• २६ जेठ २०८३, मङ्गलवार
  • २४ °C काठमाडौं
नेपाल राष्ट्रिय आवि राजापुरको भवन उद्घाटन

केशव कोईराला, २१ जेठ, राजापुर (बर्दिया) । राजापुर नगरपालिका–३ टेडियामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको नवनिर्मित दुई कोठे भवन बुधवार विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले राजापुर क्षेत्रमा शिक्षाको गुणस्तरमा विगतको तुलनामा उल्लेखनीय सुधार भइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षाको स्तर उकास्न अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो । 

उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत राजापुर नगरपालिकाको सहयोगमा ३३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र ठाकुरले जानकारी दिनुभयो । ठाकुरका अनुसार भवन निर्माणले पठनपाठनमा थप सहजता र सान्दर्भिकता ल्याउने विश्वास गरिएको छ । उद्घाटन समारोहको अवसरमा विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरूलाई बिदाइ तथा सम्मान समेत गरिएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लौटन थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेत, वडा नम्बर ३ का अध्यक्ष प्रसादु थारु, पूर्व प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शिक्षा क्षेत्रको विकासमा यस्ता पूर्वाधारले महत्वपूर्ण योगदान दिने अपेक्षा स्थानीय समुदायले व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments