचारीमाथि सरकारले ध्यान नदिएकै कारण अहिलेको अवस्था आएकाले नैतिकताले पनि परीक्षामा बस्न नमिल्ने बताउनु भयो । बारबर्दिया नगरपालिकाको परीक्षा केन्द्र पर्ने अंशुबर्मा माविका प्रअ पोमराज शर्माले महासंघको लामो आन्दोलनलाई नजर अन्दाज गरेर परीक्षा बोर्डले निर्णय गर्नु दुखद् भएको बताउनु भएको छ ।
शैक्षिक व्यवस्थापन, गुणस्तर र वृत्तिविकासका मुद्दा बोकेर सडकमा रहेका शिक्षक कर्मचारीलाई पन्छाउदै कस्तो परीक्षाको कल्पना बोर्डले गरेको होला भन्दै प्रअ शर्माले प्रतिप्रश्न गर्नु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले स्थानीय सरकारसँग समन्वय गरेर निजामति कर्मचारी परिचालन गरेर भए पनि तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको छ ।
Facebook Comments