• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
बर्दियामा र्कफ्यु : जनजीवन पूर्ण रुपमा प्रभावित

केशव कोईराला, २६ भदौ, बर्दिया । जेनजी आन्दोलनपछि उत्पन्न असुरक्षित अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले लगाएको र्कफ्यु आदेश दोस्रो दिन पनि निरन्तर जारी छ । कफ्यु जारी रहँदा जिल्लाभरको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ ।

र्कफ्युका कारण सदरमुकाम गुलरिया सहित जिल्ला स्थित सबै पालिकाका मुख्य बजारहरू बन्द छन् । उद्योग, कलकारखाना, पसल तथा व्यवसाय ठप्प छन् । सार्वजनिक तथा निजी यातायात साधन पूर्ण रूपमा सञ्चालनमा रोक लगाइएको छ । विद्यालय र क्याम्पसहरू समेत बन्द भएपछि विद्यार्थीहरुको पढाइ समेत प्रभावित भएको छ ।
सुरक्षा व्यवस्थालाई कडा बनाउन जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जिल्लाका विभिन्न चोक, बजार र संवेदनशील क्षेत्रहरूमा कडा सुरक्षा पहरा दिइरहेका छन् ।

सुरक्षाकर्मीहरू निरन्तर गस्तीमा खटाइएका छन् । आवश्यक परे बल प्रयोग गर्ने चेतावनी समेत प्रशासनले दिएको छ ।
कफ्युको कारण स्थानिय पालिकाहरूको नियमित सेवा प्रवाह पनि रोकिएको छ । नागरिकहरूले जन्मदर्ता, बिवाह दर्ता, सिफारिसजस्ता कामका लागि सेवा लिन पाएका छैनन् । अत्यावश्यक सेवामा मात्र अनुमतिले नागरिकलाई सशर्त छुट दिइएको छ । सामान्य नागरिकलाई घर बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ । स्थानीय बासिन्दाहरूले र्कफ्युका कारण दैनिक जीवन कष्टकर बनेको बताएका छन् । 

बजार बन्द हुँदा दैनिक उपभोग्य सामग्री लिन समस्या भएको र यातायात बन्द हुँदा आवतजावतमा कठिनाइ भएको उनीहरूले गुनासो गरेका छन् । जिल्ला प्रशासनले भने अवस्था पूर्ण रूपमा सामान्य नहुँदासम्म र्कफ्यु आदेश नहटाइने अवस्था नरहेको जनाएको छ । प्रशासनले सर्वसाधारणलाई शान्ति र सुरक्षामा सहयोग गर्न आग्रह गर्दै अफवाहमा नलाग्न र आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments