• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
नेकपा एकिकृत समाजवादी बर्दियाको अध्यक्षमा खड्का सर्बसम्मत

चुरेकुञ्ज, २ असार, बर्दिया । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बर्दियाको अध्यक्षमा बखत बहादुर खड्का चयन भएका छन् । बिहिबार सम्पन्न पार्टीको ९ औं अधिवेशनले खड्कासहित ४५ सदस्यीय जिल्ला कमिटि सर्बसम्मत चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा बमबहादुर रावल र प्रतापकुमार गौतम सचिव इन्द्रबहादुर रावल, उपसचिवहरु अग्नी अर्याल, दानबहादुर बुढा र गंगा चालिसे चयन भएका छन् । एकिकृत समाजवादीको विधानअनुसार ६७ सदस्यीय जिल्ला कार्य कमिटि रहने प्रावधान भएकाले पार्टीमा समाहित हुनेहरुलाई समावेश गर्नुपर्ने भएकाले २२ जना सदस्य पछि छनोट गर्नेगरी सुरक्षित राखिएको पार्टीका उपाध्यक्ष प्रतापकुमार गौतमले जानकारी दिए ।

नेकपा एसका केन्द्रिय उपाध्यक्ष एवम् पूर्वमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको दुई दिने अधिवेशनले जिल्लाका विकास निर्माणसँगै सांगठनिक लगायतका १३ वटा प्रस्ताव पास गरेको गौतमले बताए । त्यस्तै निवर्तमान अध्यक्ष प्रेमप्रसाद पोखरेलले कमिटिको बन्द शत्रमा पेश गरेको राजनितिक, साँगठनिक तथा आर्थिक प्रतिवेदन लगायत प्रतिनिधिहरुका लिखित मौखिक सुझावहरु छलफल पश्चात प्रतिवेदनमा समेट्ने गरी पास गरिएको उपाध्यक्ष गौतमको भनाई छ ।

एकिकृत समाजवादी बर्दियाको नवौ जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलको तर्फबाट प्रस्तुत गरिएको समसामयिक प्रस्ताव :

१) संविधान सभाद्धारा निर्मित नेपालको संविधान २०७२ को समाजवाद उन्मुख प्रावधान, गणतंत्र, धर्मनिरपेक्षता, समावेशीता र संघीयताको पक्षमा यो अधिवेशन दृढता व्यक्त गर्दछ ।
२) राजतंत्र फर्काउने वा जनताका अधिकार मासेर लोकतंत्र खोस्ने, विधिको शासन उल्लंघन गर्ने, जनतामा निहित सार्वभौमसत्ता निचोर्ने दक्षिणपन्थी, फासिवादी षडयन्त्रविरूद्ध यो अधिवेशन खबरदारी गर्दछ ।

३)पुँजीवादी व्यवस्थाले थोपरेको महंगी, भ्रष्टाचार, कुशासन र बेरोजगारीविरुद्ध ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुल नारावरिपरि नेपाली जनता र श्रमजीवि वर्गलाई आन्दोलित हुन यो अधिवेशन आह्वान गर्दछ ।

४) लोकतान्त्रिक गणतन्त्रलाई सीमित पुँजीपतिको पक्षमा दुरुपयोग गर्ने प्रयत्नहरुको विरुद्ध, दलाल पुँजीपति वर्गले राज्य सञ्चालकलाई कब्जामा लिएर राज्यको स्रोत दोहन गरि चलाइरहेका लुटतंत्रविरुद्ध यो अधिवेशन खबरदारी गर्दछ । विकास निर्माणका नाममा पुंजिपतिको इच्छामा विकास थोपर्ने प्रयत्नको यो बैठक विरोध प्रकट गर्दछ । ताप्लेजुङको केवलकार निर्माणका नाममा गरिएका दमन र चलखेलप्रति खेद प्रकट गर्दछ ।

५) राष्ट्रिय तथा प्रादेशिक आयोजनाहरु मजदुर, किसान र आम श्रमिक वर्गको हितमा निर्माण गर्न, त्यसलाई समयमै सम्पन्न गर्न यो अधिवेशन माग गर्दछ । राष्ट्रिय पूँजीको विकासका लागि आवश्यक पर्यटन, उद्योग, कृषि लगायतका पूर्वाधार निर्माणका लागि यथोचित कार्यक्रम अगाडि सार्न यो अधिवेशन माग गर्दछ ।

६) गरीबहरुमाथि थोपरिएको ऋण र व्याजको भारका ज्यादतीको विपक्षमा, गरीबीको अपराधिकरणको विपक्षमा यो अधिवेशन खबरदारी गर्दछ । अनुत्पादक क्षेत्रमा लगानी गरेर नाफाको उडान भर्ने तर राष्ट्रिय कलकाराखाना र उत्पादन भने कमजोर बनाउने बैकिंग नीतिमा पुनर्विचार गरि राष्ट्रिय पुंजी बढाउन उत्पादनका क्षेत्रमा लगानी बढाउने बैंकिग नीति अबिलम्ब बनाउन यो अधिवेशन जोडदार माग गर्दछ ।

७) यो अधिवेशन कृषिमा लगानी बढाउने, हरेक किसानको सानोभन्दा सानो उत्पादन राज्यले विक्रिको ग्यारेण्टी गर्ने प्रणाली सुनिश्चित गर्न माग गर्दछ । 

८) निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य र रोजगारीको पक्षमा उभिँदै, स्वास्थ्य र शिक्षामा सार्वजनिक लगानी बढाउने, सार्वजनिक सेवाहरुलाई सर्वसुलभ र सक्षम बनाउने नीति निर्माण र कार्यान्वयनका लागि यो अधिवेशन माग गर्दछ ।

९) सहकारी ठगी, मिटरब्याजजस्ता जनतामाथि लादिएका वित्तीय अपराधको भण्डाफोर गर्दै, पिडितहरुको न्यायको पक्षमा यो अधिवेशन ऐक्यबद्धता जाहेर गर्दछ ।

१०) मजदुर आन्दोलन, चालु शिक्षक आन्दोलन, महिला र दलीत समुदायको न्यायप्रेमी आन्दोलनप्रति यो अधिवेशन ऐक्यबद्धता प्रकट गर्दै, यथाशिघ्र न्यायका मागहरू सम्बोधन गर्न यो अधिबेशन माग गर्दछ ।

११) सर्वसुलभ र सुरक्षित आवास, व्यवस्थित वसोवास र सहज जनजीवन तथा जनजीविकाको पक्षमा, कुरिति, कुसंस्कार, अवैज्ञानिक र विभेदकारी सामाजिक अभ्यास र मान्यताका विरुद्ध वैज्ञानिक, मर्यादित जीवनयापनका पक्षमा यो अधिवेशन दृढता व्यक्त गर्दछ ।

१२) शान्ति सुव्यवस्था कायम गर्न मात्र हैन देशलाई सहि दिशानिर्देश गर्न सरकार असक्षम देखिएको यो अधिवेशनको ठहर छ । कथित राजावादीको नाममा जनधनको क्षति गर्ने, पत्रकारलाई ज्युंदै जल्ने जस्तो आततायी घटना हुने, भाटभटेनी लगायतका सुपरमार्केट र पसल लुटपाट गर्ने, हाम्रो पार्टीको केन्द्रीय कार्यालय तोडफोड, लुटपाट र आगजनी गर्ने, हाम्रो अध्यक्ष क। माधव नेपालको घरमा समेत तोडफोडको प्रयास गरेको प्रति यो अधिवेशन खेद र निन्दा प्रकट गर्दछ । यस्ता घटनामा सरकारको उदासिनता, अपर्याप्त तयारीप्रति रोष प्रकट गर्दछ ।

१३) बर्तमान सरकारले राजनितिक बदलाको भावनाबाट प्रेरित रहि हाम्रो पार्टीका बिरूद्द बिगत देखि नै षड्यन्त्रहरू गर्दै आएको कुरा बिभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्बजनिक गर्दै आएका थियौ । हाम्रो पार्टी अध्यक्ष कमरेड माधब नेपाल बिरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ। यो हाम्रो बिरूद्द षड्यन्त्रको अर्को घटना हो भन्ने हाम्रो ठहर रहेको छ । त्यस्तो कुनै पनि षड्यन्त्रको प्रतिबाद गर्न पार्टी पंति मा अपिल गर्दछौ ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बर्दियाको अध्यक्षमा बखत बहादुर खड्का चयन हुनु भएको छ । बिहिबार सम्पन्न पार्टीको ९ औं अधिवेशनले खड्कासहित ४५ सदस्यीय जिल्ला कमिटि सर्बसम्मत चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा बमबहादुर रावल र प्रतापकुमार गौतम सचिव इन्द्रबहादुर रावल, उपसचिवहरु अग्नी अर्याल, दानबहादुर बुढा र गंगा चालिसे चयन हुनु भएको छ ।  

एकिकृत समाजवादीको विधान अनुसार ६७ सदस्यीय जिल्ला कार्य कमिटि रहने प्रावधान रहेकोले पार्टीमा समाहित हुनेहरुलाई समावेश गर्नुपर्ने भएकाले २२ जना सदस्य पछि छनोट गर्नेगरी सुरक्षित राखिएको पार्टीका उपाध्यक्ष प्रतापकुमार गौतमले जानकारी दिनु भएको छ । अधिवेशनले पार्टीका प्रतिवेदन पारितगर्दै १३ बुँदे समसामयिक प्रस्ताव समेत पास गरेको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments