• ७ वैशाख २०८३, सोमवार
  • १९ °C काठमाडौं
बाँसगढी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

विन्दु चौधरी, २५ जेठ, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाले चालु आर्थिक वर्ष ०८१÷८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । नगरपालिकाको आयोजना र रेडियो गुर्वावा एफएमको सहजीकरणमा आयोजित कार्यक्रमा सेवा प्रवाहको प्रभावकारिता र विकास निर्माणको गुणस्तरबारे समिक्षा तथा सवाल जवाफ भएको छ । 

कार्यक्रममा सहजीकरणको भुमिकामा रहेको रेडियो गुर्वावा एफएमका स्टेशन म्यानेजर पुष्पा चौधरीले ४९ जनासँग लिएको नागरिक प्रतिवेदन र ५१ जनाबाट लिएको वहिगर्मन अभिमतको नतिजा प्रस्तुत गर्नुभएको थियोे । सार्वजनिक सुनुवाइमा सहभागीहरुले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, फोहोर व्यवस्थापन, रोजगारी, सामाजिक सुरक्षा, युवामैत्री कार्यक्रम लगायत विभिन्न विषयमा प्रश्न, सुझाव र गुनासो राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ विषयगत शाखाका प्रमुख जनप्रतिनिधिहरुले समेत दिनुभएको थियो । 

नगरप्रमुख खड्क बहादुर खड्काले सबै प्रश्नको जवाफ दिदैँ जनताको सुझावलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तय गर्ने बताउनुभयो । उहाँले “म बनाउँछु मेरो विद्यालय“ अभियानअन्तर्गत गुणस्तरीय शिक्षाका लागि पञ्चवर्षीय सुधार योजना बनाइएको बताउनभयो । विद्यार्र्थीहरूको सर्वाङ्गिण विकासका लागि नगरस्तरीय अतिरिक्त क्रियाकलाप, युवा संसद अभ्यास, खेलकुद प्रतियोगिता, र क्लब गठन जस्ता कार्यक्रम सञ्चालनमा छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाँसगढी नगरपालिका जिल्लामा दोस्रो भएको उल्लेख गरिएको छ । 

त्यसैगरी विपन्न, अपाङ्गता भएका, दलित, मुक्तकमैया, भूमिहीन र असहाय बालबालिकालाई लक्षित गर्दै छात्रवृत्ति सहयोग गरिएको छ । नगर प्रमुख खड्काले ‘सपना साकार बनाउने साथ, सहयोग र सहकार्यको’ भावनासहित सार्वजनिक सुनुवाइको आयोजना गरेकोले पारदर्शिता र जवाफदेहिताका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । कार्यक्रममा योजना शाखा प्रमुख खड्ग बहादुर वलीले नगरपालिकाको बजेट विनियोजन तथा कार्यसम्पादन सामाजिक, आर्थिक, पूर्वाधार, सुशासन र वातावरणजन्य क्षेत्रमा सन्तुलित ढंगले भइरहेको जानकारी दिनुभयो । 

उहाँले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा गरेका प्रमुख काम, सेवा प्रवाह, विकास निर्माणका गतिविधि, बजेटको खर्च विवरण तथा प्रगति विवरण प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म नगरपालिकाले करिब ८६ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ भने सो मध्ये ७० प्रतिशत खर्च भएको छ । योजना शाखा प्रमुख खड्ग बहादुर वलीका अनुसार सबैभन्दा बढी रकम सङ्घीय सशर्त अनुदानबाट प्राप्त भएको छ, जसको ७८ प्रतिशतभन्दा बढी खर्च भइसकेको छ । आन्तरिक स्रोतबाट संकलित २ करोड ४३ लाखमध्ये ९३ दशमलव ५५ प्रतिशत खर्च भएको छ । हालसम्म नगरको बेरुजु २३ करोडभन्दा बढी रहेको छ । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत विवरणअनुसार खर्च अनुशासनमा नगरपालिका सन्तोषजनक देखिएको छ । नगरपालिकाले एक वडा एक गौरवको आयोजना कार्यक्रमको सुरुवात गरिएको छ । चालु वर्षमा एक सय ८८ वटा योजनाका काम कार्यान्वयन भएका छन् । जसमध्ये नगरपालिका स्तरिय ५० वटा र वडा स्तरीय १ सय ३८ वटा रहेका छन् । त्यसैगरी नगरपालिकामा चालु वर्षमा ५ सय ३३ पुरुष र ५ सय ४२ महिला गरी जम्मा एक हजार ७५ जनाको जन्मदर्ता भएको छ, भने २०८ पुरुष र १६१ महिला गरी ३६९ जनाको मृत्युदर्ता, ६४ जनाको सम्बन्ध विच्छेद, ५३५ जनाको विवाहदर्ता भएको छ । 

त्यस्तै १ सय ३४ जनाले बसाई सरी आएको र १ सय ३ जनाले बसाई सरी अन्त गएका छन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलीले सार्वजनिक सुनुवाईको उदेश्यले बारेमा जानकारी गराउदै कार्यक्रमले नागरिक र स्थानीय सरकारविचको विश्वास अभिबृद्धि गर्दै जवाफदेही शासन प्रणालीलाई सशक्त बनाउन मद्धत गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments