युवाहरूको सपना 'सिंहदरबारबाट लिलाम भैरहेकोछ'
हरि प्याकुरेल (सी), २७ जेठ, बर्दिया । मानव सभ्यता अनेकौं उतार चढाव र संघर्षहरूको बिचबाट अघि बढ्दै आएको इतिहास हो । ढुङ्गे युगदेखि लिएर दास युग, सामन्ती युग हुँदै अहिलेको पूँजीवादी युगसम्म आइपुग्दा समाजमा थुप्रै परिवर्तनहरू भएका छन् । यद्यपि अझै पनि समाजलाई समानतामूलक बनाउने र एकीकृत दिशामा डोर्याउने कार्य अधुरै छ ।
आज, कोही मंगल ग्रहसम्म पुगिसकेका छन् । कोही अन्तरिक्षको यात्रा गरिरहेका छन् । कोही हेलिकोप्टर र जहाजमा चढेर संसार घुमिरहेका छन् भने कोही महँगो गाडी र मोटरसाइकलमा जीवनको यात्रा गरिरहेका छन् । तर त्यहीं अर्को कोटीका मानिसहरू यस्ता पनि छन् जसलाई दैनिक सार्वजनिक सवारी चढ्ने सुविधा समेत उपलब्ध छैन । मानव समाजमा रहेको यो गहिरो वर्गभेद र असमानता वर्ग संघर्षको मूल कारण हो । जबसम्म समाजले सबैलाई समान अधिकार, अवसर र सम्मान दिने अवस्था सिर्जना गर्दैन, तबसम्म यो संघर्ष जारी रहनेछ ।
समाजको गति र गन्तव्य एक हुनुपर्छ, अन्यथा कुनै वर्गको उन्नति अर्को वर्गका लागि शोषणको माध्यम बन्छ । त्यसैले आजको आवश्यकता भनेको वर्गीय चेतनाको आधारमा समाज रूपान्तरण गर्ने, वैज्ञानिक समाजवादको दिशामा अग्रसर हुने र मानव जीवनको गरिमा सुनिश्चित गर्ने हो । आजको यो कथित आधुनिक युगमा पनि, चाहे महामारी होस । चाहे कोरोना भाइरस । जनता मर्न बाध्य छन् किन ? किनभने उनीहरूसँग उपचारको पहुँच छैन । स्वास्थ्य एक सेवा हुनुपर्नेमा अहिले व्यापार बनिसकेको छ । गरीबलाई अस्पतालको ढोका छिर्ने अधिकार छैन । औषधि किन्ने सामथ्र्य छैन र जीवनको रक्षा गर्ने सञ्जाल राज्यले जनताका लागि होइन, पुँजिपती बर्गका लागि मात्र खडा गरेको छ ।
यस्तै शिक्षा जसले समाज रूपान्तरण गर्ने र चेतनाको विकास गर्ने काम गर्नुपर्ने हो त्यो पनि व्यापारिक बस्तु झैँ बेचिएको छ । निजी विद्यालय, विश्वविद्यालय र विदेशी डिग्रीहरू केही निश्चित वर्गको पहुँचमा छन् । बाँकी वर्गलाई भने ‘श्रम गरेर छाक टार्ने अवस्था छैन । रोजगार, त्यो त झनै चरम नियन्त्रणमा छ । सत्ताधारी वर्ग, दलाल पुँजीपति र शक्तिशाली नातावादीहरूका छोराछोरीले विदेशमा जागिर खान्छन् । मुलुकभित्रै ठूला पदहरू ओगट्छन्, जबकि लाखौं युवाहरू विदेश जान बाध्य छन् । सस्तो श्रमिक भएर, विदेशी भूमिमा रगत बगाउँदै आफ्नो जीवन गुमाउनु पर्ने बाध्यता छ । राज्य भने मौन छ । किनकि यसको सञ्चालन गर्ने हातहरू जनताको होइन, शोषक वर्गका हुन् ।
स्वास्थ्य, शिक्षा र रोजगार यी तीनवटै कुरा जनताको आधारभूत अधिकार हुन् । तर आज ती अधिकारहरू सेवा होइन, शक्ति र सम्पत्तिको हतियार बनेका छन् । जुनसुकै पार्टी सत्तामा आए पनि जनताका लागि होइन, पुँजीपति वर्गको हितमा नीति बनाउने परिपाटीमा चलिरहेको छ । अब प्रश्न उठ्छ, कहिलेसम्म जनताले यसरी मर्नुपर्ने ? कहिलेसम्म जनताले रोग, बेरोजगारी र अशिक्षाका कारण आत्महत्या गर्नुपर्ने ? हिजोका राजा–महाराजाहरू जनतालाई ‘प्रजा’ सम्झन्थे । आफूलाई देवता ठान्थे । जनताको पसिना चुसेर ऐस–आराममा बस्थे । आज तिनै राजा–महाराजाका छोराछोरीहरू को कहाँ छन् ? कोही गजेडी बनेका छन्, कोही लागुऔषध तस्कर । उनीहरूका महलहरू भित्र भ्रष्टाचारको दुर्गन्ध छ, विदेशी मिशनहरूको दलाली छ, र जनताको रगत बेचेर कमाएको सम्पत्तिको मस्ती छ ।
अझ भयावह त के छ भने, आजका कथित ‘लोकतान्त्रिक’ नेताहरूका छोराछोरीहरू पनि उस्तै छन् । कोही सुन तस्करीमा मुछिएका छन् । कोही मानव तस्करको रूपमा समातिएका छन् । कोही विदेशमा ठूला कम्पनीको एजेन्ट बनेर देशको आत्मा बेचिरहेका छन् । जनताको नाममा राजनीति गरेर, आफ्ना छोरा छोरीहरूलाई विलासिताको जीवन दिनु भनेको क्रान्तिको घोर अपमान हो । हामीले इतिहासमा सुनेका थियौं दास बजारको कथा । जहाँ युवाहरू, श्रमिकहरू, निर्दोष जनतालाई खरिदबिक्री गरिन्थ्यो । मालिकहरू तिनको रगतको सिको गरेर विलासिता गर्थे । त्यो त विगतको अमानवीयता थियो । तर, हाम्रा आँखा अगाडि आज फेरि उही दृष्य दोहोरिएको छ ।
भेष फेरिएको छ, तर शोषण उस्तै छ । आजका युवाहरूको सपना सिँहदरबारबाटै लिलाम भैरहेको छ । भुटानी शरणार्थी प्रकरण केवल एउटा घटना होइन त्यो सत्ता र दलालको मिलेमतोमा राष्ट्रकै छातीमा गरिएको प्रहार हो । भिजिट भिसा, ईडीभी, गोल्डेन भिसा, वर्क पर्मिट यी नाम, यी कागजहरू हाम्रा युवाहरूलाई आधुनिक दास बनाउने नयां जन्जीर हुन् । यसरी अवैधानिक तरिकाले बिदेसिएका कतिका छोराहरू समुद्र पार गरेर हराए । कतिका बाबुहरू जेलमा छन् । कतिपयलाई अमेरिकी सुरक्षाकर्मीले च्याङले बाँधेर फर्कायो । के यही हो हाम्रो स्वाभिमान ? के यही हो गणतन्त्रको उपलब्धि ? वास्तवमा, आजको कथित गणतन्त्र जनताको होइन सत्ताधारी वर्ग, दलाल पुँजीपति र विदेशि शक्ति केन्द्रको गणतन्त्र बनेको छ ।
जनताको प्रतिनिधित्वको नाममा स्थापित यो संरचना सर्वसाधारणको जीवनमा कुनै पनि किसिमको मौलिक परिवर्तन ल्याउन असफल भएको छ । विशेषतः मध्यम वर्ग, जुन समाजको मेरुदण्ड हो, अहिलेको व्यवस्थामा सबैभन्दा गहिरो संकटमा छ । तल्लो वर्गले शोषणलाई नियति ठानेको छ, उच्च वर्ग विलासितामा लिप्त छ, तर मध्यम वर्ग दवाब, भ्रम र असुरक्षाको बीचमा बाचिरहेको छ । यस परिस्थितिमा, केवल नाराले होइन एकीकृत जनक्रान्ति मार्फत जनताले विद्रोहको बाटो रोज्नुपर्ने ऐतिहासिक घडी आएको छ ।
विद्यमान दलाल पुँजीवादी राज्य संरचनाको अन्त्य नगरी जनताको समाजवादी राज्य ब्यवस्थाको स्थापना सम्भव छैन । यस्तो राज्य जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षा जस्ता आधारभूत अधिकारहरूको ग्यारेन्टी राज्यले गर्छ, र नीति निर्माणको मूल केन्द्रमा जनताको हैकम रहन्छ । त्यसका लागि, समाजलाई आत्मनिर्भर बनाउने दिशामा उत्पादन शक्तिको वृद्धिमा जोड दिनुपर्छ । तराई, पहाड र हिमालका बाँझिएको जमिनहरू हराभरा बनाउन, सहकारी, सामूहिक र वैज्ञानिक कृषि प्रणाली लागू गर्न जरुरी छ । उत्पादन, रोजगारी र न्यायको सँगै सुनिश्चितताले मात्र समाजमा वास्तविक परिवर्तन सम्भव हुन्छ ।
(प्याकुरेल नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट विद्यार्थी संगठन (समाजवादी) का केन्द्रिय सदस्य तथा बाँके, बर्दिया जिल्ला ईन्चार्ज हुनुहुन्छ ।)
२१ °C काठमाडौं
Facebook Comments