बर्दियाको र्कफ्युमा आंशिक परिवर्तनपछि जनजीवनमा केही राहत महशुस
केशव कोईराला, २७, बर्दिया । जेनजी आन्दोलनपछि जारी कफ्र्यु आदेशमा आंशिक परिवर्तन गरिएको छ । जिल्लामा उत्पन्न असुरक्षित अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले कफ्र्यु आदेशलाई परिमार्जन गर्दै बिहान र दिउँसोको समयमा निषेधाज्ञा र बेलुकीदेखि रातिसम्म कफ्र्यु कायम गर्ने निर्णय गरेको हो ।
प्रशासनले जारी गरेको सूचना अनुसार बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बाँकी समयमा पूर्ण कफ्र्यु लागू हुनेछ । तेस्रो दिनदेखि गरिएको यस परिमार्जनले जनजीवन केही सहज भएको छ । जिल्लाका बजारहरू आंशिक रूपमा खुल्न थालेका छन् । छिटफुट रूपमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका छन् । यसले गन्तव्यमा जान रोकिएका यात्रुहरूलाई राहत महसुस भएको छ । तर, विद्यालय र क्याम्पसहरू भने निरन्तर बन्द रहेका छन् ।
जिल्लाका ८ पालिका मध्ये केही पालिकाहरूले प्रशासनिक सेवापनि सुरु गरेका छन् । जिल्लामा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जिल्लाका प्रमुख चोक, बजार क्षेत्र र संवेदनशील स्थानहरूमा २४ घण्टा सुरक्षा पहरा दिइरहेका छन् । विशेष गरी भीडभाड हुने स्थानमा सुरक्षा बलको उपस्थिति बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति, सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ । कुनै पनि प्रकारका हुलदंगा र अवाञ्छित गतिविधिमा सहभागी नहुन र अफवाहमा नपरी आधिकारिक सूचना र जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ । प्रशासनले शान्ति र सुरक्षामा बाधा पु¥याउने व्यक्तिहरूमाथि कानूनी कारबाही हुने चेतावनी समेत दिएको छ ।
Facebook Comments