• २२ वैशाख २०८३, मङ्गलवार
  • २३ °C काठमाडौं
बर्दियाका भूमिहिनहरुद्वारा सुकुम्बासी हटाउने निर्णयको बिरोध 

बिष्णु अधिकारी, २१ वैशाख, बर्दिया । बर्दियाका भूमिहिन, सुकुम्बासीहरुले सोमबार बर्दियाको सदरमुकाम गुलरियामा विशाल प्रदर्शन गरेका छन् ।  बर्दियाका गुलरिया लगायत अन्य पालिकाबाट आएका भूमिहिन अव्यवस्थित सुकुम्बासीहरुले मन्त्री परिषद्को बैठकबाट भएको सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयको विरोध गरेका छन् ।

सरकारले अतिक्रमित क्षेत्र खाली गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडी सरकार विरुद्ध नाराबाजी गर्दै ज्ञापन पत्र मार्फत सुकुम्बासी बस्ती हटाउने निर्णय फिर्ता लिन बर्दिया प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्री समक्ष जोडदार माग गरेका छन् । प्रदर्शनमा सहभागी भूमिहिन सुकुम्बासीहरुले सरकारले सुकुम्बासीलाई उठिबास लगाउने नभई व्यवस्थापन गर्न माग राखेका छन् । बर्दियामा बन कार्यालयले बनक्षेत्रमा बसोबास गरेका मुक्त कमैया सुकुम्बासीलाई घर टहरा हटाउनको लागि दिएको १५ दिने सूचना अबिलम्ब खारेजीको माग राखेका छन् ।

मुक्तकमैया भूमिहिन सुकुम्बासी अगुवा बल बहादुर परियारले छानविनको लागि नेपाली सेना र गृह मन्त्रालयलाई सरकारले दिएको निर्देशन प्रति आपत्ति जनाउदै यसको छानविन भूमि आयोगबाट नै हुनुपर्ने प्रर्दशनकारी हरुको माग रहेको बताए । सरकारले आफुहरुलाई व्यवस्थित गर्न तर्फ नलागेर बर्षातको समयमा घरबार विहिन बनाउन खोजेको परियारको आरोप छ । बर्दियाको संगमबस्ती लगाएत विभिन्न क्षेत्रमा २०५७ साल देखि भूमिहिन सुकुम्बासीहरु बस्दै आइ रहेका छन् ।

बर्दियामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको ४४ हजार भन्दा बढिको आयोगमा निवेदन परेको तथ्याङ्क रहेको छ । भूमिहिन सुकुम्बासीहरु रहरले आन्दोलनमा आएको नभई सरकारले नै सडक आउन बाध्य बनाएको अर्का भूमिहिन सुकुम्बासी अगुवा होम बहादुर थारुले बताएका छन् । सरकारले भूमिहिन सुकुम्बासीहरुको माग पुरा नभए सम्म आन्दोलन मार्फत आफ्नो मागहरु पुरा गराएर छाड्ने उद्घोष गरेका छन् ।

 

सम्बन्धित समाचार

Facebook Comments