• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
बाल विवाह 'नारी र बाल बालिकाको अधिकार माथीको उल्लंघन हो' : नगरप्रमुख भाट

मुरली गोडिया, २८ बैशाख, बर्दिया । मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाटले बालविवाह नारी र बालबालिकाको अधिकार माथिको उल्लङ्घन भएको बताउनु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ६ लाई ‘बालविवाह मुक्त वडा’ घोषणा कार्यक्रमलाई सम्बोधनगर्दै नगरप्रमुख भाटले बालविवाह, लागुऔषध, घरेलु हिंसा लगायत कुरितिहरुको अन्त्य गर्नुपर्ने बताउनु भयो ।  

मधुवनको वडा नं ४ र ८ यस अघि नै वालविवाह मुक्त वडा घोषणा भै सकेको बताउँदै उहाँले नगरका सबै वडाहरूले सिकोगर्दै वालविवाह र लागुऔषधको सेवन एवं कारोबारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । बालविवाह सम्बन्धि कार्यक्रम संचालन गरि आगामी तीन वर्षमा बाल विवाह शुन्यमा झार्ने र बि.स.२०८५ सम्म सबै वडालाई बालविवाह  मुक्त नगरपालिका घोषणा गर्ने नगरप्रमुख भाटको प्रतिवद्धता छ । घोषणा कार्यक्रममा ९ वटै वडाको प्रतिनिधित्वगर्दै वडा नं. ५ का वडा अध्यक्ष दिलीप गुरुङ्गले वडामा समुदायको सक्रिय सहयोग र जनचेतनाका माध्यमबाट बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको बताउनु भएको छ । 

घोषणा कार्यक्रमका लागि समाजका बालबालिका, विद्यार्थी, महिला स्वास्थ्य स्वंयमसेविका, नागरिक समाज लगायतको भुमिका अहम रहेको बताउनु भयो । वडा घोषणा मात्र नभई कार्यन्वयको पक्षलाई थप ध्यान दिन आवश्यक रहेको वहाँले जोड दिनुभयो । बाल विवाहमुक्त वडा बनाउन सहयोग गर्ने सरोकारवाला निकाय तथा साझेदार संस्थाहरुलई उहााले धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लवका उप–निर्देशक गोबिन्द प्रसाद लामिछानेले बालविवाह मुक्त वडा घोषणा संगै यसको कार्यान्वयन र फलोअपका विभिन्न कार्यक्रम संचालनका लागि नगरप्रमुखलाई आग्रह गर्नु भयो ।

बाँकी रहेका वडाहरुमा पनि बालविवाह सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरि बालविवाह मुक्त  वडा घोषणा कार्यक्रमलाई निरन्तरता लामीछानेले उद्घोष गर्नुभयो । मधुवन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष चद्रसिह गुरुङको अध्यक्षतामा गरिएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधी, प्रहरी, नागरिक समाज, संघसंस्थाका प्रतिनिधी, विद्यालयका शिक्षक विद्यार्थी अभिभावक तथा स्थानियको सहभागीता थियो । मधुवन नगरपालिका बालविवाह न्युनिकरण कार्यविधी २०७७ अनुसार १५% भन्दा कम भएका वडाहरुलाई बालविवाह मुक्त वडा घोषणा गर्न सकिने प्रावधान अनुसार वडाको बालविवाह दर १३% प्रतिशतमा रहेकोले बाल विवाह मुक्त वडा घोषणा गरीएको हो । 

बालविवाह न्युनिकरणमा विभिन्न कार्यक्रम मार्फत कार्यक्रम संचालन गरी सहयोग र उच्च योगदान पुराउने बाँके युनेस्को क्लव, बि. ग्रुप., प्लान नेपाल, महिला स्वास्थ्य स्वयमसेविका, किशोरी क्लव, अगुवा, बडघर, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, दलित महिला संघ, विभिन्न साँस्कृतिक समूहलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियोे । प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव र बि.ग्रुप. को आर्थिक तथा प्राविधिक सहयोग र समन्वयमा वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । 

सम्बन्धित समाचार

Facebook Comments