• ७ जेठ २०८२, मङ्गलवार
  • १९ °C काठमाडौं
बर्दियामा चितुवा आतंक बढ्दै : नियन्त्रणमा समस्या

दलबहादुर सुनार, ९ बैशाक, बर्दिया । पछिल्लो केही महिना यता बर्दियामा चितुवाको आतंक बढ्दै गएको छ । विशेष गरि चितुवाको निसानामा बालबालिका पर्ने गरेका छन् । फागुन र चैत महिनामा मात्र तीन जना बालक र एक ज्येष्ठ नागरिक चितुवाको आक्रमणमा परे । दुई महिनाको बिचमा  चितुवाको आक्रणवाट एक बालकको मृत्यु भएको छ भने दुई बालक सहित पाँच जना गम्भीर घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी राम कुमार चौधरीले जानकारी दिनुभयो । 

२०८१ फागुन ३ गते साँझ करिब ८ बजे मधुवन नगरपालिका ९ धर्मवस्तीमा दुई वर्षीय  बालक रिहान चितुवाको सिकार भए । सानी आमाकहाँ पाहुनाका रुपमा पुगेका उनी कहिल्यै नफर्किने गरी चितुवाको आक्रमणमा परि अस्ताए । चैत ९ गते शनिबार मधुवन नगरपालिका ४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया नर्सरी नजिक खेलिरहेका चार वर्षीय बालकलाई साँझ करिब साढे ६ बजे आक्रमण गर्यो । स्थानीयबासीको सहयोगमा बालकलाई घाइते अवस्थामा उद्धार गर्न स्थानिय सफल भए । मधुवन नगरपालिका ४, गमक्का निवासी मुन्सिराम थारुका चार वर्षीय छोरा शुभम् थारु गम्भीर घाइते भए । 

उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल बर्दिया पुर्याइएको थियो । चैत्र २०  गते बुधवार दिउँसो करिब २ बजेको समयमा गलरिया नगरपालिका ४ इन्द्रेणी टोलका सात वर्षीय सिर्जन चौधरी चितुवाको आक्रमणमा परे । आफ्नै हजुर आमा संग मकै गोड्ने ठाउँमा गएका बालकलाई  चितुवाले लैजादै गरेको देखेपछि हजुर आमाले चितुवाको मुखबाघ नातीलाई खोसिन् । बालकको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेकाले उनलाई बर्दिया अस्पताल, गुलरिया पुर्याइएको थियो । गुलरियामा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित नर्सिङ होममा रेफर गरिएको थियो । 

यहि चैत २७ गते गुलरिया नगर पालिका ४ ईन्द्रेणी टोलका ६५ बर्षिय विकुलाल थारुलाई आफ्नै बारीमा गहु काट्दै गरेको अवस्थामा बेलुकी साढे ५ बजेको समयमा चितुवाले आक्रमण गरेको बर्दिया प्रहरीले जनाएको छ  । आक्रमण वाट सामान्य घाइते भएका थारुको बर्दिया अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो । 

वैशाक महिनामा बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिकामा एक÷एक जना महिलालाई चितुवाले आक्रमण गरेको छ । चितुवाको लगातारको आक्रमणका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् । वन तथा वातावरण संरक्षणका निकायहरूले चितुवाको आतंक नियन्त्रण गर्न आवश्यक उपायहरू अवलम्बन गर्न स्थानीय नागरीकले माग गरेका छन् । बन्यजन्तु नियन्त्रणको लागि डिभिजन वन कार्यालय बर्दियासँग कुनैपनि योजना नरहेको बुझिएको छ । पछिल्लो समय निकुञ्ज क्षेत्रमा बन्यजन्तुले आक्रमण गर्ने क्रम न्युन हुन थालेको पाईन्छ ।

सम्बन्धित समाचार

Facebook Comments